सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
राजनीतिक दल

तीन दिनको प्रयासले पनि मिल्न सकेन कांग्रेसमा महाधिवेशन विवाद

आइतबार, ३० कात्तिक २०८२, १९ : ३०
आइतबार, ३० कात्तिक २०८२

सारांश

  • नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महाधिवेशनको मिति र निर्वाचनबारे सहमति जुट्न सकेन।
  • कार्यदल बनाउने प्रयास असफल भएपछि, नेताहरूबीच आ-आफ्ना प्रस्तावहरू प्रस्तुत भए।
  • सभापति देउवाको निर्देशनपछि, कार्यवाहक सभापति खड्काले विवाद मिलाउन प्रयास जारी राखेका छन्।

काठमाडौँ । नेपाली कांग्रेसभित्र देखिएको महाधिवेशन कहिले गर्ने भन्ने विवाद तीन दिन केन्द्रीय समिति रोकेर प्रयास गर्दा पनि मिल्न सकेको छैन । गत असोज २८ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको मुख्य एजेण्डा पार्टीको १५ औँ महाधिवेशन र सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचन हो । केन्द्रीय समितिमा दुवै विषयमा अहिलेसम्म सहमति जुटेको छैन । 

बिहीबारसम्म केन्द्रीय समितिमा सदस्य र पदाधिकारीले धारणा राख्ने क्रम सकिएको थियो । त्यसपछि महाधिवेशन र निर्वाचनबारे सहमति जुटाउने भन्दै कात्तिक २९ गते शनिबार दिउँसो २ बजे बस्नेगरी बोलाइयो । कात्तिक २८ गते धोबीघाटमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा विवाद मिलाउनका लागि कार्यदल बनाउने प्रयास भएपनि तीनथरी तर्क आएपछि त्यत्तिकै भयो । 

सुरुमा पार्टीभित्रको इतर समूहका नेता डा. शेखर कोइरालाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सदस्य रहेको कार्यदल बनाउने प्रस्ताव गरे । त्यसमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले त्यो कार्यदलमा सहमहामन्त्री महेन्द्र यादवलाई पनि थप्न प्रस्ताव गरिन् । त्यो प्रस्तावमा सहमहामन्त्रीहरू किशोरसिंह राठोर, जीवन परियार र बद्री पाण्डे, कार्यसम्पादन समिति सदस्यहरू बलबहादुर केसी, जीवनबहादुर शाही, रमेश रिजाल सहितले समर्थन गरे । त्यसपछि धारणा राख्न उठेका सहमहामन्त्री यादवले कार्यदलमा विमलेन्द्र निधि, प्रकाशमान सिंह र विजयकुमार गच्छदारलाई पनि थप्न आग्रह गरे । 

त्यसपछि धारणा राखेका महामन्त्री गगन थापाले कार्यवाहक सभापति खड्काले आवश्यक परेकालाई बोलाएर छलफल गरी सहमति जुटाउने प्रस्ताव राखे । बैठक कार्यवाहक सभापति खड्कालाई तजबिजी अधिकार दिने भन्दै अनिर्णीत भएर सकियो । 

गत असोज २८ गते केन्द्रीय कार्यसमिति बैठक सुरु गर्दै उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर उपचारका लागि सिंगापुर गएका देउवा शुक्रबार फर्किएपछि परिस्थिति केही बदलियो । 

शनिबार बिहानै खड्काले सभापति देउवालाई भेटेर केन्द्रीय समितिमा भएका घटनाक्रमबारे ब्रिफिङ गरे । त्यसपछि देउवाले प्रवक्ता डा. प्रकाशशरण महत, नेताहरू बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की र एनपी साउदलाई भेटे । भेटमा सहभागी प्रवक्ता डा. महतले आफूहरूले सभापतिलाई भेटेर वर्तमान परिस्थितिबारे ब्रिफिङ गरेको जानकारी दिए ।

‘सभापतिजी फर्किनु भएपछि शनिबार उहाँसँग मलगायत अन्य केही नेताहरूको संयुक्त कुराकानी भयो । भेटका क्रममा सभापतिजीले निर्वाचन आइरहेको छ । एकजुट भएर अगाडि बढ्नुस् भन्नुभयो,’ देउवासँगको भेटबारे जानकारी दिँदै प्रवक्ता डा. महतले रातोपाटीसँग भने, ‘महाधिवेशनको विषय टुंग्याउन कार्यवाहकसहितको जिम्मेवारी दिइएको छ । सकेसम्म सहमतिमा टुंग्याउनुस् । सल्लाह गर्नुस् भन्नुभयो ।’

डा. महतले आफूहरूले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन अगाडि महाधिवेशन भए पार्टीभित्र जित्ने र हार्नेको विवादले निर्वाचनलाई असर गर्ने भएकाले चैत या वैशाखमा महाधिवेशन गर्दा उपयुक्त हुने सुझाव दिएको पनि जानकारी दिए । ‘हामीले निर्वाचन अगाडि क्रियाशील सदस्यताको विषय टुंग्याऊँ । महाधिवेशन पनि निर्वाचन अगाडि गर्‍यो भने महाधिवेशनमा देखिएको विवादले निर्वाचनलाई असर गर्छ । त्यसैले महाधिवेशन निर्वाचनपछि चैत वा वैशाखमा गर्दा उपयुक्त हुन्छ भन्ने सुझाव दिएका छौँ,’ प्रवक्ता महतले भने, ‘जवाफमा उहाँले मैले कार्यवाहकको जिम्मेवारी दिएको छुँ । मिलाएर गर्नुस् भन्नुभयो ।’

देउवासँग भेटेपछि कार्यवाहक सभापति खड्काले शनिबार नै ललितपुरस्थित हिमालय होटलमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री महेन्द्र यादव, पूर्वपदाधिकारीहरू कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, रमेश लेखक, उपसभापति धनराज गुरुङसँग भेटेर विवाद मिलाउने प्रयास गरेका थिए, तर मिलेन । 

आइतबार पनि खड्काले केन्द्रीय सदस्य, पूर्वपदाधिकारी र पदाधिकारीलाई अनौपचारिक रूपमा भेटिरहेपनि विवाद मिलेको छैन । 

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अहिलेसम्म महाधिवेशनका सन्दर्भमा देखिएको विवाद नमिलेको र सोमबार बैठक बस्ने बेलासम्म एउटा सहमतिको प्रस्ताव पेस गर्ने प्रयास कार्यवाहक सभापति खड्काले गरिरहेको जानकारी दिए । 

‘आइतबार बिहानैदेखि कार्यवाहक सभापतिज्यूले केन्द्रीय सदस्य तथा पूर्वपदाधिकारीसँग समूह–समूहमा भेटिरहनुभएको छ । विवाद ठ्याक्कै मिलिसकेको छैन,’ विश्वकर्माले रातोपाटीसँग भने, ‘भोलि (सोमबार)बैठक बस्ने बेलासम्म सहमतिको एउटा प्रस्ताव आउँछ भन्नेछ ।’

कांग्रेसमा महाधिवेशनका सन्दर्भमा कात्तिक १९ गतेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री थापाले पुस १६ देखि १९ गतेसम्म १५ औँ महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका थिए । थापाको महाधिवशेनसम्बन्धी कार्यतालिकालाई काउन्टर दिँदै त्यसै दिन बैठकमा सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए । 

थापाको प्रस्तावलाई इतर समूहले समर्थन गरेको छ भने यादवको प्रस्तावलाई संस्थापन समूहले समर्थन गरेको छ । यही विवाद मिल्न नसक्दा कांग्रेस अनिर्णीत बन्दै आएको छ । 

महामन्त्री थापा निकट केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले महाधिवेशनसम्बन्धी विवाद मिल्न नसकेको बताए । ‘विवाद मिलेको छैन । मिलाउनका लागि प्रयास भइरहेको छ । हाम्रो अडान पुसभित्र नियमित महाधिवेशन वा विशेष महाधिवेशन हो,’ रसाइलीले रातोपाटीसँग भने, ‘संस्थापनले भनेजस्तो निर्वाचन पछाडि महाधिवेशन गर्ने प्रस्ताव हामीलाई मान्य छैन । त्यसबारे हामीसँग केही छलफल पनि भएको छैन ।’ 

मुख्यगरी कांग्रेसमा पूर्व सात पदाधिकारीले निर्वाचन अगाडि महाधिवेशन गर्न हुन्न भनिरहेका छन् । पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र डा. शशांक कोइराला तथा पार्टी प्रवक्ता डा. महतले निर्वाचन अगाडि महाधिवेशन गर्दा पार्टीभित्रको जित्ने र हार्नेबीचको विवादले निर्वाचनमा पार्टीलाई असर गर्ने बताउँदै आएका छन् । 

पूर्वउपसभापति निधिले आफूहरूको निर्वाचनपछि महाधिवेशन गर्नुपर्छ भन्ने अडान यथावत् रहेको बताए । ‘निर्वाचन अगाडि पार्टीको महाधिवेशन गर्ने हो भने जित्ने र हार्नेबीच विवाद हुन्छ । जसले निर्वाचनमा पार्टीको नतिजामा असर पुर्‍याउँछ,’ निधिले रातोपाटीसँग भने, ‘त्यसैले अहिले निर्वाचनको तयारीमा सम्पूर्ण पार्टी लागौँ । निर्वाचनपछि महाधिवेशन गरौँ भन्ने हाम्रो भनाइ रहँदै आएको छ । त्यसमा हामी अडिग छौँ ।’

विवाद समाधान नभएपछि शनिबार सूचना टाँसेर स्थगित गरिएको केन्द्रीय कार्यसमिति बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप