‘जेनजी आन्दोलनले कांग्रेसलाई आत्ममूल्यांकन र सुधारको अवसर दियो’
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले जेनजी आन्दोलनपछि पार्टीले गम्भीर आत्मसमीक्षा गर्दै सुधार, पुनर्गठन र युवामुखी नेतृत्वतर्फ अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार बोल्ने नेताहरूले त्यस्तो बताएका हुन् ।
उनीहरूले जेनजी आन्दोलनका माग जायज भएकाले पूरा गर्न पार्टीले अग्रसरता लिनुपर्ने पनि बताएका छन् । बैठकमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भदौ २३-२४ को जेनजी आन्दोलन न्यायोचित मागहरूको प्रतीक भएको बताउँदै युवाहरूले उठाएका सुशासन र पारदर्शिताका मुद्दामा कांग्रेसले स्पष्ट नीति लिनुपर्ने बताए ।
‘देश अहिले सत्ता, स्वार्थ र दलतन्त्रको दलदलमा फसेको छ । लोकतन्त्र दलतन्त्रमा, दलतन्त्र नेतातन्त्रमा, नेतातन्त्र गिरोहतन्त्र र अन्ततः विचौलियातन्त्रमा परिणत भएको छ । यसको अन्त्य कांग्रेसकै नेतृत्वमा हुनुपर्छ,’ केसीले भने । उनले विगतका ठुला भ्रष्टाचार प्रकरणहरूमा कारबाही गर्न पूर्वप्रधानन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने बताए ।
अवैध सम्पत्ति राष्ट्रियकरण र पाँच सय तथा हजारका नोटहरू बन्देज गर्नुपर्ने सुझाव केसीको छ । अर्का केन्द्रीय सदस्य एनपी साउदले कांग्रेसलाई जेनजी आन्दोलनले युवासँग संवाद गर्ने नयाँ ढोका खोलेको बताए । आन्दोलनले कांग्रेसलाई आत्ममूल्यांकन र पुनर्गठनको अवसर दिएको बताए ।
‘जेनजी आन्दोलनले विध्वंस मात्र होइन, कांग्रेसलाई युवासम्म पुग्ने र उनीहरूको मुद्दा सम्बोधन गर्ने नयाँ अवसर पनि दिएको छ,’ साउदले भने ।
साउदले हाल पार्टी र देश दुवै गम्भीर संकटमा रहेको भन्दै युवा केन्द्रित पुनरुत्थानमा कांग्रेसले जोड दिनुपर्ने बताए । उनले पार्टी विधानअनुसार सभापति दुई कार्यकालभन्दा बढी हुन नपाउने व्यवस्था कार्यान्वयन गर्न र चार वर्षभित्र महाधिवेशन गर्ने संवैधानिक दायित्व पालना गर्न माग गरे ।
त्यस्तै, हस्ताक्षर गरेका असन्तुष्ट युवा नेताहरूसँग वार्ता र छलफल ढिलो नगर्नु र महाधिवेशन तथा निर्वाचन दुवैका लागि पार्टी संरचना चलायमान बनाउनुपर्नेमा जोड दिए ।
केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीभित्र लामो समयदेखि एउटै नेताहरूले अवसर कब्जा गर्ने प्रवृत्तिको अन्त्य गर्न ‘कुलिङ पिरियड’ लागु गर्नुपर्ने बताए ।
महरले भने, ‘तीन पटक सांसद, दुई पटक मन्त्री, ७० वर्ष पुगेका वा सार्वजनिक जीवनमा प्रश्न उठेका नेताहरूले केही समयका लागि कार्यकारी भूमिकाबाट अलग भएर गाइडको भूमिका खेल्नुपर्छ ।’
उनले यस अवधारणाले पार्टीभित्र अवसरको एकाधिकार तोड्ने, नयाँ विचार र ऊर्जालाई स्थान दिने र शक्ति सन्तुलनमा सुधार ल्याउन बताए ।
केसी, साउद र महरले कांग्रेसले अब भ्रष्टाचार, कुशासन र गुटबन्दी अन्त्य गर्दै युवासँग प्रत्यक्ष संवाद, संरचनागत सुधार र नीतिगत स्पष्टतातर्फ अघि बढ्नुपर्ने बताएका छन् । पार्टीभित्र चलिरहेको महाधिवेशन, नेतृत्व परिवर्तन र संगठन सुधार बहसको केन्द्रीय विषय बनाएर धारणा राखेका थिए ।
बैठकमा ती बाहेक आनन्दप्रसाद ढुंगाना, अजयकुमार चौरसिया, मिनाक्षी झा, अमृत अर्याल, गेहेन्द्र गिरी, प्रदीपकुमार सुनुवार, विनोदकुमार चौधरी, मोहन आचार्य, मञ्जुकुमारी यादव, सरस्वती अर्याल तिवारी, नागिना यादव, उर्मिला नेपाल केसी, रुपा विक, धना खतिवडा, कल्याणी रिजाल, अनिलकुमार रुँगटा र आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्काले आ–आफ्नो धारणा राखेका थिए ।
बैठक शुक्रबार बिहान साढे ११ बजे पुन: बस्नेछ । बैठकमा नेताहरूले मंगलबारको बैठकमा महामन्त्री गगन थापाले पेस गरेको आगामी पुस १६ देखि १९ गतेसम्म नियमित महाधिवेशन गर्नुपर्ने र सहमहामन्त्री महेन्द्र यादवले पेस गरेको आगामी वैशाख २७ देखि ३० गतेसम्म नियमित महाधिवेशन गर्ने भन्ने विषयमा आधारित भएर धारणा राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण