बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

माओवादी विद्रोह भोगेका दानबहादुरका चुनौती

प्रहरीको मनोबल उकास्न के गर्लान् ?
बुधबार, २६ कात्तिक २०८२, २० : ३०
बुधबार, २६ कात्तिक २०८२

सारांश

  • नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आगामी निर्वाचन र प्रहरीको मनोबल उकास्ने चुनौतीको सामना गर्नुपर्नेछ।
  • कार्कीले डीएसपी हुँदा बानेश्वर क्षेत्र र मधेसको प्रदर्शन भोगेका थिए, साथै जेनजी प्रदर्शनका कारण काठमाडौं उपत्यकाको प्रहरी कमाण्ड सम्हाले।
  • कार्कीको कार्यकालमा प्रहरी संगठनलाई सुदृढ बनाउन र आन्तरिक चुनौतीहरूलाई समाधान गर्नुपर्नेछ।

काठमाडौँ । इन्स्पेक्टरको तालिम सकेर पासआउट भएपछि कमान्डरले सोधे, ‘रुकुम, रोल्पा, सल्यान, जाजरकोट र कालिकोट को–को जाने ?’ 

२०५५ अन्तिमतिरको कुरा थियो, दानबहादुर कार्कीले हात उठाउँदै भने, ‘म तयार छु ।’ तत्कालीन माओवादीले विद्रोह सुरु गरेको थियो । भर्खरका इन्स्पेक्टर कार्की तुना कसेर भिर्ने झोला (रकस्याक ब्याग) बोकेर काठमाडौँबाट नेपालगञ्जको बस चढे । नेपालगञ्ज ओर्लिएपछि प्रहरी प्रधान कार्यालयबाट खबर आयो, ‘तपाईंलाई भालुवाङ जाने आदेश छ ।’ 

दाङको भालुवाङ चौकीमा अघिल्लो रात माओवादीले आक्रमण गरेको थियो । नेपालगञ्जबाट भालुवाङतर्फ जाने बस चढ्दा रकस्याक ब्यागको माथिल्लो भागमा प्रहरीको लाठी देखिएको थियो । त्यही झोलामा पेस्तोल र कपडा थिए । निर्धक्क बस चढेर उनी भालुवाङ हिँडे । त्यो दिन सम्झिएर दानबहादुर भन्छन्, ‘विद्रोही पक्षले बसमा चेकजाँच गरेको भए म प्रहरी भन्ने चिनिहाल्थे ।’ 

तर, कार्की रोकिएनन् । भालुवाङमा झरेर चौकीमा पुग्दा प्रहरी कर्मचारी त्रसित अवस्थामा थिए । त्यहाँ बसेर काम गर्दैगर्दा रुकुममा कार्यरत तत्कालीन इन्स्पेक्टर रवि पौडेलले माओवादीसँग लड्न थप मद्दत चाहिएको रिपोर्टिङ गरे । कार्की भन्छन्, ‘त्यसपछि म रुकुम लागेँ ।’ 

सेना परिचालन नहुँदा रुकुममा बसेर माओवादी विद्रोह भोगेका दानबहादुर हाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षक भएका छन् । मन्त्रिपरिषद्ले उनलाई कात्तिक २७ बाट लागु हुनेगरी आईजीपी नियुक्त गरेको छ । प्रहरी सेवामा प्रवेश गर्नासाथ कार्की सशस्त्र प्रहरी गण नम्बर १ नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय रुकुममा बसेर काम गरे । उनी २०५४ चैत १८ मा प्रहरीमा सेवा प्रवेश गरेका थिए । 

इन्स्पेक्टर पदमा १२ वर्ष काम गर्दा उनले विद्रोहीसँग लुकामारी गरिरहे । २०६६ मा उनी डीएसपी बढुवा भए । शान्तिप्रक्रिया सुरु भएपछि फरक क्षेत्रसँग उनको पौंठेजोरी चल्न थाल्यो । डीएसपी भएर प्रहरी वृत्त बानेश्वरको कमान्ड गर्दा उनले व्यापारिक घराना ‘दुगड ग्रुप’माथि अनुसन्धान गरे । २०७२ मा उनले दुगड ग्रुपविरुद्ध कालोबजारी मुद्दा चलाए । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख हुँदा भुटानी शरणार्थीको अनुसन्धानलाई टुंगोमा पुर्‍याए । शरणार्थी प्रकरणको फाइल उनकै ब्याचमेट डा. मनोज केसीले खोलेका हुन् । 

प्रहरीका २६ वटा युनिटमा बसेर ‘पुलिसिङ’ गरेका कार्की जेनजी प्रदर्शनका कारण थिलथिलो बनेको बेला नेतृत्वमा पुगेका छन् । अन्तरिम मन्त्रिपरिषद्ले २०८२ फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेको छ । 'कार्कीको सामु सबैभन्दा ठुलो चुनौती शान्तिपूर्ण निर्वाचन गराउनु हो,' पूर्वएआईजी हरिबहादुर पाल भन्छन्, ‘चुनाव हुन नदिने शक्तिहरू सक्रिय हुन सक्छन्, चुस्त योजना बनाएर चुनाव सम्पन्न गर्नु नै अहिलेको मुख्य चुनौती हो ।’ 

पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी पनि नवनियुक्त आईजीपीको मुख्य चुनौती निर्वाचन नै भएको बताउँछन् । भन्छन्, ‘अहिलेको अवस्थामा मल्टिपल चुनौती देखिन्छ तर, मुख्य चुनौती चुनाव हो ।’ 

मनोबल उकास्नु अर्को चुनौती 

दानबहादुर कार्की जिल्ला प्रहरी कार्यालय सप्तरीमा डीएसपी थिए । २०७३ चैतमा नेकपा (एमाले) को मेची महाकाली अभियान सप्तरी पुग्यो । मधेसी मोर्चाले एमालेलाई रोक्न खोज्दा झडप भयो । सप्तरीको बसबीट्टी क्षेत्रमा एमाले र मधेसी मोर्चाबिच झडप हुँदा पाँच जनाको मृत्यु भयो । कार्की त्यसबेला फिल्ड कमान्डर थिए । 

डीएसपी हुँदा बानेश्वर क्षेत्र र मधेसको प्रदर्शन भोगेका कार्कीले एआईजी भएपछि जेनजी प्रदर्शनले क्षतविक्षत् बनाएको काठमाडौँ उपत्यकाको प्रहरीलाई कमाण्ड गरे । जेनजी प्रदर्शनको पहिलो दिन किशोरहरूको ज्यान जानेगरी गोली चलेपछि भोलिपल्ट उनलाई उपत्यका प्रहरी कार्यालयमा पठाइएको थियो ।

चुनौतीपूर्ण अवस्थामा प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभाग छाडेर उनी भदौ २४ मा उपत्यका प्रहरी कार्यालयमा हाजिर भएका थिए । कार्की भन्छन्, ‘मैले सरुवाको पत्र पाएको थिइनँ, संगठन प्रमुखको आदेशमा भदौ २४ गते बिहानै उपत्यका प्रहरी कार्यालयमा हाजिर भएँ ।’ 

जेनजी प्रदर्शनका क्रममा भदौ २४ मा काठमाडौँ उपत्यकासहित देशभरका प्रहरी कार्यालयमा आगजनी भयो । आगजनीका कारण प्रहरीको ७४ वटा भवन पूर्ण रूपमा क्षति भएको छ । २ सय २२ वटा भवनमा आंशिक क्षति पुगेको प्रहरीको आन्तरिक प्रतिवेदनमा उल्लेख छ । 

प्रदर्शनपछि २० वर्ष सेवा अवधि पूरा गरेका प्रहरी कर्मचारीहरूले धमाधम राजीनामा दिन थालेका छन् । प्रहरी स्रोतका अनुसार त्यसरी राजीनामा पेस गर्नेमा जुनियर प्रहरीहरू धेरै छन् । 

प्रदर्शनकारीले नयाँ बानेश्वर वृत्तमा कार्यरत इन्स्पेक्टर सहितलाई युनिफर्म खोल्न लगाएर र बागमती नदीमा हामफाल्न बाध्य पारेको भिडियो सामाजिक सञ्जालमा छ । महाराजगञ्जमा प्रहरीमाथि निर्घात कुटपिट गरेर हत्या गरेको भिडियो सार्वजनिक भएको छ । महाराजगञ्जमा प्रदर्शनकारीको आक्रमणबाट प्रहरी सहायक निरीक्षक (असई) मिलन राय र जवान उत्तम थापाले ज्यान गुमाए । प्रदर्शनकारीको आक्रमणमा परेर उपत्यकामा तीन जना प्रहरीले ज्यान गुमाए । 

प्रदर्शनमा जसरी प्रहरीमाथि आक्रमण भयो ती घटनाले उनीहरूको मनोबल गिरेको छ । फ्रन्टलाइनमा खटिने प्रहरी कर्मचारीको मनोबल बढाउनुपर्ने चुनौती आईजीपी कार्कीको काँधमा छ । 

पूर्वडीआईजी ठकुरी थप्छन्, ‘जेनजी प्रदर्शनपछि डिफेन्सिभ बनेको प्रहरीलाई अफेन्सिभ बनाउनुपर्ने चुनौती देखिन्छ ।’ 

लामो कार्यकाल

३३औँ महानिरीक्षकमा दानबहादुर कार्कीले २०८४ चैत १७ सम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन् । लामो कार्यकालमा उनले थुप्रै परीक्षा पार गर्नुपर्ने छ । भिड नियन्त्रणको सामग्री नहुँदा फिल्डमा खटिएका सुरक्षाकर्मी उच्च गतिको बन्दुक ‘राइफल’को गोली चलाउन बाध्य छन् । हाई भेलोसिटी क्षमताको हतियारबाट प्रतिसेकेन्ड १ हजार मिटरभन्दा धेरै स्पिडमा बुलेट जान्छ । इन्सास र एसएलआर जस्ता हतियार हाई भेलोसिटीमा पर्छन् । 

७९ हजार ५४१ जना फौजको कमान्ड सम्हालेका कार्कीसामु भिड नियन्त्रण गर्न प्रहरीलाई अब्बल बनाउनुपर्ने चुनौती छ । त्यसका लागि प्रहरीलाई साधनस्रोतले सम्पन्न बनाउनुपर्ने छ । आगजनीबाट क्षति भएका संरचना उनले आफ्नो कार्यकालमा निर्माण गर्नुपर्ने छ । अहिले प्रहरी कर्मचारी अस्थायी संरचनामा बस्न बाध्य भएका छन् । 

प्रहरीमा कार्की कडा स्वभावका कमान्डर भनेर चिनिन्छन् । मातहतका प्रहरी कर्मचारीले गर्ने ‘पावर एक्सरसाइज’लाई नियन्त्रण गर्नु उनलाई अर्को चुनौती छ । प्रहरीमा भनसुन नगरीकन सरुवा बढुवा हुँदैन भन्ने बढ्दै गएको छ । अनुमानयोग्य सरुवा र बढुवाको सिस्टम बसाउनुपर्ने चुनौती पनि उनका सामु देखिन्छ ।

यसैमा पूर्वएआईजी पाल थप्छन्, ‘आन्तरिक चुनौती धेरै छन्, परिपक्व निर्णय लिएर ती चुनौतीहरू चिर्न सक्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप