एन्फाविरुद्ध खेलाडी आक्रामक, लिग नभए थप आन्दोलनमा उत्रने चेतावनी
सारांश
- नेपाल फुटबल खेलाडी संघ (एनएफपीए) ले एन्फाले 'ए' डिभिजन लिग फुटबल आयोजना नगरेको विरोधमा आन्दोलन गर्ने घोषणा गरेको छ।
- संघले खेलाडीका मागलाई बेवास्ता गरेको भन्दै आगामी दिनमा ठूलो जनसहभागितासहित विरोध गर्ने चेतावनी दिएको छ।
- अध्यक्ष लामाले एन्फाले माग पूरा नगरे अझ कडा रूपमा प्रस्तुत हुने र समर्थकलाई साथमा लिएर आन्दोलन गर्ने बताए।
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन वर्ष देखिदेखि ‘ए’ डिभिजन लिग फुटबल आयोजना नगरेको विरोधमा नेपाल फुटबल खेलाडी संघ (एनएफपीए) ले आफ्नो आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेको छ ।
बिहीबार काठमाडौँमा मेडलसहित प्रदर्शन गर्दै संघले एन्फाले खेलाडीका मागहरूलाई बेवास्ता गरेको भन्दै आगामी दिनमा अझ बृहत् जनसहभागितासहित विरोध कार्यक्रम गर्ने चेतावनी दिएको हो ।
नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले एन्फाले एक हप्ताभित्र खेलाडीहरूका मागलाई सम्बोधन नगरेमा हालको विरोध प्रदर्शन प्रारम्भिक चरण मात्र रहेको र यसपछि अझ कठोर कदम चालिने प्रस्ट पारेका छन् ।
‘हाम्रो माग जबसम्म सुनुवाइ हुँदैन, तबसम्म हाम्रो यो लड्ने काम सधैँ भइरहन्छ,’ लामाले भने, ‘अब आउने दिनहरूमा हामी यो भन्दा अझ उग्र, अझ कठोर रूपमा, अझ ठुलो जनसहभागितासहित बस्नेछौँ, यसमा कुनै दुई मत छैन ।’
‘लामो समयको बेवास्ताले धैर्यको बाँध टुट्यो’
लामाका अनुसार खेलाडी संघले एन्फाको वर्तमान नेतृत्व आएसँगै झन्डै दुई–अढाई महिनादेखि विभिन्न माध्यमबाट आफ्ना कुरा राख्दै आएको थियो । सुरुमा उनीहरूले ज्ञापनपत्र बुझाउने लगायतका भद्र र मर्यादित तरिकाहरू अपनाएका थिए । तर एन्फा नेतृत्वले ती प्रयासहरूलाई ‘कमजोरी’का रूपमा लिएको र बेवास्ता गरेको आरोप लामाको छ ।
‘हामीले सामान्य रूपमा मात्र यो कुराहरूलाई आवाज उठाउँदाखेरि उहाँहरूले यसलाई कमजोरी भन्नुभयो अथवा इग्नोर गर्नुभयो,’ लामाले आक्रोश व्यक्त गर्दै भने, ‘यही कारणले गर्दा आज मूर्त रूपले यसरी सडकमा उत्रिनुपर्ने अवस्था आयो ।’
अध्यक्ष लामाले एकपटक सडकमा उत्रिएपछि पछाडि हट्ने कुनै सम्भावना नरहेको बताउँदै अब एन्फाले माग पूरा नगरेसम्म अझ कडा रूपमा प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गरे । ‘यो उत्रिसकेपछि हामी पछाडि फर्किने कुरा रहन्न,’ उनले भने, ‘कुनै पनि हालतमा अब यो भन्दा कठोर रूपमा चाहिँ हामी प्रस्तुत हुनेछौँ ।’

एन्फा नेतृत्व जानकार हुँदाहुँदै मौन
खेलाडी संघले एन्फाका महासचिव र अध्यक्षलगायत शीर्ष पदाधिकारीहरूलाई आन्दोलनबारे पूर्वजानकारी रहेको दाबी गरेको छ । खेलाडी संघले ललितपुर महानगरपालिका लगायत सरोकारवाला निकायहरूबाट प्रदर्शनको अनुमति लिने प्रक्रिया अघि बढाउँदै गर्दा एन्फाले यसको जानकारी पाइसकेको लामाले खुलाए ।
‘महासचिव र अध्यक्षहरूलाई यो कुरा थाहा थियो तपाईंहरू आउँदै हुनुहुन्छ भन्ने छलफल गर्दै हुनुहुन्छ भनेर हामीले आह्वान गरेका थियौँ,’ उनले भने, ‘हामीले सीडीओहरूबाट पनि जुन परमिसन लिने क्रममा डेफिनेट्ली त्यहाँबाट खबर जान्छ नै । यस्तो सम्पूर्ण कुराले उहाँहरूलाई थाहा हुँदाहुँदै नै उहाँहरू थाहा भएर पनि यहाँ आउनुभएको हो भन्नेचाहिँ हामीलाई थाहा छ ।’ लामाले एन्फा नेतृत्व सबै कुरा थाहा पाएर पनि उदासीन बसेको उनको आरोप छ ।
मेडलको प्रतीकात्मक प्रदर्शन
प्रदर्शनका क्रममा खेलाडीहरूले आफूले जितेका विभिन्न खेलका दर्जनौँ मेडलहरू एन्फाको गेटमै राखेर विरोध जनाएका थिए । यी मेडलहरू कुनै खेलाडीको नाम वा प्रतियोगिताको आधारमा नछुट्याइएको, बरु समग्र खेलाडीको परिश्रम र राष्ट्रका लागि गरेको योगदानको प्रतीकको रूपमा प्रस्तुत गरिएको लामाले बताए ।
‘यी मेडलहरू त हामीले धेरै नै जित्यौँ, हाम्रो खेल जीवनमा खेल्दै गर्दाखेरी,’ उनले भने, ‘तर त्यो जित्नको लागि कति मिहिनेत गर्नुपर्छ, कति संघर्ष गर्नुपर्छ, कति रगत पसिना बगाउनुपर्छ भन्ने कुराको हेक्का र त्यो महसुस बोझ उहाँहरूले गरोस् भनेर हामीले ल्याइदिएको हो ।’
खेलाडी संघको यो कदमको उद्देश्य एन्फाका पदाधिकारीहरूलाई नेपाली फुटबल र खेलाडीहरूको पसिना र समर्पणको मूल्य बुझाउनु रहेको लामाले स्पष्ट पारे । यदि एन्फा नेतृत्वमा अलिकति पनि नैतिकता र इथिक्स छ भने यसको मर्म बुझ्नुपर्ने उनको भनाइ थियो ।
‘उहाँहरूमा त्यो किसिमको नैतिकता, इथिक्स छ, त्यो महसुस छ, आफ्नो आफन्तले खेलेका देखेको छ भने सायद त्यो महसुस गरेर भए पनि अब नेपालमा चाहिँ सधैँ ए डिभिजन, बी, सीलगायत टप टायरका फुटबलहरू महिला, पुरुषका खेलहरूचाहिँ निरन्तर हुन्छ भन्ने हामी विश्वास गर्छौं ।’

'अभिभावकको भूमिकामा एन्फा, जिम्मेवारीबाट पन्छिन मिल्दैन'
लामाले एन्फा नेपाली फुटबलको अभिभावक भएकाले उसले आफ्नो जिम्मेवारीबाट पन्छिन नमिल्ने तर्क गरे । एन्फाले आफ्नो कमजोरी छोप्न कहिले क्लबलाई, कहिले कसलाई आरोप लगाएको भन्दै उनले अभिभावकले परिवारको जिम्मेवारी आफैँले लिनुपर्ने बताए ।
‘त्यो अभिभावक भइसकेपछि आफ्नो परिवारको जिम्मेवारी त आफैँले लिनुपर्ने होला नि त,’ उनले प्रश्न गरे, ‘कसरी सहजीकरण गर्ने ? कसरी राम्ररी काम गर्ने ? कसरीचाहिँ इन्भाइरोन्मेन्ट हेल्दी बनाइदिने भन्ने ? त्यो किसिमको नहुँदा आजचाहिँ एकले अर्कालाई आरोप लगाउनुभन्दा पनि जिम्मेवार पक्षले जिम्मेवार लिनुपर्छ भन्ने हाम्रो माग छ ।’
उनका अनुसार एन्फाले फुटबलको समग्र विकासका लागि सहजीकरण गर्ने, राम्रो वातावरण बनाइदिने र स्वस्थ फुटबल इकोसिस्टम निर्माण गर्ने दिशामा काम गर्नुपर्छ । यस्तो नभई एकले अर्कालाई दोषारोपण गरेर समस्याको समाधान नहुने उनले बताए ।
समर्थकहरूको साथमा बृहत् आन्दोलनको तयारी
बिहीबारको प्रदर्शनमा खेलाडीहरू मात्रै सहभागी भए पनि अबका दिनमा समर्थकहरूलाई समेत साथमा लिएर आन्दोलनलाई थप बृहत् बनाउने तयारी खेलाडी संघको छ । लामाले खेलाडी र समर्थकबिचको सहकार्य अविछिन्न रहेको बताउँदै समर्थकहरूको सहयोगबिना अगाडि बढ्न नसकिने स्वीकार गरे ।
‘आज हामीले खेलाडीबाहेक कसैलाई आउन पनि दिएनौँ, बढ्न पनि दिएनौँ,’ उनले भने, ‘अब उपरान्त नेपाली फुटबल समर्थकहरूमा जुन किसिमको सोच, आवेग, जुन किसिमको नैराश्यता होला, ती कुराहरूलाई पाल्नका निम्ति उहाँहरू आउँदै गर्दा उहाँहरूको सहकार्यबिना हामी पनि अघि बढ्न सक्दैनौँ ।’

उनले मैदानभित्र र बाहिर दुवै ठाउँमा समर्थकले खेलाडीलाई दिने हौसला र साथ अपरिहार्य रहेको उल्लेख गर्दै अब समर्थकहरूको भावनालाई समेटेर अगाडि बढ्ने बताए ।
‘उहाँहरूले मैदानभित्र खेल्दै गर्दा जुन किसिमको सहकार्य गर्नुहुन्छ, हामीलाई हौसला दिनुहुन्छ, आज मैदान बाहिर पनि दिँदै हुनुहुन्छ,’ लामाले भने, ‘त्यसैले यसको पूर्ण सम्पूर्ण जिम्मेवारीहरू चाहिँ अब अखिलले पनि लिनुपर्छ ।’
‘ए’ डिभिजन लिग आयोजना नहुँदा खेलाडीहरूको भविष्य अन्योलमा परेको र नेपाली फुटबलको विकासमा गम्भीर असर परेको भन्दै खेलाडी संघले एन्फालाई यस विषयमा तत्काल गम्भीर हुन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण