शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महामन्त्रीद्वय थापा र शर्मा असफल भए, पदबाट हट्नुपर्छ : जीतजंग बस्नेत

बुधबार, २६ कात्तिक २०८२, १५ : ३७
बुधबार, २६ कात्तिक २०८२

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पूर्ण रूपमा असफल भएको आरोप लगाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बुधबार धारणा राख्दै बस्नेतले थापा र शर्माले आफ्नो पदीय दायित्वबाट राजीनामा दिनुपर्ने बताए ।

सभापतिमाथि भौतिक आक्रमण हुँदा र पार्टी कार्यालय जल्दा महामन्त्रीहरूले पदीय दायित्व पूरा गर्न नसकेको उनको भनाइ छ । ‘दुई महामन्त्रीहरू असफल भइसक्नुभएको छ, पदीय दायित्वबाट बिदा लिनुपर्दछ,’ बस्नेतले भने ।

बस्नेतले महामन्त्रीद्वय थापा र शर्माको अगुवाइमा भइरहेको विशेष महाधिवेशनको मागलाई ‘सङ्गठन कब्जा गर्ने षड्यन्त्र’ को संज्ञा दिए । उनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई आतङ्कवादी गतिविधि भएको बताए ।

‘विशेष महाधिवेशन किन ? केका लागि ? नीति परिवर्तन कि नेतृत्व परिवर्तनका लागि,’ बस्नेतले भने, ‘आजको प्राथमिकता नेतृत्व परिवर्तन नभई पार्टीको नीति, कार्यक्रम र सञ्चालन प्रणाली पुनरावलोकन हो ।’

नियमित महाधिवेशन महामन्त्री थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले सदस्यता नटुङ्ग्याएर तत्काल हुन सम्भव नदेखिएको बताए ।

‘नियमित महाधिवेशन कसले रोकेको छ ? क्रियाशील सदस्य व्यवस्थापन समितिको संयोजक स्वयं महामन्त्रीज्यू हुनुहुन्छ, तर काम नगर्ने र दोष अरूलाई थोपर्ने प्रवृत्ति किन ?,’ बस्नेतले प्रश्न गर्दै भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप