‘जेनजी समूहहरू नै आईएनजीओ र एनजीओको ‘फण्डिङ’ले चल्न थाले, एकता असम्भव’
सारांश
- जेनजी आन्दोलनका प्रतिनिधिहरूले राजनीतिक दल, आईएनजीओ र एनजीओबाट फण्डिङबारे आरोप लगाए।
- जेनजी समूहहरूबीचको विभाजन र स्वार्थी प्रवृत्तिका कारण आन्दोलनको औचित्यमाथि प्रश्न उठेको छ।
- आन्दोलनकारीहरूले माग पूरा नभए फेरि आन्दोलन गर्ने चेतावनी दिए, र प्रधानमन्त्रीलाई निवेदन दिँदा बेवास्ता गरिएको गुनासो गरे।
काठमाडौँ । जेनजी आन्दोलनका प्रतिनिधिहरूले राजनीतिक दल, आईएनजीओ र एनजीओबाट फण्डिङ केही जेनजी समूहहरुले आन्दोलनका मूल मुद्दा कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।
आइतबार काठमाडौँमा आयोजित ‘ऐतिहासिक जेनजी आन्दोलन र परिवर्तनको मार्गचित्र’ विषयक गोष्ठीमा बोल्दै उनीहरुले यस्तो आरोप लगाएका हुन् ।
जेनजी समूहहरूको विभाजन र स्वार्थी प्रवृत्तिका कारण जेनजी आन्दोलनको औचित्यमाथि नै शङ्का उत्पन्न हुन थालेकोप्रति उनीहरुले चिन्ता व्यक्त गरे ।
जेनजी प्रतिनिधि अबिन मयाङ्बोले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम लगायत तीन वटा मुद्दा लिएर आन्दोलन सुरु गरिएको भए पनि केही जेनजी समूहहरू सत्ताकै पछि दौडिरहेको आरोप लगाए ।
उनले जेनजी आन्दोलनले उठाएका मागहरू पूरा गर्न आफूले एकताका लागि आह्वान गरेको भए पनि कोही जेनजी समूह वा व्यक्ति सहभागी नभएको भन्दै आक्रोश व्यक्त गरे ।
उनले भने, ‘हामीले तीन वटा मुद्दा बोकेर आन्दोलन गरेका हौँ ।केही जेनजी अगुवा भन्नेहरूले चार वटामा किन सारिराखेको ? हामीले हिजो मात्रै पनि जेनजी समूहको एकताका लागि प्रयास गर्यौँ । सबैलाई आह्वान गर्यौँ कोही आउनुभएन । उहाँहरू स्वार्थी समूहहरू हो । उहाँहरू आउनुहुन्न । जेनजी भन्नेहरूलाई पार्टी, एनजीओ र आईएनजीओहरुले पछाडिबाट फण्डिङ गरेको छ । आयो भने भोलिको दिनमा फण्डिङ रोकिन्छ । त्यसकारण एकता सम्भव छैन । यदि एकताका लागि सबै जेनजी समूहहरू आउनुहुन्छ भने हामी एकताका लागि तयार छौं ।’
जेनजीकी अर्की प्रतिनिधि अञ्जु राईले आन्दोलनका शहीदहरूको बलिदान व्यर्थ हुन नहुने धारणा राखिन् । उनले २०८४ सालमा हुने आवधिक निर्वाचनलाई २०८२ सालमा गर्नको लागि मात्र आफूहरूले आन्दोलन नगरेको स्पष्ट पारिन् ।
उनले जेनजी आन्दोलनले उठाएका मागहरू सम्बोधन नभए फेरी आन्दोलनमा जाने चेतावनी समेत दिइन् । उनले जेनजी पुस्ताका माग सम्बोधन गर्न तथा शहीदका परिवारलाई राहत तथा क्षतिपूर्ति दिन माग गर्दै प्रधानमन्त्रीलाई लिखित निवेदन दिए पनि सरकारले गम्भीरता नदेखाएको आरोप लगाइन् ।
उनले भनिन्,‘२०८४ सालमा हुने चुनाव २०८२ मै गर्नको लागि त हाम्रा साथीहरू रगत बगाउनु भएको होइन । चुनाव मात्रै गरेर देशको अहिलेको समस्याहरू हल हुन्छन् त ? हाम्रा कतिपय साथीहरू जेनजीहरुको युनिफिकेसनको लागि कामहरू गरिरहनुभएको छ । यदि जेनजीले उठाएका मागहरू सम्बोधन हुने स्थिति भएन भने सबै जेनजी समूह मिलेर हामी फेरि आन्दोलन गर्नुपर्ने स्थिति आउन सक्छ । हामीले जेजनीका माग र शहीदलाई न्याय दिनको लागि प्रधानमन्त्रीज्यूलाई निवेदन दियौं तर उहाँहरुको आश्वासन फिक्का हुँदै गइरहेका छन् ।’
त्यस्तै ज्योतिका फुर्केलीले जेनजी पुस्ता आपसी विभाजनको मार्गमा हिँडेकै कारण पुराना राजनीतिक शक्तिहरू शिर उठाउन थालेको बताइन् ।
उनले जेनजी आन्दोलनले निकास नपाए समाजमा जेन–जी पुस्ता आतंककारी ठहरिने भन्दै यसप्रति सबै सचेत हुनुपर्ने बताइन् । उनले मुलुकमा सुशासन कायम गर्नको लागि जेनजीबीको एकताको विकल्प नरहेको जिकिर पनि गरिन् ।
उनले भनिन्,‘हामी ले मुलुकको आमुल परिवर्तनको लागि आन्दोलन गर्यौँ । अहिले जेन–जी अभियानहरु नै एकआपसमा बाँझिदा पुरानै राजनीतिक शक्तिहरु राज्यसत्तामा आउन तयारी अवस्थामा छन् । हामी जेन–जीहरुलाई त उनीहरुले अहिले नै आतंककारी घोषणा गरिसकेका छन् । अहिले गाउँमा जेनजी भन्यो भने आतंककारी भन्ने स्थिति सिर्जना हुनुमा हामीहरुकै हात छ नि । त्यसैले अब हामी सबै एकजुट भएर जेनजी आन्दोलनका मागहरू पूरा गर्नतर्फ अगाडि बढ्नुपर्छ ।’
फुर्केलीले सबै जेनजी समूहलाई एकजुट भई मूल आन्दोलनका माग पूरा गर्नतर्फ लाग्न आह्वान समेत गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण