शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

विद्यालय आउन ढिला हुँदा सय पटक उठबस, विद्यार्थीको मृत्यु

बिहीबार, ०४ मङ्सिर २०८२, १३ : ००
बिहीबार, ०४ मङ्सिर २०८२

सारांश

  • मुम्बईको विद्यालयमा ढिलो आएको भन्दै शिक्षकले दिएको सजायका कारण १३ वर्षीया छात्राको मृत्यु भएको आरोप छ।
  • छात्रालाई १०० पटक उठबस गर्न लगाएपछि स्वास्थ्य बिग्रिएको र उपचारका क्रममा जेजे अस्पतालमा मृत्यु भएको हो।
  • प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र विद्यालयमाथि छानबिन गर्न समिति गठन गरिएको छ।

नयाँ दिल्ली । मुम्बईको वसईमा १३ वर्षीया छात्राको मृत्युलाई लिएर निकै विवाद भइरहेको छ । ढिलो स्कुल आइपुगेको भन्दै १०० पटक उठबसको सजाय दिइएपछि ती छात्राको स्वास्थ्य बिग्रियो । यसैका कारण उनको मृत्यु भएको छात्राको परिवारको आरोप छ ।

विद्यालयकी एउटी महिला शिक्षिकाले ढिलो आइपुगेको भन्दै उनलाई सो सजाय दिएकी थिइन् । यसपछि सजाय पाएकी एक १३ वर्षीया बालिका अचानक बिरामी परिन् । गएको शुक्रबार राति मुम्बईको जेजे अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भयो ।

मृतक बालिका वसई पूर्वको सतिवली क्षेत्रको कुवरा पाडा परिसरमा रहेको एक विद्यालयमा छैठौं कक्षामा पढ्थिन् । यो विद्यालयमा आठ कक्षा सम्मको मात्रै पढाई हुन्छ । नोभेम्बर ८ को बिहान, केही विद्यार्थीहरू ढिलो स्कुल आइपुगे, जसमा यी विद्यार्थी पनि थिइन् । केही विद्यार्थीले आफ्नो स्कुल झोला काँधमा राखेर उठबस गरे । स्कुलबाट घर फर्केपछि बालिकाको स्वास्थ्य बिग्रियो ।

उनलाई तुरुन्तै उपचारको लागि वसईको आस्था अस्पतालमा भर्ना गरियो । स्वास्थ्यमा सुधार नआएपछि उनलाई अर्को अस्पतालमा लगियो । अवस्था झन् झन् बिग्रिएपछि उनलाई उपचारको लागि मुम्बईको जेजे अस्पतालमा ल्याइयो । शुक्रबार (नोभेम्बर १४)को राति करिब ११ बजे उपचारको क्रममा उनको मृत्यु भयो ।

के भन्छ प्रहरी ?

‘बालिकाका अभिभावकले नोभेम्बर ८ मा केही विद्यार्थीहरू ढिलो स्कुल आइपुगेको रिपोर्ट गरे, जसमा यी विद्यार्थी पनि थिइन् । विद्यालयमा जम्माजम्मी ५० जना विद्यार्थी थिए । शिक्षकले ढिलो आउनेलाई १०० पटक उठबस को सजाय दिए ।’ वसईको वालिव प्रहरी चौकीका वरिष्ठ प्रहरी निरीक्षक दिलीप घुगेले बीबीसी मराठीलाई भने । ‘छात्रा घर पुग्दा उनको खुट्टा दुखिरहेको थियो । परिवारले उनलाई नजिकैको अस्पताल लगे । त्यसपछि नोभेम्बर १० मा उनलाई जेजे अस्पतालमा भर्ना गरियो, जहाँ उनको उपचारको क्रममा मृत्यु भयो ।’ घुगेले भने ।

‘उठबसको सजायकै कारण उनको मृत्यु भएको छात्राको मातापिताको गुनासो छ । हामी यस विषयमा स्कूलमा अनुसन्धान गरिरहेका छौं ।’ वालिभ प्रहरीले यस घटनामा एडीआर (दुर्घटना मृत्यु रिपोर्ट) दर्ता गरेको छ । पोस्टमार्टम रिपोर्ट कुरिरहेको प्रहरीले भनेको छ । मेडिकल रिपोर्टमा छात्राको हेमोग्लोबिन स्तर केवल चार मात्र रहेको खुलासा भएको छ, जुन अत्यन्तै कम हो ।

स्कुल विरुद्ध छानबिन समिति गठन

स्कुलमाथि छानबिन गर्न एक समिति गठन गरिएको पालघरकी प्राथमिक शिक्षा अधिकृत सोनाली माटेकरले बीबीसी मराठीलाई बताइन् । ‘यस तरिकाले विद्यार्थीहरूलाई सजाय दिनु गलत हो । यसले शिक्षा अधिकार ऐनको उल्लङ्घन गर्दछ । बच्चाहरूलाई यसरी सजाय दिन सकिँदैन । अभिभावकहरू भन्छन् कि बालिकालाई उठबस गर्न लगाइएका कारण मृत्यु भएको हो । म मृत्युको कारण स्पष्ट पार्न सक्दिन, तर हामीले स्कुलमाथि अनुसन्धान सुरु गरेका छौं ।’उनले भनिन् । शिक्षा अधिकार ऐनको उल्लङ्घन गरेकोमा स्कुल विरुद्ध कारबाही गरिने र सम्बन्धित महिला शिक्षिकालाई पनि तुरुन्तै कारबाही गरिने पनि उनले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप