यसरी सकिनु नै थियो भने हिजो त्यत्रो नाटक केको लागि थियो ?
सारांश
- पूर्व जनमुक्ति सेनाकी मीना कुमारी शाहीले माओवादी नेताहरूको स्वार्थले आन्दोलनको आदर्श समाप्त पारेको गुनासो गरिन्।
- उनले जनयुद्धमा गरेको त्याग र बलिदानको औचित्यमाथि प्रश्न उठाउँदै निराशा व्यक्त गरिन्।
- शाहीले माओवादी नेताहरूलाई प्रश्न गर्दै गरिब जनताका छोराछोरीलाई किन मारियो भनी प्रश्न गरिन्।
सुर्खेत । पूर्व जनमुक्ति सेनाकी घाइते लडाकु मीना कुमारी शाही ‘शुभेच्छा)’ले माओवादी आन्दोलनका नेताहरूले व्यक्तिगत स्वार्थका लागि आन्दोलनका आदर्श र पहिचानलाई समाप्त पारेको भन्दै निराशा व्यक्त गरेकी छिन् । उनले जनयुद्धमा गरिएका त्याग, तपस्या र बलिदानको औचित्यमाथि गम्भीर प्रश्न उठाएकी हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा माओवादी नेताहरूलाई लामो पत्र लेख्दै शाहीले आफू १३ वर्षको कलिलो उमेरमा आमाबुवा छोडेर, उज्ज्वल भविष्यलाई धरापमा पार्दै, किताब–कापीहरू थन्क्याएर ‘मुक्ति वा मृत्यु’को कसम खाँदै जनयुद्धमा होमिएको स्मरण गरेकी छिन् ।
‘बाल्यकाल र जवानी युद्धमै बित्यो, शरीरभरि टुइन्च मोर्टारका विषाक्त छर्राहरू बोकेर, चहर्याइरहने घाउ नै घाउ भएको शरीरमा बाँचिरहेको छु,’ उनले भनेकी छिन्, ‘अङ्गभङ्ग भएको आफ्नो शरीरलाई जनयुद्धको उपहारका रूपमा सम्हालेर राखेको छु ।’
पार्टीमा त्याग, तपस्या र बलिदान गरियो, आज त्यही पार्टीको नाम–निशान नै नरहेको उनले चिन्ता व्यक्त गरेकी छिन् ।
‘कता–कता यस्तो लाग्दैछ, आफ्नो भविष्य बिगारेर जनयुद्धमा बेकारमा लागिएछ जस्तो आजको यो दिनमा आउँदा अनुभूति हुन्छ,’ उनले भनेकी छिन् ।
अहिले देशमा देखिएको राजनीतिक चहलपहलले आफूलाई मात्र नभई हजारौँ घाइते, अपाङ्ग, शहीद परिवार, बेपत्ता परिवार र युद्धकालमा त्याग र बलिदान दिने महान् जनता तथा शुभचिन्तकहरूलाई पनि निराशाको कालो बादलले ढाकेको छ र सन्नाटा छाएको उल्लेख गरेकी छन् ।
माओवादी नाम सुन्दा आनन्द लाग्ने गरेकोमा नेता भनाउँदाहरूले आ–आफ्नो स्वार्थका लागि माओवादी नाम नै नरहने गरी सकाएको उनको आरोप छ ।
साथै उनले यसरी सकिनु नै थियो भने हिजो त्यत्रो नाटक केको लागि गरेको भन्दै माओवादी नेताहरूमाथि प्रश्न उठाएकी छिन् m।
‘गरिब जनताका छोराछोरीहरूलाई मर्न र मार्न किन बाध्य पारियो,’ उनको प्रश्न छ, ‘तिमीहरूको पनि हिसाब–किताब गर्नेछ गौरवशाली इतिहासले, पोल्नेछ हजारौँ शहीदहरूको रगतले, सराप लाग्नेछ शहीद परिवार र बेपत्ता परिवारको, अनि खिया लाग्नेछन् तिम्रा विचारहरू, अनि तिम्रा रेलगाडीहरू नमज्जाले बजारिनेछन् ।’
माओवादीको नाम नै सकाएपछि उनले प्रचण्ड लगायतका सबै नेताहरूलाई भूतपूर्व माओवादी भनेर सम्बोधन गरेकी छिन् ।
- यस्तो छ उनको पत्र
भूतपूर्व माओवादी नेतागणहरू
लालसलाम ।
कुन शब्दबाट सुरु गरूँ र कहाँ पुगेर अन्त्य गरूँ, कुनै मेसो पाउन सकेकी छैन, रनभुल्ल परेकी छु, यस्तो चक्रव्यूहमा फसेकी छु कि के लेख्ने के नलेख्ने। लामो समयपछि अतीततिर फर्किन मन लाग्यो।
युद्धकालमा जीवन–मरणको महान् अभियानको बिचमा मैले जति बुझेँ र जानेकी थिएँ, त्यति नै युद्ध–संस्मरणको रूपमा जस्ताको त्यस्तै डायरीमा उतारेकी थिएँ। आज आफैँले लेखेका तिनै युद्ध–संस्मरणहरूले मलाई नै प्रश्न गरिरहेका छन्। जिन्दगीको चक्र नै यस्तै रहेछ, जहाँ आशा, निराशा, सम्भावना, छटपटी, आवेग र संवेग सबै कुरा एकसाथ। समयले एकपछि अर्को पाठ सिकाउँदै जाने रहेछ मान्छेको जीवनलाई।
मलाई पनि आज आएर आफ्नै जीवनयात्राको विगततिर फर्किन बाध्य बनायो। जो अहिले देशमा राजनीतिक चहलपहलले तहल्का मच्चाएको छ, यसले गर्दा मलाई मात्रै नभई हजारौँ घाइते अपाङ्गहरू, शहीद परिवारहरू, बेपत्ता परिवारहरू र युद्धकालमा त्याग, तपस्या, र बलिदान दिने महान् जनता, शुभचिन्तकहरूलाई निराशाको कालो बादलले ढाकेको छ, सन्नाटा छाएको छ। तेह्र वर्षकै कलकलाउँदो उमेरमा जन्म दिने आमा–बुवालाई छोडेर, उज्ज्वल भविष्यलाई धरापमा पार्दै किताब–कापीहरू थन्क्याएर, मुक्ति वा मृत्युको कसम खाँदै बाल्यकालमा नै जनयुद्धमा हाम फालियो। कति दुःख भोगियो! आज त्यो क्षण सम्झिँदा आफैँ झसङ्ग हुन्छु, ती दुःखमा मैले खेलेँ अनि सङ्घर्षको जीवनमा जितेँ जस्तो लाग्छ।
जनयुद्धमा नै बाल्यकाल र जवानी पनि बित्यो। यही पार्टीमा हाम्रो बाल्यकालदेखि नै पसिना र रगत बग्यो, भौतिक शरीर अङ्गभङ्ग बन्यो, जो अहिले पनि भोगिरहेकी छु। शरीरभरि टुइन्च मोर्टारका विषाक्त छर्राहरू बोकिरहेकी छु, चहर्याइरहने घाउ नै घाउ भएको शरीरमा बाँचिरहेकी छु र घाइते शरीर जनयुद्धको उपहार सम्झेर सम्हालेर राखेकी छु।
साँच्चै नै आज मुटुमा राँको बलिरहेको छ, जुन पार्टीमा त्याग, तपस्या र बलिदान गरियो, आज त्यही पार्टीको नाम–निशान नै नरहँदा कता–कता यस्तो लाग्दैछ, आफ्नो भविष्य बिगारेर जनयुद्धमा बेकारमा लागिएछ जस्तो आजको यो दिनमा आउँदा अनुभूति हुन्छ, आफ्नै शरीरबाट बगेको रगतले आज आफैँलाई धिक्कारे जस्तो लाग्दैछ, आखिर के पायौँ त म जस्ता इमानदार र सोझा हजारौँ घाइते अपाङ्गहरूले? लिनेले त बेला–बेला र मौका–मौकामा लाभ लिएकै छन्, ताक परे तिवारी नत्र गोतामे भनेझैँ, तर जहिले पनि हामी सोझा र इमानदार कार्यकर्ताहरू ओझेलमा परिरह्यौँ, मारमा परिरह्यौँ! यसो भन्दै गर्दा सेना समायोजनको प्रक्रियापछि म स्वैच्छिक अवकाश लिएर बाहिर निस्किएपछि म कुनै पनि सङ्गठनमा बसिनँ! त्यही पनि गर्व लाग्थ्यो, आफैँले लडेका वीरतापूर्वक इतिहास सम्झेर, तर अब त त्यही गर्व गर्ने बाटो पनि रहेन।
माओवादी नाम सुन्दा पनि आनन्द लाग्थ्यो, तर अब माओवादी नाम नै नरहने गरी आ–आफ्नो स्वार्थका लागि नेता भनाउँदाहरूले सकाए। हुन त नेताहरूलाई के छुन्छ होला र? प्रत्यक्ष फिल्डमा लड्ने, मर्ने, र दुःख गर्ने त हामी जस्ता सोझा इमानदार योद्धाहरू थियौँ। रगतका आहालमा डुबेर कयौँ साथीहरू र आफन्तहरू आफ्नै आँखाअगाडि युद्ध–मोर्चामा गुमायौँ, त्यो पीडा हामीलाई छ, हाम्रो मन दुखिरहेको छ, हाम्रो छाती चर्किएको छ, मुटु पोलिरहेको छ।
यसरी सकिनु नै थियो भने हिजो त्यत्रो नाटक केको लागि थियो?? गरिब जनताका छोराछोरीहरूलाई मर्न र मार्न किन बाध्य पारियो?? तर तिमीहरूको पनि हिसाब–किताब गर्नेछ गौरवशाली इतिहासले, पोल्नेछ हजारौँ शहीदहरूको रगतले, सराप लाग्नेछ शहीद परिवार र बेपत्ता परिवारको, अनि खिया लाग्नेछन् तिम्रा विचारहरू, अनि नमज्जाले बजारिनेछन् तिम्रा रेलगाडीहरू !!
उही शुभचिन्तक घाइते योद्धा
मीना कुमारी शाही (क. शुभेच्छा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण