बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लहानका चार हजार घरपरिवार अझै शौचालयविहीन

बुधबार, ०३ मङ्सिर २०८२, ०१ : ०३
बुधबार, ०३ मङ्सिर २०८२

सारांश

  • लहान नगरपालिकाले दिगो सरसफाइ प्रवर्द्धनका लागि 'घर–घरको शान, स्वच्छता अभियान–२०८२' सुरु गरेको छ।
  • सर्वेक्षणअनुसार लहानमा करिब १७ प्रतिशत घरपरिवारमा शौचालय छैन, जसलाई नगर प्रमुखले चिन्ताजनक भनेका छन्।
  • नगरपालिकाले दलित, भूमिहीन, गरिब र बाढी प्रभावित बस्तीमा स्वच्छताको समस्या रहेको जनाएको छ।

सिरहा । जिल्लाको लहान नगरपालिकाले दिगो सरसफाइ प्रवर्द्धनका लागि ‘घर–घरको शान, स्वच्छता अभियान–२०८२’ सुरु गर्दै नगरभित्र अझै ठुलो सङ्ख्यामा शौचालयविहीन घरपरिवार रहेको तथ्य सार्वजनिक गरेको छ । 

नगरपालिकाको पछिल्लो सर्वेक्षणअनुसार २४ हजार सात सय घरपरिवारमध्ये झन्डै १७ प्रतिशत अर्थात् चार हजार दुई सय घरमा आजसम्म पनि शौचालय छैन । नगर प्रमुख महेशप्रसाद चौधरीले मंगलबार पत्रकार सम्मेलनमार्फत तथ्याङ्क सार्वजनिक गर्दै स्वच्छता चुनौती गम्भीर बन्दै गएको उल्लेख गरे । 

उनले भने, “२०१७ मै खुला दिसामुक्त घोषणा भइसकेको नगरमा आज पनि यति धेरै घरपरिवार शौचालयविहीन हुनु चिन्ताजनक अवस्था हो । अब घर–घर पुगेर वास्तविक अवस्था परिवर्तन गर्ने बेला आएको छ ।”

दलित, भूमिहीन, गरिब तथा बाढी–जोखिमयुक्त बस्तीमा समस्या बढी देखिएको छ । दिसाजन्य लेदो प्रशोधन केन्द्रको अभाव, सुरक्षित पानीको कमी तथा मर्मत–सम्भार कमजोरीले स्वच्छता स्तर कमजोर बनेको नगरपालिकाको प्रारम्भिक विश्लेषणले देखाउँछ । नगरप्रमुख चौधरीले भूमिहीन सुकुम्वासीका लागि उपयुक्त स्थान पहिचान गरी स्थानान्तरण प्रक्रिया अघि बढाइने पनि बताए । 

नगरपालिकाले जनप्रतिनिधि, सामाजिक परिचालक, समुदायका संस्था, विद्यालय तथा युवा समूहको सहकार्यमा तीन महिनासम्म घर–घरमै पुगेर प्रत्यक्ष अनुगमन गर्ने तयारी गरेको छ । 

नगरप्रमुख चौधरीले सबै नागरिकलाई अभियानमा सहभागी हुन आग्रह गर्दै भन्नुभयो,“शौचालय हुनु केवल सुविधा मात्र होइन, स्वास्थ्य र सम्मान दुवै हो । स्वच्छता सुधार नगरवासीकै सक्रिय सहभागिताबाट सम्भव हुन्छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप