शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गण्डकीका सांसदले मागे संसद् पुनर्स्थापना, जेनजी आन्दोलनमा विदेशी घुसपैठको आरोप

सोमबार, २४ कात्तिक २०८२, १९ : ५५
सोमबार, २४ कात्तिक २०८२

सारांश

  • गण्डकी प्रदेशका एमाले सांसदहरूले जेनजी प्रदर्शनमा विदेशी घुसपैठ भएको आरोप लगाए।
  • सांसदहरूले प्रदर्शनमा हिंसा मच्चाउनेहरूलाई आतंककारीको संज्ञा दिएर कारबाहीको माग गरे।
  • विभिन्न सांसदहरूले छानबिनको माग गर्दै जेनजी आन्दोलनका माग सम्बोधन गर्न आग्रह गरे।

पोखरा । गण्डकीका एमाले सांसदहरूले भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा देशी–विदेशी घुसपैठका कारण ठुलो क्षति व्यहोर्नुपरेको तर्क गरेका छन् ।  

आइतबार प्रदेश सभा बैठकको शून्य समयमा उनीहरूले घुसपैठ गर्नेहरूविरुद्ध कारबाहीको माग गरे । उनीहरूले घुसपैठ मात्रै भनेनन्, उक्त आन्दोलनमा विध्वंस मच्चाउनेहरू आतंककारी भएको समेत बताए ।
एमाले सचेतक समेत रहेकी सांसद देवका पहारीले नेपाललाई अस्थिरतामा धकेल्न प्रयास गर्नेहरूबाटै आन्दोलनमा घुसपैठ भएको र उक्त घुसपैठमा नेपाल र विदेशी शक्तिको समेत हात रहेको बताइन् । 

‘लामो समयदेखि देशलाई अस्थिरतामा धकेल्न षड्यन्त्र गरिरहेका देशी–विदेशी शक्तिहरूको घुसपैठबाट यति धेरै क्षति भएको देखिन्छ,’ उनले भनिन्, ‘२३ गतेको प्रदर्शनलाई हिंसात्मक बनाउनेदेखि २४ गते निजी र सार्वजनिक सम्पत्तिमा आगजनी तथा तोडफोड गर्नेको छानबिनसहित कानुनी कारबाहीको माग गर्दछु ।’ उनले लगानीमैत्री वातावरणको सिर्जना गर्न आग्रह गरिन् । 

सांसद नन्दकला दमै नेपालीले पनि घटनामा घुसपैठ भएको बताइन् । ‘यो घटनाबाट हामी सबै स्तब्ध छौँ । देशी–विदेशी घुसपैठबाट अनाहकमा ज्यान गुमाउने अवस्था आयो,’ उनले भनिन्, ‘राष्ट्रिय, व्यक्तिगत र मानसिक क्षतिमा दुःख व्यक्त गर्दछु ।’ कुन विदेशी शक्तिको घुसपैठ थियो भन्ने चाहिँ सांसदहरूले खुलाएनन् । अर्का सांसद तथा पूर्वमन्त्री बेदबहादुर गुरुङले आन्दोलनमा साङ्घातिक र आतंककारी हमला भएको बताए ।
‘२३ र २४ गतेको साङ्घातिक आतंककारी हमलाबाट हुन गएको मानवीय र भौतिक क्षति दर्दनाक छ,’ उनले भने, ‘अपराधी र आतंककारीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दछु ।’ गुरुङले प्रतिनिधि सभाको पुनःस्थापनाको मागसमेत गरेका छन् । तत्कालीन समयमा असंवैधानिक तरिकाले विघटन गरिएकाले जननिर्वाचित संसद पुनःस्थापित हुनुपर्ने उनको तर्क छ । सांसद श्यामराजा महतले पनि जेनजी आन्दोलन ‘हाइज्याक’ गर्नेलाई कारबाहीको माग गरे । उनले संसद पुनःस्थापना गरेर जेनजीका माग सम्बोधनको माग राखे । 

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का सांसद फणीन्द्र देवकोटाले २३ र २४ गतेको दुवै दिनको छानबिन गरी दोषीमाथि कडा कारबाही हुनुपर्ने बताए । ‘एकथरीले २३ गतेको दोषीलाई कारबाही हुनुपर्छ भनेका छन् । अर्कोथरीले २४ गतेको मात्रै दोषीलाई कारबाही माग गरेका छन्,’ उनले भने, ‘तर, दुवै दिनका दोषीलाई कारबाही हुनुपर्छ भन्ने मेरो माग हो ।’ कांग्रेस सांसद सुनीता थापा पनि सही प्रदर्शनलाई हिंस्रक बनाउन भूमिका खेल्नेविरुद्ध छिन् । ‘युवा पुस्ताको विद्रोह विनाशको लागि नभई परिवर्तनको लागि भएपनि हिंस्रक हुनु दुःखद छ,’ उनी भन्छिन्, ‘घुसपैठमा संलग्न समूहलाई कानूनी कारबाही होस् ।’ सँगै उनले सरकारको सेवा प्रवाह आन्दोलनको माग अनुसार हुनुपर्ने धारणा राखिन् ।

सांसद भीम कार्कीले भूमि आयोगलाई स्फूर्त रूपमा काम गर्न दिनुपर्ने राय राखे भने गणेशमान गुरुङले प्रदर्शन र त्यसपछिको राजनीतिक घटनाबारे संसदमा सबैले विशेष हिसाबले छलफल गर्न पाउनुपर्ने माग राखेका छन् । सांसदहरू कल्पना तिवारी र हरि भण्डारीले स्वास्थ्य क्षेत्रको समस्या उठाए । भण्डारीले भने, ‘अहिले प्रदेशका अस्पतालहरू ‘रिफर सेन्टर’जस्ता छन् । तत्काल व्यवस्थापन समिति बनाएर सेवा प्रभावकारी बनाओस् ।’ सांसदहरू सीता सुन्दास र सुशीला सिम्खडाले बेमौसमी वर्षाका कारण धानबालीमा भएको क्षतिको अनुगमन गरी राहत दिन माग गरे ।

बैठकमा सांसद रेशम जुग्जालीले पनि जेनजी पुस्ताको आन्दोलनबारे छलफलको वातावरण बनाउन संसदसँग माग गरे । उनले म्याग्दीको मालिका–४ को ओखरबोट माविमा पहिरोका कारण पठनपाठन गर्न सक्ने अवस्था नभएकोले तत्कालै स्थानान्तरण गरेर पठनपाठनको माग गरे । लिलबहादुर थापाले जेनजी आन्दोलनको निष्पक्ष छानबिनसँगै प्रतिवेदन सार्वजनिक गर्न माग गरे । आन्दोलनको माग अनुसार सुशासन कायम गर्न उनले सरकारको ध्यानाकर्षण गराए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप