सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

अमेरिकी ‘पीस प्लान ’बारे रुसको प्रतिक्रिया: औपचारिक प्रस्ताव नै आएको छैन

शुक्रबार, ०५ मङ्सिर २०८२, २२ : ५४
शुक्रबार, ०५ मङ्सिर २०८२

सारांश

  • रुस र युक्रेन युद्ध रोक्न अमेरिकाले अघि सारेको २८ बुँदे योजनाबारे क्रेमलिनले औपचारिक प्रस्ताव नआएको जनाएको छ।
  • योजनामा युक्रेनी सेनालाई पूर्वी दोनेत्स्कबाट पछि हट्नुपर्ने, सैन्य संख्या घटाउनुपर्ने र नेटो सदस्यता लिन नहुने शर्तहरू छन्।
  • युक्रेनका राष्ट्रपति जेलेन्स्कीले अमेरिकी प्रस्तावबारे कठिन र जटिल काम भइरहेको र देशलाई धोका नदिने बताए।

काठमाडौँ । रुस र युक्रेनबिच करिब तीन वर्षदेखि जारी युद्धलाई रोक्ने उद्देश्यले अमेरिकाले अघि सारेको भनिएको २८ बुँदे ‘पीस प्लान’बारे क्रेमलिनले प्रस्ट प्रतिक्रिया दिएको छ।

रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार मस्कोले अहिलेसम्म वासिङ्टनबाट कुनै औपचारिक प्रस्ताव प्राप्त गरेको छैन।

अमेरिकी पक्षबाट सार्वजनिक भएको दाबी गरिएको यो योजना युक्रेनका लागि निकै संवेदनशील ठहरिने केही सर्तहरूसहित आएको छ। यसमा पूर्वी दोनेत्स्क क्षेत्रबाट युक्रेनी सेनालाई पछि सर्नु, सैन्य संख्याबल घटाउनु र भविष्यमा कुनै पनि हालतमा नेटो सदस्यता नलिनु जस्ता बुँदा समावेश गरिएको बताइन्छ।

यसबारे सोधिएको प्रश्नमा पेस्कोभले भने, ‘हामीले केही नयाँ पक्षहरू देखिरहेका छौँ तर औपचारिक रूपमा हाम्रो हातमा कुनै प्रस्ताव आएको छैन। यी बुँदाहरूमा ठोस वार्ता पनि भइसकेको छैन।’

यद्यपि, उनले रुस शान्ति वार्ताका लागि खुला रहेको पनि पुनः दोहोराए।

अमेरिकाको यो पहल त्यस्तो बेला सार्वजनिक रूपमा चर्चा भइरहेको छ, जब रुसले पूर्वी युक्रेनका केही भागमा ‘साना तर महत्त्वपूर्ण’ फाइदा हासिल गरेको दाबी गरेको छ।

उता, युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्की आफ्नै शीर्ष अधिकारीहरू संलग्न भएको भनिएको करिब १० करोड डलरको भ्रष्टाचार प्रकरणका कारण आन्तरिक दबाबको समेत सामना गरिरहेका छन्।

अमेरिकी पक्षको प्रस्तावतर्फ ध्यान बढिरहँदा राष्ट्रपति जेलेन्स्कीले   राष्ट्रका नाममा सम्बोधन गर्दै यो योजना सहज नभएको संकेत दिए।

उनले भने, ‘म आफ्नो देशलाई धोका दिनेछैन। तर हामी अमेरिकी पक्षसँग यस प्रस्तावबारे निकै कठिन र जटिल रूपमा काम गरिरहेका छौँ।’

दस मिनेट लामो सम्बोधनमा जेलेन्स्कीले   युक्रेन जल्दै गएको वास्तविकता स्वीकार गरे।

‘हामी यस्तो मुस्किल स्थितिमा पुग्न सक्छौँ जहाँ देशले आफ्नो सम्मान जोगाउने कि आफ्नो महत्त्वपूर्ण साझेदार गुमाउने– यी दुई विकल्पमध्ये एक छान्नुपर्ने हुन सक्छ,’ उनले भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप