बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युरो २०२८ को उद्घाटन खेल कार्डिफमा, सेमिफाइनल र फाइनल वेम्बलीमा

बिहीबार, २७ कात्तिक २०८२, ०९ : ३४
बिहीबार, २७ कात्तिक २०८२

सारांश

  • युरो २०२८ फुटबलको उद्घाटन खेल वेल्सको कार्डिफमा हुने भएको छ, सेमिफाइनल र फाइनल लन्डनको वेम्बली स्टेडियममा हुनेछ।
  • प्रतियोगिता इङ्ग्ल्यान्ड, स्कटल्यान्ड, वेल्स र गणतन्त्र आयरल्यान्डमा आयोजना हुनेछ, जसमा उत्तरी आयरल्यान्ड आर्थिक अभावका कारण बाहिरिएको छ।
  • आयोजक राष्ट्रहरूले छनोट हुनुपर्नेछ, तर छनोट भएमा समूह चरणका खेलहरू आफ्नै मैदानमा खेल्न पाउनेछन्।

लण्डन । युरो २०२८ फुटबल प्रतियोगिताको उद्घाटन खेल वेल्सको कार्डिफमा हुने भएको छ भने सेमिफाइनल र फाइनल लन्डनको वेम्बली स्टेडियममा हुने तालिका छ।

२४ टिम सहभागी हुने यो प्रतियोगिता इङ्ग्ल्यान्ड, स्कटल्यान्ड, वेल्स र गणतन्त्र आयरल्यान्ड गरी चार आयोजक राष्ट्रका नौ स्थानमा आयोजना गरिनेछ। उत्तरी आयरल्यान्ड पनि आयोजक राष्ट्रका रूपमा रहने तयारी थियो, तर आर्थिक अभावका कारण बेलफास्टको कासेमेन्ट पार्कलाई भेन्युको सूचीबाट हटाइएको छ।

बुधबार लन्डनमा प्रतियोगिताको औपचारिक सुरुवातसँगै वेल्सको राजधानी कार्डिफमा पहिलो खेल खेलाउने यूईएफएको निर्णय पुष्टि भएको हो। फुटबल एसोसिएसन अफ वेल्सका प्रमुख कार्यकारी नोएल मुनीले भने, ‘यो पहिलो पटक हुनेछ कि ‘द रेड वाल’ (वेल्सका समर्थकहरू) ले आफ्नो देशको भूमिमा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव गर्नेछन्। यो साँच्चै ऐतिहासिक अवसर हो जसले समुदायहरूलाई एकताबद्ध गर्नेछ, भविष्यका पुस्ताहरूलाई प्रेरणा दिनेछ र विश्व मञ्चमा वेल्श फुटबल र संस्कृतिको उत्कृष्ट प्रदर्शन गर्नेछ।’

यसअघिका युरोपियन च्याम्पियनसिपहरू भन्दा फरक, आयोजक राष्ट्रहरूले २०२८ को प्रतियोगिताका लागि छनोट हुनुपर्नेछ। यदि उनीहरू सिधै छनोट भएमा भने, उनीहरूले समूह चरणका खेलहरू आफ्नै मैदानमा खेल्न पाउनेछन्।

इङ्ग्ल्यान्डका पाँच स्टेडियमहरू प्रयोग हुनेछन्, जसमा म्यानचेस्टर सिटीको इतिहाद स्टेडियम, टोटनह्याम हटस्पर स्टेडियम, भिल्ला पार्क, एभर्टनको हिल डिकिन्सन स्टेडियम र न्युक्यासलको सेन्ट जेम्स पार्क समावेश छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप