‘मौरिस हर्जोग’ पदमार्ग पुनः सञ्चालन
म्याग्दी । अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग पुनः सञ्चालन भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ ।
यही कात्तिक १० देखि १५ गतेसम्म परेको झरी र हिमपातका कारण स्थानीय प्रशासन र अन्नपूर्ण गाउँपालिकाले उक्त पदमार्ग भ्रमणमा रोक लगाएका थिए ।
मौसममा सुधार भएपछि पदमार्ग पुनः सञ्चालन भएको अन्नपूर्ण गाउँपालिका–४ का वडा सदस्य श्याम पुर्जाले जानकारी दिए । “चिसो बढे पनि पर्यटक आगमन रोकिएको छैन”, उनले भने, “पदमार्ग भ्रमण खुला भएपछि पर्यटकको चहलपहल बढेको छ ।”
छोटो अवधिमा पहाडी र हिमाली क्षेत्रको एकै पटक साहसिक यात्रामा रुचि राख्नेहरूका लागि अन्नपूर्ण हिमालको आधार शिविर नयाँ गन्तव्यका रूपमा विकास भएको छ ।
फुतफुते झरना र अन्नपूर्ण हिमालको फेदीमा रहेको नीलो रङको पञ्चकुण्ड ताल हुँदै चार हजार १९० मिटर उचाइमा अवस्थित अन्नपूर्ण आधार शिविर पुगिन्छ ।
तीन दिनमा निलगिरि र अन्नपूर्ण हिमालको फेदमा समथर फाँटमा रहेको आधार शिविर पुगेर फर्कन सकिन्छ ।नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूतस्तरको २२ किलोमिटर पदमार्ग तयार भएको छ ।
अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ ।
नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो ।
सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले २०७७ सालमा नक्साङ्कन र ‘मौरिस हर्जोग’ नामकरण गरेको थियो । गत वसन्त यामदेखि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र गाउँपालिकाबाट अनुमति लिएर नारच्याङका बासिन्दाले हुमखोला, फुतफुते झरना, साघीखर्क, गुफाँफाँट, भुसकेत र पञ्चकुण्डमा अस्थायी संरचना बनाएर ५०–५० जना क्षमताको होटल सुरु गरेका थिए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा स्थायी भौतिक संरचना निर्माणका लागि प्रक्रिया पूरा गरेर सरकारको अनुमति लिनुपर्छ ।भुसकेतका होटल व्यवसायी माइकल पुनले काठ, त्रिपाल, जस्तापाताको टहरा तथा टेन्टमा पर्यटकलाई राख्ने गरिएको बताए ।
“एक्यापले ५० जना पाहुना राख्न सक्ने अस्थायी संरचना बनाउन अनुमति दिएको छ”, उनले भने, “पर्यटकको सहज व्यवस्थापनका लागि बुकिङ गरेर भ्रमणमा आउन अनुरोध छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण