बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बागमती प्रदेश सरकारले बनायो गोलघर र लज, स्थानीय तहलाई हस्तान्तरण

आम्दानीको ७० प्रतिशत पालिकालाई
बुधबार, ०३ मङ्सिर २०८२, ११ : ३३
बुधबार, ०३ मङ्सिर २०८२

सारांश

  • बागमती प्रदेश सरकारले दोलखाको शैलुङ गोलघर र गेस्ट हाउस शैलुङ गाउँपालिकालाई हस्तान्तरण गरेको छ।
  • हस्तान्तरणपछि यी संरचनाबाट हुने आम्दानीको ७० प्रतिशत गाउँपालिका र ३० प्रतिशत प्रदेश सरकारले लिनेछन्।
  • मन्त्री श्रेष्ठले स्थानीय तहलाई हस्तान्तरण नगर्दा संरचना प्रयोगविहीन हुने र संरक्षणको अभावमा जीर्ण बन्ने बताए।

हेटौँडा । बागमती प्रदेश सरकारले निर्माण गरेको दोलखाको शैलुङ गोलघर र गेस्ट हाउस स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले निर्माण गरेको शैलुङ गोलघर र कम्युनिटी लजको पर्यटकीय पूर्वाधार शैलुङ गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

शैलुङ गाउँपालिका वडा नम्बर–१ मा निर्मित ‘शैलुङ गोलघर’ र वडा नम्बर–८ मा बनेको ‘शैलुङ कम्युनिटी लज’ मन्त्रालयले औपचारिक रूपमा शैलुङ गाउँपालिकाका अध्यक्ष रिमलबाबु श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।

पर्यटन विकास आयोजना, हेटौँडाले अघिल्ला आर्थिक वर्षमा संरचनाहरू निर्माण गरी ‘पर्यटन पूर्वाधार हस्तान्तरण कार्यविधि, २०८१’ बमोजिम गाउँपालिकाले नै संरक्षण, सञ्चालन तथा व्यवस्थापन गर्ने गरी हस्तान्तरण गरिएको मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले जानकारी दिए ।

पूर्वाधार हस्तान्तरणसँगै मन्त्रालय र गाउँपालिकाबिच प्रतिफल साझेदारी लिनेगरी सम्झौता समेत भएको छ । सम्झौता पत्रमा पर्यटन विकास आयोजनाका निमित्त प्रमुख रोशन श्रीवास्तव र गाउँपालिकाका तर्फबाट अध्यक्ष श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार, यी संरचनाहरूबाट हुने आम्दानीको ७० प्रतिशत गाउँपालिकाले र ३० प्रतिशत प्रदेश सरकारले प्राप्त गर्नेछ ।

सम्झौतापछि बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले प्रदेश सरकारले निर्माण गरेका संरचनाहरू स्थानीय तहलाई हस्तान्तरण नगर्दा प्रयोगविहीन भइरहेको बताए । प्रयोगविहीन संरचनाहरू संरक्षण अभावमा जिर्ण बन्ने र अराजक तत्त्वबाट तोडफोड हुने जोखिम बढेको उनले बताए । आफू मन्त्री भएदेखि नै हस्तान्तरण प्रक्रियालाई प्राथमिकता दिएको उनको भनाई छ ।

‘हामीले गरेको लगानीको प्रतिफल सुनिश्चित गर्न र संरचनाहरूको सही सदुपयोगका लागि स्थानीय तहलाई नै जिम्मेवार बनाउन आवश्यक छ’ उनले भने– ‘यो हस्तान्तरण प्रक्रियाको पहिलो चरण हो र आगामी मङ्सिर ७ गते नुवाकोटको ककनीमा निर्मित भ्यूटावर तथा बहुउद्देश्यीय हल पनि सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने योजना रहेको छ । नुवाकोटको चिम्टेश्वरमा बनेको भ्यूटावर पनि हस्तान्तरणको प्रक्रियामा रहेको छ ।’

मन्त्रालयका सचिव सुवेदीले लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेका पर्यटकीय पूर्वाधारबाट प्रतिफल प्राप्त गर्ने उद्देश्यले कार्यविधि बनाएरै हस्तान्तरण थालिएको बताए । उनकाअनुसार, २०७६ सालदेखि बहुवर्षीय योजनाका रूपमा सुरु भएका सो आयोजनाहरूको हालको अवस्था मूल्याङ्कन गरी आवश्यक मर्मत सम्भारपछि हस्तान्तरण गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप