शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

साहसिक पर्यटन प्रवर्द्धनका लागि ‘प्रथम मुन्दुम अल्ट्रा ट्रेल रेस’

बुधबार, २६ कात्तिक २०८२, ०० : ४०
बुधबार, २६ कात्तिक २०८२

सारांश

  • भोजपुरमा मुन्दुम अल्ट्रा ट्रेल रेस आयोजना हुने भएको छ, जसले साहसिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
  • यो प्रतियोगिता मङ्सिर २०-२२ गतेसम्म हतुवागढीको कोप्चेबाट तावाभञ्याङसम्म ६० किलोमिटर दूरीमा हुनेछ।
  • यस प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकहरूको सहभागिता रहनेछ, र यसको लागि १५ लाख बजेट विनियोजन गरिएको छ।

भोजपुर। मुन्दुम पदमार्गको प्रचारप्रसारसँगै साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुरमा ‘प्रथम मुन्दुम अल्ट्रा ट्रेल रेस’ आयोजना हुने भएको छ । मौलिक संस्कृति, स्थानीय परिकार र यहाँ पहिचानलाई देश–विदेशमा चिनाउने लक्ष्यले आगामी मङ्सिर २०–२२ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । ग्रेट मुन्दुम ट्रेलभित्र पर्ने हतुवागढीको कोप्चेबाट तावाभञ्याङसम्म ६० किलोमिटर दूरीमा प्रतियोजना हुने जनाइएको छ । 

भोजपुरका दक्षिणी क्षेत्रमा पर्ने रामप्रसाद राई, हतुवागढी र आमचोक गाउँपालिकाले पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागेका हुन् । भोजपुरको सबैभन्दा होचो स्थान (१५३ मिटर) माइबेनी कोप्चेबाट तावाभञ्याङसम्म प्रतियोगिता हुने मुन्दुम ट्रेल रेस सञ्चालन समितिका सचिव रविन थापाले जानकारी दिए। 

प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकको सहभागिता रहने जनाइएको छ । प्रतियोगितमा १०० जना धावक सहभागी गराउने लक्ष्य रहेको रिमाचुङ, एजुकेसन एण्ड स्पोर्ट एकाडेमीका अध्यक्ष पावीहाङ राईले जानकारी दिए ।

हतुवागढी–९ माईबेनी कोप्चेबाट सुरु हुने रेस आमचोकको बयाङ–थामडाँडा हुँदै रामप्रसाद राई गाउँपालिकाको पामखाङ–भञ्याङ–कपासे–सेल्मे–पाँचधारे–तावाभञ्याङसम्म सञ्लालन हुने रामप्रसाद राई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । 

प्रतियोगितालाई प्रभावकारी, सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्न तीनै गाउँपालिकाबीच विस्तृत कार्य योजना तयार गरिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । उनले सामुदायिक तथा साहसिक पर्यटन विकास गर्ने लक्ष्यसहित यो प्रतियोगिता आयोजना गरिएको बताए ।

मुन्दुम पदमार्ग क्षेत्रमा रहेका पर्यटकीयस्थलको प्रवर्द्धन तथा विकासका लक्ष्यले तीन गाउँपालिकाहरुले बजेट विनियोजन गरेर प्रतियोगिता सञ्चालन गर्न लागिएको आमचोक गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिए । प्रतियोगिता सञ्चालनका लागि तीनै गाउँपालिकाले रु पाँच–पाँच लाखका दरले जम्मा रु १५ लाख बजेट विनियोजन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप