बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
गोलार्द्ध

एलन मस्क : अर्बौँको सम्पत्ति तर भाडाको घरमा बस्छन्

कहाँ खर्च गर्छन् त्यत्रो पैसा ?
सोमबार, २४ कात्तिक २०८२, ०६ : ००
सोमबार, २४ कात्तिक २०८२

सारांश

  • एलन मस्क आधा ट्रिलियन डलर सम्पत्ति हुने पहिलो व्यक्ति बने तापनि सादा जीवन बिताउँछन्।
  • मस्कसँग एक समयमा धेरै घरहरू थिए, तर उनले तिनीहरू बेचे र साथीहरूको घरमा बस्न थाले।
  • मस्कसँग विभिन्न ऐतिहासिक कारहरू छन् र उनी आफ्नो कामको लागि निजी जेट प्रयोग गर्छन्, तर उनको परोपकारको तरिका विवादास्पद छ।
00:00 / NaN:NaN
Audio By AI

वासिङ्टन डिसी । टेस्लाका मालिक एलन मस्क विगत केही वर्षदेखि विश्वका सबैभन्दा धनी व्यक्तिहरूमा समावेश रहँदै आएका छन् । हालै उनी आधा ट्रिलियन डलर सम्पत्ति हुने पहिलो व्यक्ति बने।

यसका बाबजुद, मस्क आफू सादा जीवन बिताउने बताउँछन्। सन् २०२१ मा उनले आफू टेक्ससमा करिब पचास हजार डलरको घरमा बस्ने बताएका थिए।

मस्कका दुई सन्तानकी आमा तथा उनकी पूर्वप्रेमिका ग्राइम्सले सन् २०२२ मा भ्यानिटी फेयर म्यागजिनलाई मानिसहरूले सोचेजस्तो मस्क विलासी जीवन बिताउँदैनन् भनेर बताएकी थिइन्। उनले भनिन्, ‘उनी अर्बपति जस्तो जीवन बिताउँदैनन्। कयौँ पटक त उनी गरिबीको रेखामुनि जस्तै अवस्थामा बस्छन्।’

d749faa0-bbe5-11f0-8252-53776b9338e4.jpg

ग्राइम्सका अनुसार, एक पटक उनको म्याट्रेसको एक भाग च्यातिएको भए तापनि उनले नयाँ किन्न अस्वीकार गरेका थिए। मस्कको दैनिक जीवन र रहनसहनमा धेरै भव्य नभए पनि उनलाई अनौठा कारहरूको सौख छ। तीमध्ये एउटा कार यस्तो छ जुन सबमरिनमा परिणत हुन सक्छ।

उनीसँग निजी विमानहरूको पनि सङ्ग्रह छ, जसको मूल्य करोडौँ डलर पर्छ। र, सन् २०२२ को त्यो ठुलो खरिद जब उनले ४४ अर्ब डलरमा ट्विटर (अहिले एक्स) किनेका थिए।

  • मस्कको आलिसान घर, जुन उनले बेचिदिए

कुनै समय मस्कसँग रियल स्टेटका कयौँ शानदार सम्पत्तिहरू थिए। वाल स्ट्रिट जर्नलका अनुसार, उनले सन् २०१९ सम्ममा करिब १० करोड डलरमा सातवटा घर किनेका थिए, जसमध्ये धेरैजसो क्यालिफोर्नियाको बेल-एयर इलाकामा एक-अर्काको नजिकै थिए।

यी सम्पत्तिहरूमा स्विमिङ पुल, टेनिस कोर्ट, वाइन सेलर, निजी पुस्तकालय र बलरूम जस्ता सुविधाहरू थिए। तीमध्ये एउटा घर प्रसिद्ध अभिनेता जीन वाइल्डरको पुरानो फार्महाउस थियो। तर सन् २०२० मा मस्कको हृदय परिवर्तन भयो। उनले ट्वीट गर्दै ‘आफ्ना लगभग सबै सम्पत्ति बेचिरहेको र अब उनीसँग कुनै घर नहुने’ बताए।

2d958580-bbd4-11f0-a755-ab35484afe82.jpg

उनले लेखे, ‘मलाई पैसाको आवश्यकता छैन। अब आफूलाई मङ्गल र पृथ्वीमा समर्पित गर्दैछु। सम्पत्ति केवल बोझ बन्छ।’ उनले जीन वाइल्डरको घर ‘भत्काउन वा त्यसको आत्मालाई नष्ट गर्न मनाही छ’ भनेर भनेका थिए ।  मस्कले यो तीन बेडरुमको घर वाइल्डरका भतिजा जोर्डन वाकर-पर्लम्यानलाई बेचिदिए, जसका लागि उनले आफैँले लाखौँ डलर ऋण पनि दिएका थिए। तर जून २०२५ मा मस्कले उक्त घर फेरि आफ्नो नाममा फिर्ता लिए, किनभने कथित रूपमा क्रेताले ऋणको किस्ता तिर्न सकिरहेका थिएनन्।  

सन् २०२१ मा मस्कले आफ्नो ‘मुख्य घर’ टेक्ससको दक्षिणी छेउमा रहेको एउटा सानो प्रिफ्याब्रिकेटेड घर भएको बताए, जसको मूल्य करिब पचास हजार डलर छ। यहीँ उनको कम्पनी स्पेसएक्सको सञ्चालन हुन्छ। यो ठाउँलाई अहिले स्टारबेस भनिन्छ। उनले लेखेका थिए, ‘यो निकै शानदार छ।’

अर्को वर्ष मस्कले आफ्नो कुनै घर नभएको बताए। यसले अथाह सम्पत्ति भएर पनि उनी त्यसको कति कम प्रयोग गर्छन् भन्ने देखाउँछ। र, उनी जहाँ गए पनि साथीहरूको घरमा बस्छन्।

उनले मिडिया संगठन टेडका प्रमुख क्रिस एन्डरसनलाई भनेका थिए, ‘म जहाँ जान्छु, वास्तवमा आफ्ना साथीहरूको घरमा बस्छु। यदि म बे-एरिया जान्छु, जहाँ टेस्लाको धेरै जसो निर्माण कार्य हुन्छ, तब म साथीहरूको खाली कोठाहरूमा पालैपालो बस्छु।’

यो कुरा नयाँ होइन। सन् २०१५ मा गुगलका तत्कालीन सीईओ ल्यारी पेजले मस्क ‘एक किसिमले घरबारविहीन जस्तै छन्’ भनेका थिए। उनले बताए, ‘उनी इमेल गरेर सोध्छन्, मलाई थाहा छैन आज कहाँ बस्ने हो? के म आउन सक्छु?’

वर्षौँदेखि मस्कले अमेरिकामा नयाँ सम्पत्ति किनिरहेको हल्ला चल्दै आएको छ, तर हाल टेक्ससको घर नै उनको आधिकारिक निवास मानिन्छ।

  • यस्ता कारहरू जुन सामान्यतया हराइसकेका छन्

मस्कले घरमा धेरै खर्च नगरे पनि कारको मामलामा भने सौखिन छन्। टेस्लाको मालिकको रूपमा उनीसँग कयौँ अनौठा र ऐतिहासिक कारहरू छन्।

d0a5e0a0-bbd7-11f0-bd4a-49c00e3ca628.jpg

यसमा फोर्ड मोडल-टी कार समावेश छ। यो सस्तो कार २० औँ शताब्दीमा आम मानिसका लागि बनाइएको थियो। यो कार त्यो बेला मोटर उद्योगको लागि एक क्रान्ति थियो।

यस मामलामा मस्कसँग अर्को कार छ, त्यो हो सन् १९६७ को जगुआर ई-टाइप रोडस्टर। भनिन्छ, यो कार मस्कलाई बाल्यकालदेखि नै मन पर्थ्यो।

सन् १९९७ को म्याक्लारेन एफ-१, यो कार एक पटक मस्कले चलाउँदा दुर्घटनामा परेको थियो। उनले यसको मर्मतमा ठुलो खर्च गरे र पछि बेचिदिए।

यसबाहेक, मस्कसँग टेस्ला रोडस्टर कार छ, जुन टेस्लाको पहिलो मोडेल थियो र मस्कले सन् २०१८ मा अन्तरिक्षमा प्रक्षेपण गरेका थिए।

7a1848e0-bbd7-11f0-bd4a-49c00e3ca628.jpg

उनीसँग सबैभन्दा अनौठो कार सन् १९७६ को मोडेलको लोटस एस्प्रिट कार हो। यो त्यही कार हो जुन जेम्स बन्डको फिल्म ‘द स्पाई हु लभ्ड मी’ (सन् १९७७) मा प्रयोग गरिएको थियो। फिल्ममा यो कार ‘वेट नील’ नामले चिनिन्छ, जुन पनडुब्बीमा परिणत हुन्छ।

मस्कले यसलाई सन् २०१३ मा करिब १० लाख डलरमा लिलामीमार्फत किनेका थिए। मस्कले यसको सबमरिन क्षमतालाई फेरि काम गर्ने बनाउन चाहेको बताएका थिए।

  • उडेर अफिस पुग्नु

मस्कले आफूले हवाईजहाजमा भने अवश्य खर्च गर्ने स्वीकार गरेका छन्, तर यसको पछाडि उनको कामको कारण छ। उनले सन् २०२२ मा टेडको अन्तर्वार्तामा भनेका थिए, ‘यदि मैले विमान प्रयोग गरिनँ भने मेरो काम गर्ने समय खेर जान्छ।’

उनीसँग कयौँ गल्फस्ट्रिम मोडेलका निजी जेट छन्, जसको मूल्य करोडौं डलर पर्छ। उनी यिनको प्रयोग अमेरिकामा स्पेसएक्स र टेस्लाका साइटहरू बीच यात्रा गर्नका लागि गर्छन्। यसका साथै अन्य देशहरूको यात्रामा पनि उनी यी विमानहरू प्रयोग गर्छन्।

  • दान पनि दिन्छन्

अमेरिकी नियामकहरूको कागजातअनुसार मस्कले अर्बौँ डलरको सेयर दान गरेका छन् र अन्य धेरै कामको लागि करोडौँ डलर दान दिएका छन्। यद्यपि, परोपकारको उनको यो तरिकाको आलोचना पनि हुँदै आएको छ। न्युयोर्क टाइम्सका अनुसार उनको दान ‘अव्यवस्थित र आफ्नै फाइदा हेरेर गरिएको छ, जसबाट उनले करमा ठुलो छुट पाउँछन् र उनको व्यवसायलाई मद्दत पुग्छ।’ 

उनको च्यारिटी संस्था ‘मस्क फाउन्डेसन’ले संस्था मानवताको विकासका लागि वैज्ञानिक अनुसन्धान, प्राविधिक खोज र महत्वाकांक्षी प्रयासहरूलाई बढावा दिन समर्पित रहेको बताउँछ। तर न्युयोर्क टाइम्सका अनुसार, फाउन्डेसनले तीन वर्षसम्म अनिवार्य दानको निर्धारित रकम दिन सकेन र त्यसका धेरै दान यस्ता संगठनहरूलाई गयो जसको मस्कसँग सीधा सम्बन्ध थियो।

जब मस्कलाई परोपकारबारे सोधियो, उनले आफू परम्परागत दानको अवधारणालाई लिएर दुविधामा रहेको बताए। उनले सन् २०२२ मा क्रिस एन्डरसनलाई भनेका थिए, ‘यदि तपाईं भलाइको सत्यताको ख्याल गर्नुहुन्छ, न कि त्यसको छविको, भने परोपकार गर्नु धेरै गाह्रो छ।’

मस्कको विश्वास छ कि उनको व्यवसाय आफैँमा परोपकार हो। उनले भने, ‘यदि परोपकारको अर्थ मानवताप्रतिको प्रेम हो भने, यी सबै (व्यवसायहरू) परोपकार हुन्।’

उनका अनुसार टेस्लाले दिगो ऊर्जालाई बढावा दिइरहेको छ, स्पेसएक्सले मानव जातिको दीर्घकालीन अस्तित्व बचाउने प्रयास गरिरहेको छ। ‘न्युरालिङ्क’ ले मस्तिष्कको चोट र एआईका कारण मानव अस्तित्वमा आउन सक्ने खतरालाई कम गर्न काम गरिरहेको उनको भनाइ छ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप