चरम निराशाको समयमा नागरिक हुनुको अर्थ
सारांश
- भिक्टर फ्रान्कलको पुस्तकको सन्दर्भ दिँदै, लेखकले नेपालको वर्तमान अवस्थालाई नैतिक र संस्थागत पतनको रूपमा चित्रण गर्दछन्।
- लेखमा जेनजी आन्दोलन, सरकारको तरल अवस्था, नेतृत्वको अभाव, र दलहरूबीचको एकताको कमीलाई राष्ट्रिय सङ्कटका रूपमा औंल्याइएको छ।
- बालेन शाहको कार्यशैली र अभिव्यक्तिले आशा र निराशाको दोसाँधमा उभिएको नेतृत्वको चित्रण गर्दै नागरिकहरूलाई देशमा अर्थ खोज्न प्रश्न गर्दछ।
हामी मानव हौँ । हाम्रो अस्तित्वको सबैभन्दा ठुलो प्रश्न सायद यो हो कि, ‘के यो अपार पीडा र दुःखबिचमा पनि जीवनको कुनै अर्थ रहन्छ ?’ यो प्रश्नले हरेक व्यक्तिलाई सताई रहेको छ । तर सन् १९४६ मा प्रकाशित भिक्टर फ्रान्कलको ‘म्यान्स् सर्च फर मिनिङ’ पुस्तकले हामीलाई यो प्रश्नको उत्तर खोज्न मद्दत गर्छ ।
यो पुस्तक जीवनले अन्तिम सीमामा पुर्याएपछि पनि किन बाँच्ने भन्ने कारण खोज्ने एक इमानदार संवाद हो । नाजीहरूको यातना शिविरबाट बाँचेर आएका फ्रान्कलले यो बुझे कि मान्छेसँग सबै कुरा खोस्न सकिन्छ । तर एउटा चीज कसैले खोस्न सक्दैन, त्यो हो ‘आफ्नो दृष्टिकोण रोज्ने अन्तिम स्वतन्त्रता’ उनका अनुसार जीवनको अर्थ सफलतामा नभएर, हामीले दुःखलाई कसरी हेर्छौँ भन्नेमा हुन्छ । उनले आफ्नै आँखाले के देखे भने, जसले पीडालाई अर्थ दिन सक्यो, ऊ बाँचेर निस्कियो ।
आजको नेपालको अवस्था पनि त्यस्तै कुनै यातना शिविरभन्दा कम छैन । तर यो पीडा हामीलाई बाहिरी शत्रुले थोपरेको होइन । यो हामी आफैँले निर्माण गरेको नैतिक र संस्थागत खरानीको थुप्रो हो । र, हाम्रो राष्ट्रिय निराशा केवल आर्थिक सङ्कट वा राजनीतिक दुर्दशा मात्र होइन ।
यो फ्रान्कलले परिभाषित गरेको ‘अस्तित्वको शून्यता’ जस्तै हो । यो त्यस्तो अवस्था हो, जहाँ मानिसले आफ्नो जीवनमा कुनै अर्थ खोज्न वा सिर्जना गर्न सक्दैन । यसले गर्दा शून्यता, एक्लोपन र लक्ष्यहीनताको भावना जन्मिन्छ । आज नेपाली युवाले देशमा आफ्नो भविष्य देख्दैनन् । इमानदारको कदर हुँदैन र नैतिक मूल्य तथा आदर्शहरूले ठाउँ गुमाइसकेका छन् ।
वर्तमान राष्ट्रिय सङ्कटको स्वरूप मूलतः चार आयाममा फैलिएको छ । यसले देश खरानीझैँ बनेको भयावह दृश्य प्रस्तुत गर्छ ।
जब जीवनमा अर्थ भेटिँदैन, तब मानिसले त्यसलाई सुख वा शक्तिको लालसाले प्रतिस्थापन गर्छ भन्ने फ्रान्कलको सिद्धान्त आज नेपालको राजनीतिक वृत्तमा स्पष्ट देखिन्छ । सत्तामा पुग्नेहरूको अनियन्त्रित भ्रष्टाचार, भाइ–भतिजावाद र शक्तिको अस्वस्थ खेल, राष्ट्रको सेवालाई व्यक्तिगत शक्तिमा रूपान्तरण गर्ने प्रयास मात्र हो । यो ‘अर्थको प्रेरणा’ असफल हुँदाको परिणाम हो ।
यसले आम नागरिकमा निराशाको बीउ छरेको छ । नैतिक अनि अस्तित्वको यो शून्यताले राष्ट्रको सामूहिक उद्देश्यलाई ध्वस्त पार्यो । जब राज्यले आफ्नो नैतिक आधार गुमाउँछ, तब ‘राज्यको नैतिक पतन’ सुरु हुन्छ । त्यो नै आजको सबैभन्दा ठुलो राष्ट्रिय अस्तित्वको खतरा हो ।
वर्तमान राष्ट्रिय सङ्कटको स्वरूप मूलतः चार आयाममा फैलिएको छ । यसले देश खरानीझैँ बनेको भयावह दृश्य प्रस्तुत गर्छ । पहिलो, सङ्कट जेनजी आन्दोलनको उदय र त्यसको परिणाम हो । आन्दोलनको क्षण देश दीर्घकालीन भ्रष्टाचार, ढोङ र निरर्थक राजनीतिक नाटकको दलदलमा फसिसकेको अवस्था थियो । र, त्यो अपरिहार्य थियो ।
आफैँले चुहिने बनाएको एउटै डुङ्गामा बसेर दलहरूले देशलाई डुबाएको दृश्य छर्लङ्ग देखिन्छ । जेनजी आन्दोलनले यही सडेको संरचनामाथि प्रहार गरेको हो । तर आन्दोलन संगठित वा अनुशासित रहेन । यस्तै विविध कारणले गर्दा यो हिंस्रक बन्यो । त्यो स्वार्थ समूहको कब्जामा गयो र देश खरानी बन्यो । त्यसैले आम नेपालीलाई अब यो खरानीबाट कसरी उठ्छ भन्ने प्रश्नले स्तब्ध पारेको छ ।
उनको आगमनले एक समय ‘कर्मबाट अर्थ’ खोज्ने नागरिक आशाको प्रतिनिधित्व गर्यो । बालेन शाहले निःशुल्क उपचार र व्यवस्थित काममार्फत ‘ठोस कर्म’ गर्ने प्रयास गरे ।
दोस्रो सङ्कट अहिलेको सरकार र सिङ्गो मुलुक दुवैको अत्यन्त तरल अवस्था हो । देश लगभग राज्यहीनतातिर धकेलिँदै छ, जसले गर्दा शक्ति केन्द्रहरूका लागि यो अनुकूल समय बनेको छ । तेस्रो सङ्कट जेनजी नामक पुस्ता नेतृत्वविहीन हुनु हो । जेनजी कुनै संगठित समूह नभई भावनाहरूको समुच्च रूप हो । पुस्ताको चेतना हो । त्यसैले यतिबेला उनीहरूलाई इमानदार, दूरदर्शी र निष्पक्ष अभिभावकत्व चाहिएको छ ।
चौथो सङ्कट, राष्ट्रिय एकताको तीव्र माग भइरहेको बेला, सङ्कटमा फसेका दलहरू अझै पनि एकअर्काको अस्तित्व स्वीकार गर्न तयार नहुनु हो । आफ्नै दलभित्र चरम गुटबन्दी र आत्मविनाश चलिरहेको छ । इमानदार नागरिकले कतै पनि प्रकाशको झिल्को देख्न सकेका छैनन् । यस्तो असहज समयमा, हाम्रो सामूहिक मनोदशा र नेतृत्वको गहिरो विरोधाभासलाई काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको उतारचढावपूर्ण यात्राले सशक्त रूपमा प्रतिनिधित्व गर्छ ।
उनको आगमनले एक समय ‘कर्मबाट अर्थ’ खोज्ने नागरिक आशाको प्रतिनिधित्व गर्यो । बालेन शाहले निःशुल्क उपचार र व्यवस्थित काममार्फत ‘ठोस कर्म’ गर्ने प्रयास गरे । तर संस्थागत अवरोध र चरम निराशाका कारण उनको यात्रा विवादास्पद र रहस्यमय बन्दै गएको देखिन्थ्यो । तर, कार्तिक १५ गते उनले सामाजिक सञ्जालमार्फत दिएको अत्यन्तै अशिष्ट र अराजक स्ट्याटसले उनका धेरै समर्थकलाई समेत स्तब्ध बनायो ।
उनको यो कार्य व्यक्तिगत इमानदारी र शक्तिको लालसाबिचको पातलो रेखा मेटाउने सामाग्री बन्यो । उनको यो रहस्यमय व्यक्तित्वले यो सङ्घर्षलाई ‘आशाको प्रतीक’ मात्र नभई ‘अस्पष्ट चरित्र’ को रूपमा उभ्याइदिएको छ । यो घटनाले प्रत्येक नागरिकलाई प्रश्न गर्छ: जब नेतृत्व नै आशा र निराशाको दोसाँधमा उभिन्छ, तब साधारण नागरिकले कसरी देशमा अर्थ खोज्ने ?
फ्रान्कलको दर्शनले भन्छ, उच्चतम पीडामा पनि हामीसँग ‘मनोवृत्ति रोज्ने स्वतन्त्रता’ रहन्छ । यो निराशालाई यसै छोड्ने, स्विकार्ने वा यसैलाई अर्थपूर्ण राष्ट्रिय जागृतिको उत्प्रेरक बनाउने भन्ने निर्णय आज नेपाली नागरिकको हातमा छ । नेपालको यो निराशा वास्तवमा नेपाली नागरिकका लागि ‘इमानदार नेपाली नागरिक हुनुको अर्थ’ खोज्ने एउटा खुला अवसर बनेर आएको छ ।
यो सामूहिक जागरणले हामीलाई फ्रान्कलको महत्त्वपूर्ण शिक्षातर्फ डोर्याउँछ । हामीले जीवनबाट के अपेक्षा गर्ने भन्नेमा होइन । बरु जीवनले हामीबाट के अपेक्षा गर्छ भन्नेमा ध्यान केन्द्रित गर्नुपर्छ । अर्थको खोजी व्यक्तिगत लाभभन्दा माथि उठेर राष्ट्रप्रतिको दायित्व र जिम्मेवारीको बोधमा निहित हुन्छ । यो खोजी नै आत्म–उत्कृष्टता हो ।
देश खरानी बनेको छ । तर खरानी भित्रै नयाँ नेपाली चेतना, इमानदारी, जिम्मेवारी र एकताको बोध फेरी उठ्न सक्छ ।
अहिलेको हाम्रो उत्तम विकल्पमा हामीले अब ‘इमानदार नेपाली नागरिक हुनुको अर्थ’ लाई केवल भौगोलिक पहिचानमा सीमित नगरी साझा नैतिक प्रतिबद्धताको रूपमा परिभाषित गर्नुपर्छ । यो प्रतिबद्धताको मूल आधार ‘सचेत हस्तक्षेप’ हो । सचेत नागरिकले आफ्नो स्थानबाट तीखो आलोचनात्मक चेतले काम गर्छन् । जसले कुनै पनि नेतृत्वको अन्ध समर्थन गर्दैन ।
उनीहरू तर्कशील बन्छन्, ‘के हुनेवाला छ भन्दा पनि के हुन पर्छ ?’ भन्ने कुराको इमानदार प्रक्षेपण गर्छन् । सचेत नागरिकले प्रणालीगत अराजकतामा पनि आफ्नो व्यक्तिगत नैतिक मापदण्ड कायम राख्छन् । उनीहरूको हस्तक्षेप विवेकपूर्ण हुन्छ । तिनले भ्रष्टाचार लगायतका सम्पूर्ण बेथिति, अराजकता आदिलाई त आलोचना गर्छन् नै, सँगसँगै राज्यको संस्थागत जगलाई जोगाउनुलाई आफ्नो प्राथमिक दायित्व मान्छन् । यसका लागि नागरिकले स्थानीय स्तरमा पारदर्शिताको माग गर्दै, सम्पूर्ण राज्य संयन्त्रलाई नैतिक रूपमा जिम्मेवार बनाउन लगातार दबाब सिर्जना गर्नुपर्छ ।
यस्तै खाले आत्म–अनुशासन र हस्तक्षेपले ‘इमानदार नेपाली एकता’ को आधार सिर्जना गर्छ । यो एकता राजनीतिक सम्झौता होइन । बरु राष्ट्रलाई सेवा गर्ने सामूहिक उद्देश्यलाई आत्मसात् गर्ने नैतिक बल हो । इमानदार नागरिकले व्यक्तिगत निराशालाई भावनात्मक श्रम मार्फत व्यवस्थापन गर्छन् र सामूहिक रूपमा निराशा फैलाउनबाट जोगिन्छन् । तिनले व्यक्तिगत रूपमा ‘इमानदारिताको मापदण्ड’ लाई दैनिक व्यवहारमा लागू गर्दै र सामूहिक निराशालाई रचनात्मक, आशावादी पहलहरूमा रूपान्तरण गरेर यो लक्ष्य हासिल गर्छन् ।
देश खरानी बनेको छ । तर खरानी भित्रै नयाँ नेपाली चेतना, इमानदारी, जिम्मेवारी र एकताको बोध फेरी उठ्न सक्छ । हामीले हाम्रो पीडालाई अर्थ दिन सक्यौँ भने बाँच्न र फस्टाउन सक्छौँ । नेपालको पीडाले अब हामीलाई एकता र ठोस कर्मतर्फ डोरिन दिशा निर्देश गरेको छ ।
फ्रान्कलको सन्देश सरल तर गहिरो छ । जीवनले हामीलाई के दियो, त्यो महत्त्वपूर्ण छैन । हामीले जीवनलाई के अर्थ दियौँ, त्यो निर्णायक हो । राष्ट्रिय अर्थ खोज्ने यो यात्रा कहिल्यै अन्त्य नहोला तर यही सङ्घर्षले हाम्रो राष्ट्रिय अस्तित्वको साँचो अर्थ दर्साउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा
-
अमेरिकी प्रतिनिधिसभाद्वारा लेबनान युद्ध अधिकारसम्बन्धी प्रस्ताव अस्वीकृत
-
वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण