सशस्त्र प्रहरी बलको नयाँ संरचनामा दरबन्दी थप तथा २ सय ८५ अस्थायी कार्यालय अब स्थायी हुने
सारांश
- सशस्त्र प्रहरी बलका अस्थायी गुल्म, प्रस्तावित सीमा सुरक्षा गुल्म र बिओपी स्थायी हुने भएका छन्।
- सङ्गठन सुधार र नयाँ संरचनाअनुसार काठमाडौँमा हुल तथा दंगा व्यवस्थापन विशेष गण र बाघ भैरव गुल्मको स्तरोन्नति गरिने भएको छ।
- विभिन्न पदको समायोजन, दरबन्दी थप र नियमावली संशोधनले सशस्त्र प्रहरी बलमा वृत्तिविकास र सुविधा वृद्धि हुनेछ।
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका १७ जिल्लामा रहेका अस्थायी गुल्म, ४५ वटा प्रस्तावित सीमा सुरक्षा गुल्म र २ सय १५ वटा बिओपी स्थायी हुने भएका छन् ।
सङ्गठनले हालै गरेको सङ्गठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षण पास भएसँगै यी कार्यालयहरू स्थायी हुने भएका हुन् । पहाडी जिल्लामा रहेका आश्रित गुल्महरू स्थायी भएसँगै कानुनी र प्रशासनिक रूपमा थप जिम्मेवार हुँदै जिल्लाको शान्ति सुरक्षा कायम गर्ने कार्य प्रभावकारी हुने सशस्त्र प्रहरी बलका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।
यसैगरी कुरिनटारमा रहेको ट्रमा सेन्टर, सातै वटा प्रदेशमा रहेका फिल्ड अस्पताल समेत स्थायी संरचनामा सञ्चालन हुने भएका छन् ।
यसअघि सशस्त्र प्रहरी बल नेपालका १ सय ११ वटा कार्यालय मात्र स्थायी रहेकोमा यो निर्णयसँगै स्थायी कार्यालयको सङ्ख्या ३ सय ९६ वटा पुगेको डिएसपी थापाले जानकारी दिए ।
सशस्त्र प्रहरी बल नेपालको सांगठानिक सुधार तथा केही पदको समायोजन र विभिन्न कार्यालयहरूको स्तर वृद्धि गरी नयाँ संरचना तयार गरिएको छ ।
संरचनामा कीर्तिपुरस्थित सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गणको स्तर वृद्धि गरी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको कमाण्डमा रहने गरी सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन विशेष गण बनाइएको छ ।
यसबाट काठमाडौँ उपत्यकामा शान्ति सुरक्षा कायम गर्न थप सहजता हुनेछ । आठ सय जना भन्दा बढी जनशक्ति रहने उक्त गणबाट हुल तथा दंगा व्यवस्थापनका लागि विशेष तालिम प्राप्त सुरक्षा फौज ठुलो सङ्ख्यामा एकै पटक परिचालन गर्न सहजता हुनेछ ।
त्यसैगरी विशिष्ट व्यक्ति, महत्त्वपूर्ण प्रतिष्ठान तथा कूटनीतिक नियोग समेतको सुरक्षा हेर्ने गरी काठमाडौँ कान्तिपथस्थित सशस्त्र प्रहरी बल नेपाल नं. २४ बाघ भैरव गुल्मलाई गणमा स्तरोन्नति गरिएको छ ।
यसबाट ती निकायहरूमा सुरक्षार्थ सोही प्रकृतिका तालिम प्राप्त सुरक्षा फौज परिचालन हुनेछन् । यसअघि फिल्ड अस्पताल र कुरिनटारको ट्रमा सेन्टरमा प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डाक्टरको कमाण्ड रहेकोमा अब प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डाक्टरले कमाण्ड गर्नेछन् । स्थायी भएसँगै ती अस्पतालबाट आम सर्वसाधारणले समेत स्वास्थ्य सेवा पाउने छन् ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा रहेको कानुन महाशाखालाई निर्देशनालयमा स्तरोन्नति गरी सशस्त्र प्रहरी नायव महानिरीक्षकको दरबन्दी थप गरिएको छ ।
विपद् व्यवस्थापनको म्याण्डेटलाई थप प्रभावकारी बनाउनको लागि विपद् व्यवस्थापन महाशाखालाई निर्देशनालयमा स्तर वृद्धि गरी सशस्त्र प्रहरी नायव महानिरीक्षकको दरबन्दी थपिएको छ ।
नेपाल सरकारलाई कुनै थप आर्थिक भार नपर्ने गरी आन्तरिक रूपमा समायोजन गरिएका यी पदहरूसँगै जवानदेखि माथि सबै दर्जामा ३ सय जना भन्दा बढीको वृत्तिविकास हुने सह– प्रवक्ता डिएसपी थापाले बताए । यसमा लामो समयसम्म एउटै दर्जामा रहेका प्राविधिक जनशक्ति समेत बढुवा हुनेछ ।
यसैगरी इन्टेलिजेन्स ब्युरोको कामकारबाहीलाई थप प्रभावकारी बनाउनको लागि अधिकृतस्तरका ३८ जनासहित सशस्त्र प्रहरी नायव महानिरीक्षकको कमाण्डमा रहने गरी दरबन्दी थप गरिएको छ ।
ब्युरोमा अब जुनियर अधिकृत तथा सो भन्दा माथिका जनशक्ति मात्र रहने छन् । जसले इन्टेलिजेन्स बेश बोर्डर सुरक्षाको अवधारणालाई थप प्रभावकारी बनाउने छ ।
यो सँगै सशस्त्र प्रहरी बल नेपालमा ३ जना सशस्त्र प्रहरी नायव महानिरीक्षकको दरबन्दी थप भएको छ भने नं. १८ निलबाराही गण कीर्तिपुर रेजिमेन्टको स्तरोन्नतिसँगै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको समेत दरबन्दी थप भएको छ ।
सशस्त्र प्रहरी बल नेपालको सांस्कृतिक तथा वाद्यवादन गुल्मलाई समेत स्तर वृद्धि गरी साङ्गीतिक शिक्षालय बनाई सशस्त्र प्रहरी उपरीक्षकले कमाण्ड गर्ने गरी दरबन्दी समायोजन गरिएको छ ।
यसैगरी सशस्त्र प्रहरी बलका १० वटा तालिम शिक्षालयहरूको असमान दरबन्दी संरचनालाई समेत समान संरचना बनाइने भएको छ । अब सबै शिक्षालयमा दरबन्दी सङ्ख्या एउटै हुनेछ ।
यसका साथै प्राविधिक समूहतर्फका विल्लादार जवानहरु १५/१६ वर्षसम्म एउटै पदमा रहनुपर्ने बाध्यतालाई सम्बोधन गरी समायोजनको काम समेत अघि बढाइएको छ भने १६ र १८ वर्षमा पेन्सन हुने प्रस्तावलाई समेत उच्च प्राथमिकतामा राखी छलफल अगाडी बढाइएको छ ।
नियमावली संशोधन, विपद्मा खटिदा मृत्यु भएमा एक तह बढुवासहित पारिवारिक निवृत्तिभरण उपलब्ध गराइने सशस्त्र प्रहरी बल नेपालको चौथो संशोधन नियमावली, २०८२ मा विपद्मा खटिदा मृत्यु भएका कर्मचारीलाई उक्त तह बढुवासहित पारिवारिक निवृत्तिभरण उपलब्ध गराइने व्यवस्था भएको छ ।
यसअघि सो नियमावलीको नियम ७६ को उपनियम २ मा कुनै प्रकारको सशस्त्र मुठभेड वा आक्रमण वा विष्फोटन वा हतियारधारी समूह वा त्यस्तै अन्य समूहको समूह विरुद्धको कारबाहीमा तत्काल वा सोही कारणले मृत्यु भएमा सो सुविधा व्यवस्था भएकोमा विपद् उद्धार कार्यमा खटिएका बखत मृत्यु भएमा समेत सोही सुविधा उपलब्ध हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण