बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
ढिलासुस्ती

८ वर्षमा बल्ल ६२ किलोमिटर हुलाकी सडक, २३.५ किलोमिटर अझै अलपत्र

धुलो र हिलोमा कहिलेसम्म पिल्सिने कञ्चनपुरवासी ?
बिहीबार, २७ कात्तिक २०८२, १२ : ००
बिहीबार, २७ कात्तिक २०८२

सारांश

  • कञ्चनपुरको बेलौरी नगरपालिकामा हुलाकी सडक निर्माणमा ढिलाइ हुँदा स्थानीय आक्रोशित छन् र वडा अध्यक्षलाई गुनासो गर्छन्।
  • सडक निर्माणको जिम्मा लिएका ठेकेदारको ढिलासुस्ती र सरकारी निकायको बेवास्ताका कारण योजना अलपत्र परेको छ, जसले स्थानीयको जनजीवन कष्टकर बनाएको छ।
  • स्थानीय जनप्रतिनिधिले पटक-पटक केन्द्र सरकारलाई पत्राचार र दबाब दिँदा पनि सुनुवाइ नभएको गुनासो छ, जसले गर्दा सडक निर्माणको काम अझै अनिश्चित छ।

धनगढी । ‘अध्यक्षज्यू, हाम्रो बाटो कहिले बन्छ ?’ कञ्चनपुरको बेलौरी नगरपालिका–८ का वडा अध्यक्ष विषराम रानाका लागि यो प्रश्न सामना गर्नु दैनिकीजस्तै बनिसकेको छ ।

आठ वर्षअघि सुरु भएको हुलाकी सडक निर्माणको काम अहिलेसम्म पूरा नहुँदा स्थानीय आक्रोशित बनेका छन् । हिउँदमा उड्ने धुलोको मुस्लो र वर्षामा देखिने हिलाम्मे सडकको दुर्दशाले उनीहरूलाई आजित बनाइसकेको छ । हरेक दिन यही सास्तीबाट गुज्रिरहेका स्थानीयले वडा अध्यक्ष रानासमक्ष गुनासो पोख्ने गरेका छन् ।

‘जनताले मलाई जनप्रतिनिधि मानेर आशा राख्नु स्वाभाविक हो, तर यो सडक निर्माणको अधिकार मसँग छैन,’ वडा अध्यक्ष रानाले भने, ‘उहाँहरूलाई यो सडक केन्द्र सरकारको मातहतमा छ, ठेकदार को हो भन्नेजस्ता प्राविधिक कुरा थाहा हुँदैन ।’ स्थानीयवासीले आफ्नो नजिकको जनप्रतिनिधिलाई नै स्थानीय तहमा भएका विकास निर्माणका कामबारे सोध्नु स्वाभाविक भएको उनको भनाइ छ । यद्यपि, हुलाकी सडक निर्माणमा भइरहेको ढिलाइबारे स्थानीयवासीले उठाएका प्रश्नको जबाफ दिन आफूलाई कठिन हुने गरेको उनले बताए ।

कञ्चनपुरको दक्षिणी भेगलाई देशको आर्थिक मूलधारसँग जोड्ने मेरुदण्ड मानिएको हुलाकी राजमार्ग निर्माणमा अस्वाभाविक ढिलासुस्ती भएको वडा अध्यक्ष रानाले प्रस्ट पारे । २०७३ फागुनमा कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित डोकेबजारदेखि बेदकोटको दैजीसम्मको ६२ किलोमिटर सडक निर्माणको सम्झौता हुँदा स्थानीयमा विकासको जुन लहर छाएको थियो, त्यो अहिले निराशामा परिणत भएको छ ।

hulaki sadak 2

निर्माण कम्पनीहरूको चरम ढिलासुस्ती र सम्बन्धित सरकारी निकायको निरीहताका कारण राष्ट्रिय गौरव भनिएको यो आयोजना अलपत्रजस्तै बनेको हो ।

सडक निर्माणलाई सहज बनाउन तीन वटा प्याकेजमा विभाजन गरिएको थियो । पहिलो प्याकेजअन्तर्गत डोकेबजारदेखि बेलौरीसम्मको २० किलोमिटर खण्डको निर्माण कार्य ३६ करोड ४७ लाख रुपैयाँको लागतमा शर्मा–राजेन्द्र जेभीले सम्पन्न गरिसकेको छ । पाँचौँ पटक म्याद थप भएपछि बल्लतल्ल सकिएको यो प्याकेजले केही राहत दिए पनि बाँकी दुई प्याकेजको काम भने अझै पूरा नहुँदा स्थानीय अहिले हिउँदयामको धुलोसँग लडिरहेका छन् ।

दोस्रो प्याकेजअन्तर्गत बेलौरीदेखि बेलडाँडीसम्मको २० किलोमिटर सडक निर्माणको जिम्मा ४१ करोड ४१ लाखमा बाबा हंस–सिद्धीसाई जेभीले पाएको थियो । आठ वर्ष बितिसक्दा पनि आधा कामसमेत सकिएको छैन । हालसम्म साढे नौ किलोमिटर सडकमात्रै कालोपत्रे भएको छ । ठेकदार कम्पनीले हरेक पटक एक वर्षभित्र काम सक्ने खोक्रो आश्वासन दिँदै आएको छ । निर्माणस्थलमा कामको गति कछुवाको चालजस्तै छ ।

यही प्याकेजअन्तर्गत पर्ने पचुँइ क्षेत्रमा भारतीय सीमा सुरक्षा बलले अवरोध सिर्जना गरेको छ । भारतीय पक्षले उक्त भूभाग आफ्नो भूमिमा पर्ने दाबी गर्दै निर्माण कार्यमा अवरोध पुर्‍याउँदा समस्या थप बल्झिएको छ ।

त्यस्तै, तेस्रो तथा अन्तिम प्याकेजअन्तर्गत बेलडाँडीदेखि दैजीसम्मको २२ किलोमिटर सडकको हालत पनि उस्तै छ । यहाँ पनि हालसम्म साढे नौ किलोमिटरमात्रै कालोपत्रे भएको छ । हुलाकी राजमार्ग योजना कार्यालय, धनगढीका अनुसार दोस्रो र तेस्रो प्याकेजको कुल ४२ किलोमिटरमध्ये २३.५ किलोमिटर सडक कालोपत्रे गर्न अझै बाँकी छ । आयोजनाको म्याद छैटौँ पटक थप गर्दासमेत कामले गति लिन नसक्नुले निर्माण व्यवसायीको लापर्बाही र सरकारी अनुगमनको असफलता मानिएको स्थानीयहरूको भनाइ छ ।

अधुरो सडकले स्थानीयको जनजीवनलाई कष्टकर बनाएको छ । ‘हिउँदमा धुलोले गर्दा घरको झ्याल–ढोका बन्द गरेर बस्नुपर्छ । खानामा समेत धुलो मिसिन्छ । बालबालिका र वृद्धवृद्धालाई खोकी र दमको समस्याले सताएको छ,’ बेलौरी–८ का स्थानीय किशन रानाले आफ्नो पीडा सुनाए, ‘वर्षामा त झन् बिजोग हुन्छ । हिलोले सडक तालजस्तै बन्छ । बिरामी पर्दा एम्बुलेन्स बोलाउन पनि डर लाग्छ । बिच बाटोमै फस्छ कि भन्ने चिन्ता हुन्छ ।’

यो सडक हरेक चुनावमा नेताहरूका लागि भोट माग्ने प्रमुख एजेन्डा बन्ने गरेको छ । उम्मेदवारहरूले सडक निर्माणलाई आफ्नो पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउँछन्, तर चुनाव जितेर केन्द्र र प्रदेशमा पुगेपछि उनीहरूले आफ्नो बाचा बिर्सिने गरेको वडा अध्यक्ष विषराम रानाको अनुभव छ ।

hulaki sadak 4

‘हामीले स्थानीय तहबाट प्रदेश र केन्द्र सरकारलाई धेरै पटक पत्राचार गर्‍यौँ, दबाब दियौँ, तर हाम्रो आवाज कसैले सुनेन,’ उनले भने ।

बेलौरी नगरपालिका–७ का वडा अध्यक्ष प्रकाश श्रेष्ठको अनुभव पनि फरक छैन । उनलाई पनि स्थानीयले सडक छिटो बनाउन विषरामलाई जस्तै नियमित गुनासो पोख्छन् । सडक नहुँदा किसानले उत्पादन गरेका कृषिउपजलाई धनगढी, महेन्द्रनगरका बजारसम्म पुर्‍याउन कठिनाइ छ । स्थानीयलाई आवतजावतमा निकै सास्ती छ ।

व्यापार गर्ने पसलेहरूले सडक समयमै नबन्दा समस्या झेल्नुपरेको छ ।  सडक बने कञ्चनपुरको बेलौरी नगरपालिकामात्र नभई बेलडाँडी गाउँपालिका, वेदकोट नगरपालिकाका बासिन्दालाई प्रत्यक्षरूपमा सुविधा हुने देखिन्छ ।

लामो समयदेखि जिल्लामा विभिन्न प्याकेजमा निर्माणाधीन अवस्थामा रहेको यो सडकको काम कहिले पूरा हुने हो ? यो त्यहाँका स्थानीयको वर्षौंदेखिको प्रश्न हो । अहिले जेनजी समूहले पनि यो मुद्दालाई सम्बन्धित निकाय पुर्‍याउन उठाइरहेको वडा अध्यक्ष विषराम रानाले बताए ।

यता कैलालीमा पनि हुलाकी सडक निर्माण भएता पनि सडक स्तोरोन्नतिको काम भने अधुरै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप