मिथिलामा मनाइने नवान्न अर्थात् अन्नको पूजा पर्व
सनातन संस्कृतिमा प्रकृति पूजाको विशेष महत्त्व छ, जसमा प्रकृतिका तत्वहरूलाई देवी–देवताका रूपमा पुजेर उनीहरूको सम्मान गरिन्छ र पारिस्थितिक पद्धतिको संरक्षणलाई महत्त्व दिइन्छ । पंचमहाभूत (पृथ्वी, जल, अग्नि, वायु र आकाश) लाई महत्त्वपूर्ण मानिएको छ र नदी, वनस्पति, पशु र ग्रहहरूको पूजाको माध्यमले आभार व्यक्त गरिन्छ ।
पारिस्थितिक पद्धति वातावरणमा विद्यमान वनस्पति, प्राणी, जीवाणु र वातावरणबीचको अन्तर्सम्बन्ध हो । पारिस्थितिक पद्धतिमा अजैविक र जैविक तत्वहरूबीच शक्ति र पदार्थ आदानप्रदान हुनका साथै जैविक तत्वहरूबीच पनि घनिष्ट सम्बन्ध रहेको हुन्छ । मिथिलामा मनाइने नवान्न (लवान) पर्व त्यसै अवधारणाबाट वशिभूत रहेको छ ।
मिथिलामा नवान्न पर्व नव अन्नको पूजा पर्व हो । अन्न भनेको खाद्य पदार्थ हो । यसको महत्त्व बहुआयामिक छ, जसले मानव अस्तित्व र स्वास्थ्यका लागि ऊर्जा र पोषक तत्वहरू प्रदान गर्छ । यसको पारिस्थितिक संरक्षणका लागि यसलाई सांस्कृतिक महत्व प्रदान गरिएको छ र त्यही संस्कृतिको नाम नवान्न हो ।
अन्नहरूको समूहलाई नै खाद्य पदार्थ भनिन्छ । जीव जीवित रहन, स्वस्थ रहन र सक्रिय जीवन बिताउनका लागि अन्न भक्षण गर्छन्, जसलाई भोजन भनिन्छ । अन्न अर्थात् भोजनमा अनेक पोषक तत्व हुन्छन् जो शरीरको विकासका लागि महत्वपूर्ण हुन्छन् ।
खाद्य विशेषज्ञ भोजनलाई पोषणको विषय मान्दछन् । तर सनातन संस्कृतिमा भोजनलाई पोषणको स्रोतभन्दा बढी मान्यता दिइएको छ ।
तैत्तिरीय उपनिषदमा भोजनलाई ‘ब्रह्म’ भनेर वर्णन गरिएको छ । यसलाई जीवनको आधार मानिएको छ । ऊर्जा मानसिक शान्ति र आध्यात्मिक प्रगतिको आधार हो । वेदका अनुसार, भोजन शारीरिक र मानसिक स्वास्थ्यका लागि आवश्यक छ, जसले व्यक्तिलाई सद्गुण, शक्ति र खुशी प्रदान गर्छ ।
प्राणीको शरीरलाई पञ्चकोशको संज्ञा दिइएको छ । उपनिषद् र वेदान्तका अनुसार शरीरलाई संगठित गर्ने पाँचवटा कोशहरू अन्नमय कोश, प्राणमय कोश, मनोमय कोश, विज्ञानमय कोश र आनन्दमय कोश हुन् । यिनमा स्थूल शरीरलाई अन्नमय कोश, पाँचवटै कर्मेन्द्रियसहित प्राणलाई प्राणमय कोश, पाँचवटै ज्ञानेन्द्रियसहित मनलाई मनोमय कोश, पाँचवटै ज्ञानेन्द्रियसहित बुद्धिलाई विज्ञानमय कोश तथा अहंकारात्मक वा अविद्यात्मकलाई आनन्दमय कोश भनिन्छ ।
अन्नमय कोष स्थूल शरीरलाई भनिन्छ, जो अन्नबाट निर्मित एवम् पोषित हुन्छ । भौतिक शरीर, मांसपेशी, हाड र रक्तसहित सबै दृश्यमान एवम् भौतिक संरचनाहरू अन्नबाट नै बन्दछन् । अन्नको महत्व वर्णनातीत छ, किनभने अन्नको अभावमा जीवनको अस्तित्व हुँदैन । त्यसैले अन्नको महत्वबोधका लागि नै अन्नको पूजा गर्ने परम्परा चलाइएको हो भन्न सकिन्छ ।
वेद साहित्यमा अन्नलाई जीवन, स्वास्थ्य र प्रगतिको आधार मानिएको छ । ऋग्वेद जस्तो प्रारम्भिक ग्रन्थमा कृषि प्रणाली र उत्पादन प्रक्रिया, जस्तो कि रोपाई, कटाई आदिको उल्लेख भेटिन्छ, जसमा मुख्य रूपले ‘यव’ (जौ) को चर्चा छ । यस अतिरिक्त, छान्दोग्य उपनिषदमा अन्नको स्थूल अंश (मल), मध्यम अंश (मांस) र सूक्ष्म अंश (मन) मा परिवर्तित हुने प्रक्रियाको रूपमा वर्णन गरिएको छ ।
श्रीमद्भागवत गीतामा अन्नलाई जीवनको आधार भनिएको छ भने उपनिषद् तथा पौराणिक ग्रन्थहरूले अन्नलाई प्राणको संज्ञा दिइएको छ । जीवको उत्पत्ति र पालनको आधार अन्न नै हो ।
अन्न र पानीको दानलाई विशिष्टतम दान मानिएको छ । भोका मानिसलाई खाना खान दिनु र तिर्खाएको मानिसलाई पानी पिउन दिनुभन्दा ठूलो दान अर्को छैन । अन्न र पानी मात्र यस्तो चीज हो, जसले मानिसलाई वास्तविक संतुष्टि प्रदान गर्छ । महाभारत महाकाव्यमा व्यासले भनेका छन् कि संसारभरीकै सम्पत्ति पाए पनि मानिसको मन अघाउँदैन तर अन्न र पानीमा सन्तुष्टि प्रदान गर्ने क्षमता छ । त्यसैले अन्नको विशेष महत्व गाइएको हो । त्यसैले नवान्न पर्वको व्यवस्था गरिएको छ ।
अन्न कृषि कर्मद्वारा उत्पन्न गरिन्छ । कृषि भनेको एउटा प्रक्रिया हो, जसमा बीउ छर्ने, कटनी गर्ने र बाली उत्पादन गर्ने जस्ता कार्यहरू समावेश हुन्छन् । कृषिकर्मलाई पनि एक यज्ञका समान मानिएको छ । यसलाई ‘सीता यज्ञ’ पनि भनिन्छ ।
मिथिलाको सांस्कृतिक जीवनमा अन्नप्राशन एक महत्वपूर्ण संस्कारको रूपमा स्थापित छ । अन्नप्राशन भनेको शिशुलाई पहिलो पटक अन्न ग्रहण गराउने संस्कार हो । स्मृति ग्रन्थका अनुसार बालकलाई छैटौं वा आठौं महिनामा र बालिकालाई पाँचौं वा सातौं महिनामा सर्वप्रथम अन्नसेवन गराइन्छ । अन्नप्राशन भनेको शिशुलाई सर्वप्रथम अन्न खुवाउन आरम्भ गर्ने कार्य हो । शिशुलाई सर्वप्रथम अन्न खुवाउँदा मुहुर्त जुराएर शुभ समयमा पूजा, हवन आदि सम्पन्न गरी अन्नप्राशन गरिने परम्परा रहेको छ ।
शिशुलाई यसरी अन्नप्राशन गराउँदा घ्यू, दही, मह मिसाएको खिरको रूपमा अन्न खुवाउने चलन छ । शिशुलाई ६ महिनापछि मात्र अन्न खुवाइन्छ किनभने यो उमेरसम्ममा उसको पाचन प्रणाली ठोस खाना पचाउन तयार हुन्छ र उसको पोषण आवश्यकताहरू पनि बढ्छ, जुन आमाको दूधले मात्र पूरा गर्न सक्दैन । ६ महिनाअघि ठोस खाना खुवाउँदा पाचन समस्या र जोखिम बढ्न सक्छ । अन्नप्राशन संस्कारले अन्नको महत्व र नवान्नको संस्कृतिलाई यसरी उजागर गरेको छ ।
अन्न कृषि कर्मद्वारा उत्पन्न गरिन्छ । कृषि भनेको एउटा प्रक्रिया हो, जसमा बीउ छर्ने, कटनी गर्ने र बाली उत्पादन गर्ने जस्ता कार्यहरू समावेश हुन्छन् । कृषिकर्मलाई पनि एक यज्ञका समान मानिएको छ । यसलाई ‘सीता यज्ञ’ पनि भनिन्छ ।
अन्न पनि शक्तिको स्वरूप हो । अन्नकी देवी अन्नपूर्णा हुन् । देवी अन्नपूर्णाले नै जगतको पालन–पोषण गर्छिन् । उनको नाम संस्कृतका दुई शब्द– अन्न र पूर्णसँग मिलेर बनेको छ । माता पार्वतीको अवतारका रूपमा घर र मन्दिरमा देवी अन्नपूर्णाको पूजा गरिन्छ । मिथिला संस्कृतिमा नवधान्य अर्थात् नौ प्रकारका अन्नको महत्वपूर्ण स्थान छ । गहुँ, धान, रहर, टाटे सिमी, चना, मुग, तिल, कालो चना र चना गरी नौ प्रकारका अन्नलाई नवधान्य वा नवधानियम भनिन्छ ।
धानलाई लक्ष्मीका रूपमा पूजा गर्ने परम्परा छ । भकारीमा भरेको धान कम नहोस् र धनधान्यले भरिभराउ रहोस् भन्ने भावले मार्ग पूर्णिमालाई ‘धान्य पूर्णिमा’ का रूपमा मनाइन्छ । नयाँ खाद्यान्न आफूले उपभोग गर्नुअघि सबैभन्दा पहिला कुल देवता, पितृ देवता र देवी–देवताहरूलाई अर्पण गरेपछि मात्र आफूले खाने परम्परा छ । यसै परम्पराको नाम नवान्न पर्व हो ।
मार्गशीर्ष शुक्लपक्षको पूर्णिमा तिथिलाई धान्य पूर्णिमा भन्दछन् । असारमा रोपेको प्रमुख बाली धान मंसिरमा थन्क्याएपछि अन्नपूर्णा देवीको कृतज्ञता व्यक्त गर्दै धान्य पूर्णिमा पर्व मनाउने चलन छ । खासगरी नवान्न पर्व भनेको मार्ग शुक्लपक्षको तृतीया तिथिमा मनाइन्छ । यस वर्ष मार्ग (मंसिर) महिनाको ७ गते नवान्न पर्व परेको छ ।
मिथिलामा, कुनै पनि नयाँ अन्नलाई पहिले कुनै अन्नपूर्णा देवी र कुलदेवतालाई भोग लगाएपछि मात्रै आफूले ग्रहण गर्ने संस्कृति रहेको छ । भगवानलाई पहिलो भेटी नयाँ धानबाट दिइन्छ । त्यसैले, यस पर्वलाई नवान्न भनिएको छ ।
नवान्नको दिन मैथिल पुरुष र महिलाहरू बिहान स्नान गरी आफूलाई शुद्ध गर्छन् । तिनीहरू आफ्नो नजिकैको खेतमा जान्छन् र धानबाली फूल र अक्षत चढाई अन्नपूर्णा देवी एवम् धान्य लक्ष्मीको पूजा गरी उनको आदेश लिएर लवानका लागि धानबाली काटेर ल्याउँछन् । त्यही धानको ढिकी वा ओखलमा कुटेर तयार पारिएको चिउरा नवान्नमा आराध्यलाई नवान्न भनेर अर्पित गरिन्छ । नयाँ धानको चिउरा अत्यन्तै स्वादिलो र सुगन्धित हुन्छ । उक्त चिउरासहित दूध, सक्खर, केरा, मिष्ठान्न आदि नवान्नको नेवैद्य हो ।
नवान्न पर्वको पूजा गर्दा नवान्नका लागि तयार पारिएको नेवैद्यले सर्वप्रथम गोसाईं (कुलदेवता) र तुलसीमठको गरिन्छ । यसपछि नवान्न विशेषको पूजा गर्न आँगनमा सिन्दूर र अक्षताको पिठोले सूर्यदेव र चन्द्रदेवसहितको अरिपण तयार गरिन्छ । उक्त अरिपणमाथि गवहा संक्रान्तिमा बनाएर राखिएका गुइँठा र नयाँ धानको चिउरा कुट्दा निस्केको भूस जोडेर अग्नि प्रज्वलित गरिन्छ ।
यसै अग्निदेवलाई धूप, दीप, गन्ध, पुष्प एवम् नवान्नको नेवैद्य अर्पित गरी दूधको धारा दिई पूजा गरिन्छ । त्यसपछि त्यहीँ खाल्डो खनेर नेवैद्यादि गाडिन्छ र परिवारका सबैले प्रणाम गरी आशीर्वाद लिन्छन् । तत्पश्चात पूर्व नियन्त्रित ब्राह्मण एवम् कन्या भोजन गराई दक्षिणासहित विदाइ गरिन्छ । यसरी नवान्न पूजा सम्पन्न भएपछि नव अन्न ग्रहण गर्ने गर्छन् ।
साँझमा, दीपावलीको उका–उकी खेलेर राखिएको जलेको सन्ठीले गोसाईं घरमा आगो बालेर त्यसै आगोबाट कुलदेवतालाई संध्या धूप दीप दिइन्छ । यसरी नवान्न पर्व सम्पन्न हुन्छ । नव अन्नको पूजा परम्परा पहाडी क्षेत्रमा पनि रहेको पाइन्छ । यस पर्वलाई ‘न्वागी खाने’ भन्ने गरिएको छ । पहाडी परम्परामा नयाँ धानको चामल कुटेर पकाइएको भात दही र सक्खरका साथ खाने चलन छ ।
(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दक्खल राख्छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण