आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

कांग्रेसको अधिवेशन विवाद र सम्भावित बाटो

मङ्गलबार, २५ कात्तिक २०८२, १० : १४
मङ्गलबार, २५ कात्तिक २०८२

नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो र लोकतान्त्रिक मूल्यमा आधारित राजनीतिक दल हो । स्थापनाकालदेखि नै नेपाली कांग्रेस पार्टीले लोकतन्त्र, लोकतान्त्रिक मूल्य मान्यताको स्थापना, मानव अधिकार, र समावेशी शासन प्रणालीको पक्षमा लामो सङ्घर्ष गरेको छ । तर हालसालै पार्टीभित्र देखिएको महाधिवेशनको मिति र प्रक्रिया सम्बन्धी विवादले पार्टीलाई अनिर्णयको बन्दी बनाएको छ । 

एकातिर युवा नेतृत्व निर्वाचन अघि अधिवेशन गरेर नयाँ जनादेशसहित अघि बढ्नुपर्ने पक्षमा छ भने अर्कोतर्फ संस्थापन पक्ष निर्वाचनपछि मात्र अधिवेशन गर्नुपर्ने अडानमा छ । विगतका महाधिवेशनहरूमा नेतृत्व परिवर्तन, नीति निर्माण र संगठन सुदृढीकरणका महत्त्वपूर्ण निर्णयहरू भएका छन् । तर पछिल्ला केही अधिवेशनहरूमा नेतृत्व परिवर्तन भन्दा संस्थापन पक्षको निरन्तरताले पार्टीभित्र असन्तुष्टि बढाएको छ ।

  • विवादको पृष्ठभूमि

नेपाली काँग्रेसको १५औँ महाधिवेशन कहिले गर्ने भन्ने विषयमा पार्टी भित्र गम्भीर मतभेद देखिएको छ । पार्टीको विधान अनुसार प्रत्येक चार वर्षमा पार्टीको महाधिवेशन हुनुपर्ने व्यवस्था छ । असोज १८ बाट सुरु भएको केन्द्रीय समितिको बैठक सकिने कुनै छाँटकाट छैन । तर हाल नेतृत्वले कार्यकाल थप गरेर अधिवेशनलाई पछि सार्ने प्रयास गरेको छ ।

युवा नेता तथा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरू निर्वाचन अघि पार्टीको आन्तरिक अधिवेशन गर्नुपर्ने पक्षमा छन् । तर, संस्थापन पक्ष भने पार्टीको विधानले दिएको सुविधा अनुसार कार्यकाल थप गर्दै निर्वाचनपछि मात्र अधिवेशन गर्नुपर्ने अडानमा उभिएको छ । यस्तो द्वन्द्वले पार्टीको आन्तरिक एकता, जनविश्वास र आगामी निर्वाचनमा प्रभाव पार्न सक्ने कुरा यत्र–तत्र चर्चा छ ।

  • वर्तमान खिचातानीका असरहरू

हामीले भुल्न हुँदैन, नेपालका हरेक राजनीतिक परिवर्तनमा आफूलाई सुझबुझका साथ प्रस्तुत गर्ने दल हो– नेपाली कांग्रेस । वर्तमान सङ्क्रमणकालीन राजनीतिक परिवेशको निकास दिनुपर्ने कांग्रेसको करिब–करिब एक महिनादेखि सुरु भएको केन्द्रीय कार्य समितिको बैठक समापन नहुनु र पटक–पटक बैठक स्थगित गरेको सूचना टाँस गरेर पार्टीलाई अनिर्णयको बन्दी बनाउन कुनै पनि सिद्धान्तले दिँदैन ।

युवा पुस्ताले आँखा मिलिक्क गर्दा देशले यत्रो परिवर्तनको मूल्य चुकाउनु पर्‍यो । तर हरेक परिवर्तनको भारी बोक्नु पर्ने कांग्रेस आफ्नो आन्तरिक बैठकमा महिनौँ समय खेर फालेर रुमल्लिई रहेको कुराको चौतर्फी निन्दा भइरहेको छ । देशभरका लगभग ५४ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर केन्द्रीय समितिलाई ज्ञापन पत्र बुझाए पनि नियमित वा विशेष महाधिवेशनको मिति तय नहुँदा पार्टीको निर्णय क्षमता कमजोर भएको प्रस्टै देखिएको छ । 

यसले राष्ट्रिय राजनीतिमा कांग्रेसको प्रभाव घटाएको छ । आम नागरिकले बाहिरबाट हेर्दा नेपाली कांग्रेस राजनीतिक अनिर्णयको चौघेरामा रुमल्लिएको देखिन थालिएको छ । आन्तरिक विवाद र नेतृत्वको अस्पष्टताले मतदातामा निराशा बढाएको छ । आम जनताको कांग्रेसप्रतिको विश्वासमा गिरावट आएको छ । 

त्यति मात्र होइन ऐतिहासिक परिवर्तनमा जेल–नेल बेहोरेका अग्रज नेताहरूप्रति लक्षित व्यङ्ग्य बाण र युवा नेतृत्वलाई गरिएको आन्तरिक प्रहार सतहमा छताछुल्ल छ । यो दुवै आत्मघाती हो । परिवर्तनको पक्षमा उभिएका युवा नेताहरूको ऊर्जा र उत्साह दबिएको छ, उनीहरू हतोत्साहित बनेका छन्, जसले दीर्घकालीन रूपमा पार्टीलाई कमजोर बनाउन पनि सक्छ ।

  • जेनजी आन्दोलन र नेतृत्व हस्तान्तरण 

देश आफ्नो गतिमा दौडिरहेको थियो । हरेक दलका केन्द्रीय नेताहरू मनमगनको अवस्थामा थिए । दोस्रो पुस्ताका कार्यकर्ता वा आम जनताको खबरदारीलाई पार्टी नेतृत्वले नजरअन्दाज गरिरहेको थियो । तर अचानक बिजुली चम्केको गतिमा भदौ २३–२४ को घटना भयो । जेनजी आन्दोलनले पार्टीभित्र नेतृत्व परिवर्तनको मागलाई थप बल दियो । 

आन्दोलनले युवा पुस्ताको असन्तुष्टि र परिवर्तनको चाहनालाई उजागर गर्दागर्दै पनि पार्टी संस्थापन पक्षले त्यसमा यथोचित ध्यान दिन सकेन । संस्कृतमा एउटा श्लोक छ– 

नवार्क पुरतः स्फुरति नवं चन्द्रोदय शुभ 

तथैव नव युवानेषु देशो भवति तेजस्वी ! 

अर्थात् जसरी नयाँ सूर्य वा नयाँ चन्द्र उदाउँदा संसारमा उज्यालो फैलन्छ, त्यसरी नै जब नयाँ युवाहरू नेतृत्वमा आउँछन् देश तेजस्वी र प्रगतिशील बन्छ ।

पक्कै पनि वर्षौँसम्म पटक–पटक नेतृत्व प्रदान गर्दै आइरहेका व्यक्तिले भन्दा नयाँ जोस र नयाँ जागरको साथ नेतृत्व लिने युवाहरूले नयाँ सोचलाई कार्यान्वयनको तहमा सजिलै पुर्‍याउन सक्छन् । वर्तमान राजनीतिक परिदृश्यमा जनताले नयाँ सोच, नयाँ दृष्टिकोण र युग सुहाउने नयाँ नेतृत्व खोजिरहेका छन् । 

अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेर कांग्रेसले जनताको त्यो अपेक्षालाई सम्बोधन गर्न सक्छ । अधिवेशनले युवा र अनुभवी नेताहरूबिच सन्तुलन कायम गर्दै पार्टीलाई सशक्त बनाउन सक्छ, जसको फाइदा प्रत्यक्ष रूपमा फेरि कांग्रेसलाई नै जान्छ । 

  • निर्वाचन रणनीति

प्रजासुखे सुखं राज्ञः प्रजानां च हिते हितम्

नात्मप्रियं हितं राज्ञः प्रजानां तु प्रियं हितम

महाभारतमा एउटा श्लोक छ, जसको अर्थ राजनीति वा शासनको अन्तिम लक्ष्य जनता हुन्, राजा वा नेता होइन भनिएको छ । नागरिकको हितमै उसको हित र नागरिकको सुखमै नेतृत्वको सुख निहित हुन्छ । आफ्नो व्यक्तिगत स्वार्थ भन्दा जनताका लागी प्रिय र हितकारी कुरा नै साँचो कल्याण हुन्छ । 

राजनीतिक नेतृत्वले जताबाट कान समाते पनि आखिरमा उसको अन्तिम गन्तव्य जनता माझ गएर आफ्नो एजेन्डा प्रस्तुत गर्ने र जनमतमार्फत नेतृत्व अनुमोदन हुनु हो । यसो हो भने फेरि नेपाली काँग्रेसलाई यथास्थितिमा राखेर निर्वाचनमा जनतामाझ जाँदा जनमत प्राप्त गर्न सहज हुन्छ वा अधिवेशनमार्फत नेतृत्व हस्तान्तरण गरेर जाँदा सहज हुन्छ ? भन्ने सामान्य प्रश्न हो ।  

हामीलाई विश्वास छ, केन्द्रीय सदस्यहरूले आफ्नो विवेक बन्धक राख्नु भएको छैन । विवेक जिउँदै छ भने एक पटक ध्यानाकर्षण गराउन चाहन्छु– पार्टीको आन्तरिक विवाद र विभिन्न मुद्दाहरुमा नेतृत्वको अस्पष्टताले मतदातामा निराशा बढाएको छ । अधिवेशनपछि नयाँ नेतृत्वसहित निर्वाचनमा जानु पार्टीको ऊर्जा पुनः स्थापित गर्ने सरल उपाय हुन सक्छ । 

बदलिँदो राजनीतिक परिवर्तनलाई आत्मसाथ गर्दै महाधिवेशनको मिति, प्रक्रिया र तयारीको स्पष्ट कार्यतालिका सार्वजनिक गरेर कार्यकर्तामा विश्वास जगाउन सकिन्छ । संविधानको पालना गर्दै निर्वाचनमा जाँदा पार्टीको विधानअनुसार प्रक्रिया अघि बढाएर अधिवेशन गरेर विधिको शासनमा विश्वास कायम गर्न गराउन सकिन्छ । 

जनतामा नयाँ आशा र विश्वास जगाउन सकिन्छ । निर्वाचन अघिको अधिवेशनले नयाँ जनादेशको आवश्यकतालाई हृदयमा राखी कार्य सम्पादन गर्ने जनविश्वास छ । वर्तमान राजनीतिक परिदृश्यमा जनताले नयाँ सोच, दृष्टिकोण र नेतृत्व खोजिरहेका छन् । अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेर नेपाली काँग्रेसले जनताको अपेक्षा सम्बोधन गर्न सक्छ ।

  • नेतृत्व हस्तान्तरणको उदाहरण

हामीलाई थाहा छ नेतृत्व हस्तान्तरण सहजै र सरल प्रक्रियाबाट हुँदैनन् । तर विश्व राजनीति हेर्न हो भने नेतृत्व हस्तान्तरणका केही महत्त्वपूर्ण उदाहरण छन् । फ्रान्सका राष्ट्रपति फ्राँस्वा मिटराँ थिए । उनी सोसलिस्ट पार्टीका प्रभावशाली नेता थिए, जसले फ्रान्समा सामाजिक न्याय, श्रमिक अधिकार र युरोपेली एकताको पक्षमा काम गरे । उनकै कार्यकालमा पार्टीभित्र युवालाई अवसर दिने नीति ल्याइयो । मिटराँले एमानुएल म्याक्रोनलाई नेतृत्व हस्तान्तरण गरेँ । म्याक्रोनले ३९ वर्षको उमेरमा फ्रान्सको राष्ट्रपति पद सम्हाल्दै इतिहासकै युवा राष्ट्रपति बने ।

विश्व राजनितीमा हामी सबैले सुनेको चर्चित नाम हो– नेल्सन मण्डेला । मण्डेला दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्रपति थिए । जसले रङ्गभेद अन्त्यपछि लोकतान्त्रिक निर्वाचनमार्फत सत्ता सम्हाले । उनले २७ वर्ष जेल जीवन बिताएपछि राष्ट्रिय मेलमिलाप, सहिष्णुता र लोकतन्त्रको आधारमा देशको नेतृत्व गरे । मण्डेलाले सन् १९९९ मा स्वेच्छाले राष्ट्रपति पदबाट राजीनामा दिएर थाबो मबेकीलाई आफ्नो उत्तराधिकारीको रूपमा नेतृत्व हस्तान्तरण गरे । 

पूर्वीय दर्शक र हाम्रो धर्मशास्त्र अनुसार हेर्ने हो भने राजा रामले वनवास जानु पूर्व आफ्नो भाइ भरतलाई राज्यको उत्तराधिकारी प्रदान गरे । यो बदलिँदो परिवेशमा पनि ठुलो छाती गरेर नेपाली काँग्रेसका नेताहरूले सङ्क्रमणबाट देशलाई पार लगाउन स्वतःस्फूर्त रूपमा युवालाई नेतृत्व हस्तान्तरण गर्नु उपयुक्त हुन्छ ।

  • सम्भावित उपायहरू

हामीलाई थाहा छ राजनीतिक नेतृत्व हस्तान्तरण भनेको छाडेर जानेहरूका लागि पक्कै सहज हुँदैन । नेपाली काँग्रेसको १५औँ महाधिवेशन नेतृत्व हस्तान्तरण मात्र नभई यो काँग्रेस भित्रको लामो समयदेखि प्रश्न उठेको पुस्तान्तरणको बहसलाई सार्थक तुल्याउन कोशेढुङ्गा साबित हुनेछ । 

यो संसारमा यस्तो कुनै जडीबुटी हुँदैन, जसबाट औषधि नबनोस् । र, यस्तो कुनै कठिन समय हुँदैन, जसको समाधान नहोस् । काँग्रेस भित्रको नेतृत्व हस्तान्तरणको वर्तमान किचलोलाई समाधान गर्न सल्लाहकार समिति गठन गर्नु नै अचुक उपाय हुन सक्छ । यसबाट अग्रज नेताहरूको साख पनि जोगिन्छ र उहाँहरूको मानमर्दन पनि हुँदैन । यसबाट जेनजी आन्दोलनको भावनाको पनि कदर हुन्छ ।

पुरानो अनुभव र नयाँ जोसको मिलनले मात्र संगठन वा राष्ट्र बलियो हुन्छ । अग्रज नेताहरूले यहाँसम्मको यात्रामा नेपाललाई र नेपाली कांग्रेसलाई जसरी डोर्‍याएर ल्याउनु भयो त्यसप्रति कृतज्ञता व्यक्त गर्दै रुखको पुराना पातलाई उचित संरक्षण गर्नु र नयाँ पालुवालाई अघि बढ्न दिनु नै अहिलेको उपयुक्त विकल्प हो ।

काँग्रेस अहिले सङ्क्रमणकालीन मोडमा छ । कांग्रेस मात्र होइन देश नै सङ्क्रमणकालमा छ । यस्तो अवस्थामा कांग्रेसको आन्तरिक विवादलाई समाधान नगरी निर्वाचनमा जानु आत्मघाती हुन सक्छ । त्यसैले अग्रज नेताहरूको सल्लाहकार समितिमार्फत व्यवस्थापन गरेर सहमति निर्माण गर्दै अधिवेशनमार्फत युवा नेतृत्वलाई अघि सारेर निर्वाचनमा जानु पार्टीको दीर्घकालीन हितमा हुनेछ । 

यसले न केवल पार्टी भित्रको ऊर्जा पुनर्स्थापित गर्नेछ जनतामा पनि कांग्रेसप्रति उत्साह, आशा र विश्वास जगाउनेछ ।

(लेखक नेपाली कांग्रेस बागमती प्रदेश सदस्य हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

देवकी गौतम
देवकी गौतम
लेखकबाट थप