सचिवालयको ‘अदृश्य’ भूमिकाले मधेस प्रदेश सभा अस्तव्यस्त
सारांश
- मधेस प्रदेश सभाको बैठकमा सभामुखविरुद्धको प्रस्तावमा छलफल हुने भनिए पनि बैठक सुरु हुन सकेन।
- सचिवालयका नेतृत्वकर्ताहरूको अनुपस्थितिका कारण बैठक अमान्यजस्तै बन्न पुग्यो, जसले गर्दा कार्यसूची रोकियो।
- सदन सञ्चालन गर्ने अधिकारीहरू नहुँदा सत्ता र विपक्षी दुवै पक्षका सांसदहरूमा असन्तुष्टि देखियो।
जनकपुरधाम । मधेस प्रदेश सभामा बुधबार दिउँसो १ बजे सुरु हुने भनिएको बैठक सचिवालय नेतृत्वको एकपछि अर्को अनुपस्थितिका कारण अमान्यजस्तै बन्न पुगेको छ ।
सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता भएको आचरण–सम्बन्धी प्रस्तावमाथि आज नै छलफल हुने अपेक्षामा सांसदहरू प्रदेशसभामा भेला भए पनि बैठक सञ्चालनमा जिम्मेवार मानिने अधिकारीहरू नै नदेखिएपछि कार्यसूची रोकिएको हो ।
प्रदेश सभा सचिव वासुप्रसाद कोइराला बिदामा छन् भने उनको अनुपस्थितिमा सदन चलाउने जिम्मेवारी पाएका निमित्त सचिव होमप्रसाद पहाडी पनि कार्यालयमा उपस्थित छैनन् । प्रवक्ता तथा उपसचिव विपिन ठाकुरसमेत कार्यालयमा देखिएका छैनन् ।
सदनमा उपस्थित एक सांसदले भने, ‘सदस्यहरू सबै आएका छन् । तर, सदन सञ्चालन गर्ने अधिकारी कता छन्, कसैलाई थाहा छैन ।’
बिजुली अवरोध भइरहेकाले वैकल्पिक लाइनका लागि जेनेरेटर ल्याइएको थियो । तर, केही समयमै विद्युत् आपूर्ति सामान्य भएपछि डिजेल जेनरेटर फिर्ता पठाइएको थियो । प्राविधिक तयारी पूरा भए पनि सचिवालयको शून्यता नै बैठक सुरु नहुनुको मूल कारण बनेको छ ।
आजको बैठक सभामुख मण्डलविरुद्ध सात दलका ६४ जना सांसदले दर्ता गरेको पद अनुकूल आचरण नगरेको प्रस्तावमाथि केन्द्रित थियो ।
मंगलबार ३२ सांसदले उपसभामुख बबिता राउत ईशरलाई बैठक बोलाउन औपचारिक पत्र दिएका थिए । त्यसपछि उनले आज १ बजेका लागि बैठक आह्वान गरेकी थिइन् ।
तर, समयमा बैठक सुरु हुन नसक्दा सभामुखविरुद्धको प्रस्ताव फेरि अनिश्चिततामा फसेको छ ।प्रक्रिया अघि नबढ्दा सत्ता तथा विपक्षी दुवै पक्षका सांसदहरूमा असन्तुष्टि देखिएको छ । केही सांसदले यस्तो अवस्था आउनुमा प्रशासनिक लापरबाही वा योजनाबद्ध विलम्ब हुन सक्नेतर्फ आशङ्का व्यक्त गरेका छन् ।
यता सांसदहरू भने प्रदेश सभा सञ्चालनकाे प्रतीक्षामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण