शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

सङ्गठनात्मक चुनौतीबिच रास्वपा प्रतिनिधि भन्छन् : ‘जेनजीको साथ छ, व्यक्ति बाहिरिँदैमा फरक पर्दैन’

शुक्रबार, २१ कात्तिक २०८२, १९ : १३
शुक्रबार, २१ कात्तिक २०८२

सारांश

  • रास्वपाले संगठन विस्तारका चुनौतीलाई स्वाभाविक मानेको छ र जेनजीको साथ रहेको दाबी गरेको छ।
  • पार्टी नेताहरूले सुमना श्रेष्ठको बहिर्गमनलाई सामान्य राजनीतिक प्रक्रियाको रूपमा लिएका छन् र संगठन सुदृढ गर्ने बताएका छन्।
  • रास्वपाका नेताहरूले पार्टी सभापतिलाई राज्यबाट घेराबन्दी भइरहेको आरोप लगाएका छन् र आगामी निर्वाचनलाई लक्ष्यित गर्दै संगठन विस्तार गर्ने बताएका छन्।

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्गठन विस्तारका क्रममा देखिएका चुनौतीहरूलाई स्वाभाविक भएको बताएका छन् । 

रास्वपा केन्द्रीय विस्तारित बैठकमा सहभागी जिल्लाका प्रतिनिधिहरूले युवा पुस्ता (जेनजी) को पूर्ण साथ आफूहरूसँग रहेको दाबी गरे ।

पार्टीका विभिन्न तहका नेताहरूले केही प्रभावशाली व्यक्तिहरू बाहिरिँदैमा पार्टीको लक्ष्य र यात्रामा कुनै असर नपर्ने बताए ।

उनीहरुले यस्ता घटनाहरूलाई सङ्गठनलाई थप परिपक्व बनाउने अवसरको रूपमा लिएको प्रतिक्रिया दिए ।

पार्टी स्थापनाको छोटो अवधिमा हासिल भएका उपलब्धिलाई सकारात्मक रहेकोले उनीहरुले सङ्गठनात्मक विस्तारमा देखिने मतभेद र बहिर्गमनलाई सामान्य मानेका छन् ।

उनीहरुले ‘जेनजी’ आन्दोलनपछि रास्वपालाई हेर्ने दृष्टिकोण बदलिएको भन्ने चर्चालाई खण्डन गरेका छन् । रास्वपाले जेनजी आन्दोलनलाई पुराना दलहरूको शासकीय असफलता, भ्रष्टाचार र सुशासनको अभावको परिणामका रूपमा विश्लेषण गरेका छन् ।

पार्टीले जेनजी आन्दोलनका मुद्दा र आफ्नो एजेन्डामा आधारभूत समानता रहेको उनीहरुले बताए ।उनीहरुले पार्टीकी प्रभावशाली नेतृ तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठको बहिर्गमनबारे नेताहरूले यसलाई स्वाभाविक राजनीतिक प्रक्रियाको रूपमा टिप्पणी गरे ।

जेनजीको साथ हामीलाई छ : ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनकी जिल्ला उपसभापति प्रभा ढकालले पार्टीको सङ्गठन विस्तारमा देखिएका चुनौतीहरूलाई सामान्य र स्वाभाविक प्रक्रियाको रूपमा लिनुपर्ने बताइन् । 

उनले पार्टीभित्र देखिएका केही मतभेद र बहिर्गमनका घटनाले रास्वपालाई कमजोर नबनाउने दाबी गरिन् । 

prabha dhakal

उनले पार्टीको मुख्य ध्यान वडा र टोल तहसम्म सङ्गठनलाई सुदृढ गर्ने रहेको बताइन् । युवा पुस्ताको पूर्ण साथ पार्टीलाई रहेको उनले बताइन् ।

उनले सुमना श्रेष्ठ पार्टीबाट अलग भएको विषय राजनीतिको एक स्वाभाविक प्रक्रियाको रूपमा टिप्पणी गरिन् । श्रेष्ठले पार्टीभित्रै रहेर सङ्घर्ष गरेको भए राम्रो हुने उनको धारणा थियो ।

‘हाम्रो पार्टी एउटा बहुलवादी र लोकतान्त्रिक मञ्च हो । जहाँ विभिन्न विचारहरू माझिँदै गर्दा कहिलेकाहीँ कठिनाइ देखिनु स्वाभाविक हो । हामी यसलाई चुनौतीभन्दा पनि सङ्गठनलाई थप परिपक्व बनाउने अवसरको रूपमा लिन्छौँ,’ उनले भनिन्, ‘जेनजीले कहिल्यै हाम्रो पार्टीलाई नराम्रो भनेको छैनन् । यो हल्ला पुराना दलमा आबद्ध र हाम्रो प्रगतिबाट अत्तालिएका व्यक्तिहरूले चलाएका हुन् । राजनीति र समाजसेवामा धैर्य चाहिन्छ । नेतृत्वले समस्या देखेर भाग्ने होइन, पार्टीभित्रै बसेर गलत कुराहरुविरुद्ध लड्नुपर्छ र सुधारका लागि अगाडि बढ्नुपर्छ ।’

रास्वपालाई राज्यले घेराबन्दी गर्‍यो : दाहाल

रास्वपा मकवानपुरका नेता विष्णु दाहालले आफ्नो पार्टी र विशेष गरी सभापतिलाई राज्य पक्षबाट चौतर्फी घेराबन्दी भइरहेको आरोप लगाए । नेता दाहालले जनताको भरोसाको पार्टी बनिरहेको रास्वपालाई कमजोर पार्न विभिन्न प्रयास भइरहेको बताए ।

उनले रास्वपालाई ७७ वटै जिल्लाका सबै वडाहरूमा पुर्‍याउने लक्ष्य रहेको र त्यसका लागि पार्टीको विस्तारित बैठकले ठोस निर्देशन दिने बताए ।

bishnu

आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी सङ्गठनलाई चुस्त–दुरुस्त बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।पार्टीबाट बाहिरिएकी नेतृ सुमना श्रेष्ठको प्रसङ्गमा दाहालले व्यक्ति विशेषको बहिर्गमनले पार्टीलाई खासै प्रभाव नपार्ने बताए ।

‘जेनजी’ आन्दोलनले उठाएका एजेन्डाहरू रास्वपाले पहिलेदेखि नै उठाउँदै आएको उनले दाबी गरे ।

‘पार्टी सभापतिलाई राज्य पक्षबाट चौतर्फी घेराबन्दी भइरहेको अवस्था छ ।  यो पहिला पनि थियो र अहिले पनि जारी छ । तर हामी सङ्गठन विस्तारमा दृढ छौँ,’ उनले भने, ‘सुमनाजीले पार्टीमा रहँदा राम्रो काम गर्नुभएको हो । तर कुनै व्यक्तिगत धारणाका कारण विखण्डित हुनु साँच्चिकै नराम्रो हो । कुनै एक व्यक्तिका कारणले पार्टीलाई धेरै ठुलो असर पर्ला जस्तो मलाई लाग्दैन । किनकि रास्वपा वर्षौँदेखिको भ्रष्टाचार र कुशासनविरुद्ध जनताको निराशाबाट उठेको हो ।’

विपक्षीले नगरेको कामको पनि दोष लगाए : शाह

रास्वपाका जनकपुरधाम वडा नम्बर १५ का उपसभापति सरोज कुमार शाहले पार्टी विस्तारको क्रममा विभिन्न चुनौतीहरूको सामना गर्नु परिरहेको बताए । 

उनले विपक्षी दलहरूले रास्वपा र यसका सभापतिमाथि नभएका र नगरेका कुराहरूको पनि दोषारोपण गरिरहेको आरोप लगाए ।उनले पुराना दलहरूको राजनीतिक शैलीलाई अहिलेको युवा पुस्ता र ‘जेनजी’ले नरुचाएको पनि दाबी गरे । 

saroj

उनले रास्वपाका सभापति रवि लामिछानेले राजनीतिमा आउनुअघि टेलिभिजन कार्यक्रम सञ्चालन गर्दादेखि नै भ्रष्टाचार नियन्त्रण र युवा रोजगारको मुद्दालाई प्राथमिकतामा राखेको स्मरण गरे ।

देशमा हजारौँ युवाहरू रोजगारीको अभावमा दैनिक बिदेसिन बाध्य भएको यथार्थप्रति पार्टी गम्भीर रहेको उनको भनाइ थियो ।

जेनजी आन्दोलनपछि रास्वपालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको शाहले बताए । आन्दोलनका क्रममा पार्टी र सभापतिमाथि विभिन्न आरोपहरू लगाइए पनि अहिले यथार्थ खुल्ने क्रममा रहेको उनले बताए ।

नेतृ सुमना श्रेष्ठको विषयलाई उनले व्यक्तिगत इच्छा र आकाङ्क्षाको विषय भएको टिप्पणी गरे । मानिसहरू आफ्नो इच्छाअनुसार पार्टीमा आउने–जाने प्रक्रिया स्वाभाविक रहेको उनको भनाई छ ।  

‘हिजो जेनजी आन्दोलनमा हाम्रो सभापति ज्यूलाई विभिन्न किसिमको आरोप पनि आए । तर कुरा त्यो होइन रहेछ भन्ने हिजो प्रष्ट भइसकेको छ । अहिले देशभरिका युवाहरू र जनताले कुरा बुझिसक्नुभएको छ,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप