आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

निष्ठुर दोबाटो

शनिबार, २२ कात्तिक २०८२, १३ : ५७
शनिबार, २२ कात्तिक २०८२

सारांश

  • कविले जवानीका जोश र जिम्मेवारीको द्वन्द्वमा मुग्लान भासिनुको पीडा व्यक्त गरेका छन्।
  • खुसी खोज्दा नभेटेको र अतीतलाई पछ्याउँदै गरेको अवस्थालाई कवितामा चित्रण गरिएको छ।
  • अन्त्यमा, उनीहरूले छुट्नै पर्ने र बिर्सनै पर्ने नियतिको चित्रण गरेका छन्।
00:00 / NaN:NaN
Audio By AI

नाघेर आशाका उत्कर्षहरू 
लुटाएर जवानीका जुनुन 
हिउँ बिना रित्तिएको त्यो माछापुच्छ्रे 
मटान कुरिरहेका वृद्ध बा–आमा छाडेर
जीवन र जिम्मेवारीको अन्तर्द्वन्द्वमा 
मुग्लान भासिन
विवश म
यस्तै उस्तै दुःखी छु 
यतिबेला

नभएपनि जिजीविषा 
धानिदिनै पर्ने यो जिन्दगीको दोसाँधमा
खै किन अझै जीवित छन् 
केही थान 
दुःस्वप्नहरू 

नदेखेरै
नभेटेरै होला 
खुसीका बिम्बहरू 
दूर क्षितिजसम्म  
आजकल 
खोजिरहेछु म 
धरातल बेखुसीको 
र पनि भौतारिFदै छु 
प्रिय 
यत्र–तत्र 
पछ्याउँदै अतीत 
अझै पनि खोज्दै छु 
तिमीसँगको समिपत्य

काहीँ कतै मेरो मनको कुनामा
जतनले राखेको छु 
तिम्रा आलिङ्गनका यादहरू 
र,
गरेका ती मिठा भूल 
छलेर मर्यादाका
लक्ष्मण रेखाहरू 

खैर, तिमी आकाश 
म धर्ती
सम्भव के होला र 
ध्रव तारा जस्तै 
हामी दुईको मिलन
यो जुनीमा 

बिर्सिदिऊ भन्छु सबै इतिहास 
तर पनि
सजिलै कहाँ मेटिने रहेछन् 

पत्थरमा कुदिएका अक्षर जस्ता 
तिम्रा जिद्दी यादहरू
तर पनि 
सम्झनाले मात्र 
चल्दो रहेनछ
जिन्दगीको रथ 

विवशताको डुङ्गा 
प्रिय 

सोच्दै छु अहिले 
सहयात्री रहेछौ हामी 
कुनै गन्तव्यसम्म मात्रका
निष्ठुर दोबाटोसम्म मात्रका 
नियतिका सखा 
छुट्टिनै पर्ने 
बिर्सनै पर्ने 

दोषी न तिमि 
न म
मात्र प्रारब्ध 
त्यसैले त बलवान 
हुने रहेछ
समय ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरज रेग्मी
सुरज रेग्मी
लेखकबाट थप