पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा
सारांश
- पशुपतिनाथ मन्दिरमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बालाचतुर्दशी पर्व मनाइँदैछ।
- भक्तजनहरूले पितृको नाममा बत्ती बाल्ने र शतबीज छर्ने गर्दछन्, साथै रातभर जाग्राम बस्ने चलन छ।
- पर्वको अवसरमा पशुपतिनाथ मन्दिर र देशभरका शिवमन्दिरमा भक्तजनको ठूलो भीड लाग्ने गर्दछ।
काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ आज मेला लाग्दैछ ।
पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लर्को लाग्छ । त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिन्छ । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् ।
यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लाग्छ । बालाचतुर्दशीको अघिल्लो रात मङ्गलबार दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बस्छन् । मङ्गलबार रातभर दीपदान गरी बसेका भक्तजनले बुधबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् ।
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बाला चतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन् । यसरी आएका श्रद्धालु भक्तजनको मङ्गलबार बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्ने गर्छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्ने गरेको हो । जाडोको मौसम भएकाले पाललगायत व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । ।
आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।
शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहँु, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गरिन्छ ।
धर्मशास्त्रविद् प्रा तोयराज नेपाल शतबीज भन्नाले हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिए अनुसार धानका सय गेडा चढाउनुपर्ने बताउँछनु । “भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्य क्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ”, उनले भने ।
बागमती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती छ ।
यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि छ । सो कथाअनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको चिउरामा परेको थियो । सो गिदीसँगै चिउरा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए ।
त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एक जना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्पmत उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ ।
आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिनुभएको थियो । मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो ।
माता, पिता दिवङ्गत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज रोपण गर्न नहुने धर्मशास्त्रविद् नेपालले सुनाउनुभयो । धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजाआजा त परको कुरा नामसमेत लिनु नहुने उल्लेख गरिएको छ । यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण