बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कोशी प्रदेश

२५ प्रतिशत बजेट कटौतीको निर्णय कार्यान्वयन नगर्न अर्थ समितिको निर्देशन

समितिका सदस्यले मासिक सुविधाको ३० प्रतिशत रकम पुनर्निर्माण कोषमा दिने
बिहीबार, ०४ मङ्सिर २०८२, १६ : १७
बिहीबार, ०४ मङ्सिर २०८२

सारांश

  • कोशी प्रदेश सरकारको २५ प्रतिशत बजेट कटौती गर्ने निर्णयलाई अर्थ समितिले हाल कार्यान्वयन नगर्न निर्देशन दिएको छ।
  • समितिले भदौमा भएको आन्दोलनबाट क्षति भएका संरचना पुनर्निर्माणका लागि सदस्यहरूको सुविधाबाट ३० प्रतिशत रकम योगदान गर्ने निर्णय गरेको छ।
  • कोशी प्रदेश सरकारले बाढीपहिरो र आन्दोलनबाट भएको क्षतिको पुनर्निर्माणका लागि बजेट व्यवस्थापन गर्नुपर्ने भएको छ।

विराटनगर । कोशी प्रदेश सभा अन्तर्गतको अर्थ समितिले विकास योजनामा २५ प्रतिशत बजेट कटौती गरेर पुनर्निर्माणमा लगाउने प्रदेश सरकारको निर्णय रोक्न निर्देशन दिएको छ । ‘आर्थिक वर्ष ०८२/०८३ का लागि विभिन्न योजनामा विनियोजित बजेटबाट २५ प्रतिशत बजेट कट्टा गर्ने प्रदेश सरकारको निर्णय हाललाई कार्यान्वयन नगर्ने,’ अर्थ समितिले गरेको निर्णयमा उल्लेख छ ।

कोशी प्रदेश सरकारले भने गत असोज २७ गतेको मन्त्रिपरिषद् बैठकबाट २५ प्रतिशत बजेट कटौती गर्ने र पुनर्निर्माणमा लगाउने निर्णय गरेको थियो । यो निर्णय कार्यान्वयन हुँदा प्रदेश सरकारलाई साढे ७ अर्ब रुपैयाँ बचत हुने आर्थिक मामिला तथा योजना मन्त्रालयका निमित्त सचिव सुशील बाँस्तोलाले बताएका थिए ।

यद्यपि केही दिन अगाडि बसेको अर्थ समितिको बैठकमा सांसदहरूले बजेट कटौती गर्ने निर्णयमा आपत्ति जनाउँदै मुख्यमन्त्री हिक्मतकुमार कार्की, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर र भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईसँग जबाफ माग गरेका थिए ।

सो सवाल–जबाफपछि अर्थ समितिले यो निर्णय गरेको समितिका सभापति विनोद वान्तवा राईले बताए । उनका अनुसार अर्थ समितिका सदस्यहरूले आफ्नो मासिक सुविधाको ३० प्रतिशत रकम पुनर्निर्माण कोषमा योगदान गर्ने निर्णयसमेत गरेको छ ।

‘भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाहरूको पुनर्निर्माणका लागि अर्थ समितिका ११ जना माननीय सदस्यहरूले आफ्नो मासिक सुविधाबाट ३० प्रतिशत रकम योगदान गर्ने,’ निर्णयमा उल्लेख छ ।

यस्तै प्रदेश अन्तर्गतका विभिन्न निकाय तथा कार्यालयको संरचना पुनर्निर्माण गर्न आवश्यक बजेट व्यवस्थापनका लागि कोशी प्रदेश सरकारलाई समितिले निर्देशन दिएको छ । यसका लागि आर्थिक वर्ष ०८२÷०८३ को बजेटबाट चालु प्रकृतिका खर्चहरू कटौती, रोक्का वा समर्पण गरी रकम जुटाउन निर्देशन दिइएको हो ।

समितिले टेण्डर प्रक्रियामा कम कबोल भई बचत भएको रकमलाई समेत पुनर्निर्माण कार्यमा प्रयोग गर्ने निर्णय समितिले गरेको छ ।

उता, अर्थ मन्त्रालय स्रोतका अनुसार प्रदेश सरकारको आय (राजस्व) घट्न सक्ने विश्लेषणको आधारमा पनि खर्च कटौतीको प्रतिशत निर्धारण गरेको थियो । ‘यो २५ प्रतिशत कटौती गर्दा करिब साढे सात अर्ब रुपैयाँ जति बचत हुने अनुमान छ,’ मन्त्रालयका निमित्त सचिव बाँस्तोलाले भने ।

असोज १८ र १९ गतेको अविरल वर्षाका कारण आएको बाढी–पहिरोबाट कोशी प्रदेश सरकारले बनाएका सडक, पूर्वाधार तथा खानेपानी आयोजना गरेर २ अर्ब ६ करोडभन्दा बढीको क्षति भएको सरकारको अनुमान छ । यस्तै जेनजी आन्दोलनको क्रममा झन्डै ७८ करोडभन्दा बढीको क्षति भएको प्रदेशको तथ्याङ्क छ ।

Nirnaya

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप