भाटभटेनीका सञ्चालक गुरुङ भन्छन्– ‘हरेक पीडालाई ‘स्वीट पेन’ को रूपमा लिएर अघि बढ्छु’
सारांश
- भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले पीडालाई 'स्वीट पेन' मानेर अघि बढ्ने बताए।
- उनले कर छलीको आरोप र जेनजी आन्दोलनमा भएको क्षतिको अनुभव सुनाए, तर विचलित नभएको बताए।
- गुरुङले सामाजिक कार्यमा सहयोग गरेको र देश विकासमा युवा व्यवसायीलाई लाग्न आग्रह गरे।
काठमाडौँ । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले हरेक पीडालाई ‘स्वीट पेन’ (मीठो दुखाइ) को रूपमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । सोमबार आन्तरिक राजश्व विभागले राष्ट्रिय कर दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले जेनजी आन्दोलनमा भएको आगलागीको घटनासम्मको तितो अनुभव सुनाउँदै सो कुरा बताएका हुन् । गुरुङले आफूलाई राज्यले लगाएको कर छलीको आरोपदेखि हालैको आन्दोलनमा ठुलो क्षति पुगेको बताए।
‘जब २०५४ सालमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू भयो, देश धनी हुन्छ र म धनी देशको नागरिक हुन्छु भनेर म धेरै खुसी थिएँ,’ उनले भने, ‘तर पछि मलाई नै नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छलेको आरोप लाग्यो।’
गुरुङले आफूले सामान आपूर्ति गर्ने कम्पनीबाट बिल लिएर खरिद गरेको र त्यसको भ्याट तथा कर राज्यलाई बुझाएको तर आपूर्तिकर्ताले कर नतिर्दा त्यसको दोष आफूले बोक्नुपरेको बताए । उनले यसलाई नेपाली उखानसँग जोड्दै भने, ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो जस्तो भयो । गल्ती अरूले गर्यो तर सजाय हामीले भोग्यौँ।’
त्यही घटनापछि आफू विचलित नभई झन् बढी मिहिनेतका साथ काम गरेको बताउँदै गुरुङले त्यसबेला आफ्नो वार्षिक कारोबार २ अर्ब ७४ करोड रहेकोमा आज ३३ अर्ब नाघेको तथ्याङ्क प्रस्तुत गरे ।
हालै ‘जेनजी’ आन्दोलनको क्रममा भाटभटेनीमा भएको आगलागीको घटनाले आफूलाई अर्को ठुलो चोट दिएको उनले बताए । दसैँ –तिहारका लागि ठुलो परिमाणमा सामान भण्डारण गरिए पनि नियमित अवधिको मात्रै बीमा भएकाले ठुलो क्षति व्यहोर्नुपरेको उनले स्वीकारे । यद्यपि, यो घटनाबाट पनि आफू पछि नहट्ने उनले दृढता व्यक्त गरे । ‘मसँग हजारौँ कर्मचारी, बैंक, सप्लायर र यो देशप्रतिको जिम्मेवारी छ, म अगाडि बढ्छु’ उनले भने ।
गुरुङले आफूले कर तिरे पछिको नाफाबाट डा.भगवान कोइरालाको बाल अस्पताल, शिक्षण अस्पताल र दुर्गमका बालबालिकालाई डाक्टर पढाउने जस्ता सामाजिक काममा सहयोग गरेको तर केहीले आफूलाई राजनीतिक पार्टीलाई भवन बनाइदिएको भनेर गलत प्रचार गरेकोमा दुःख व्यक्त गरे ।
उनले देशमा ठुलो सम्भावना रहेको भन्दै युवा र सबै व्यवसायीलाई सानो मन नगरी जिम्मेवार भएर देश विकासमा लाग्न आग्रह गरे । उनको यो भावनात्मक र प्रेरणादायी मन्तव्यले कार्यक्रममा उपस्थित सबैलाई स्तब्ध बनाएको थियो । गुरुङ सरकारलाई सबैभन्दा बढी कर तिर्ने उद्योगपतिमा पर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण