बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
पार्टी एकीकरण

६ महिनाभित्र एकता महाधिवेशन गर्ने सहमति, पार्टीमा सामूहिक नेतृत्व

बुधबार, २६ कात्तिक २०८२, १३ : ५१
बुधबार, २६ कात्तिक २०८२

सारांश

  • नेकपा र डा. भीम रावलको अभियानबीच सात बुँदे सहमति भएको छ, जसमा एकता महाधिवेशन गर्ने निर्णय छ।
  • सहमतिले राष्ट्रिय हित, स्वाधीनताको संरक्षण र समाजवादमा आधारित आर्थिक-सामाजिक रूपान्तरणलाई जोड दिएको छ।
  • मातृभूमि जागरण अभियानका कार्यकर्ताहरू नेकपामा समायोजन हुने र भीम रावलको भूमिकाबारे सहमति हुनेछ।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपालबिच सात बुँदे सहमति भएको छ। सहमति पत्रमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल र मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले हस्ताक्षर गरेका छन्।

सहमति अनुसार दुवै पक्षले आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने र महाधिवेशनको मिति तथा स्थान सचिवालयले छिट्टै निर्धारण गर्ने निर्णय गरेका छन्। महाधिवेशनमार्फत एकीकृत पार्टीको संरचना, नीति तथा नेतृत्वलाई संस्थागत गरिने सहमति भएको छ।

सहमति पत्रमा नेपाल र नेपाली जनताको सर्वोपरि हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता र आत्मनिर्णयको अधिकारको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै बाह्य हस्तक्षेप र दबाबमुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र र संस्कृतिको मार्गमा अघि बढ्ने अठोट पनि व्यक्त गरिएको छ।

दुवै पक्षले समाजवाद र सामाजिक न्यायमा आधारित आर्थिक–सामाजिक रूपान्तरण र समृद्धिको अभियानलाई संयुक्त रूपमा अघि बढाउने सहमति जनाएका छन्। पार्टी सञ्चालनका सन्दर्भमा लोकतान्त्रिक मान्यता, सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको सिद्धान्तलाई अङ्गीकार गर्दै काम गर्ने उल्लेख गरिएको छ।

सहमति अनुसार मातृभूमि जागरण अभियान अन्तर्गतका सबै तहका कार्यकर्ताहरूलाई नेपाली कम्युनिस्ट पार्टीको सोही तहमा पारस्परिक सहमतिमा समायोजन गरिनेछ। त्यस्तै, डा. भीम रावलको जिम्मेवारी तथा भूमिकाबारे पनि आपसी सहमतिबाट टुङ्गो लगाइने उल्लेख गरिएको छ।

पार्टीको विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रमलगायतका दस्ताबेज संयुक्त रूपमा तयार पार्ने र पार्टी एकीकरणलाई सहज बनाउन आवश्यकताअनुसार विभिन्न तहमा कार्यदल गठन गर्ने सहमति पनि गरिएको छ।

सहमति पत्रमा हस्ताक्षर नेकपाको पार्टी कार्यालय पेरिसडाँडामा भएको हो। सहमतिसँगै आजै राष्ट्रिय सभागृहमा आयोजना गरिएको विशेष कार्यक्रममा डा. भीम रावल औपचारिक रूपमा नेकपामा समाहित हुने भएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप