२५ वर्षअघिको त्यो संकटकाल र नेतातन्त्रविरुद्धको नयाँ अभियान !
सारांश
- लेखमा २५ वर्षअघि पत्रकारहरू बन्दी भएको स्मरण गरिएको छ, जतिबेला देशमा संकटकाल थियो।
- राजतन्त्रको अन्त्यपछि नेताहरूको गलत शासनका कारण देश फेरि समस्यामा परेको र यसको अन्त्य आवश्यक भएको कुरा उल्लेख छ।
- नयाँ पुस्ताले नेतातन्त्रलाई चुनौती दिएको र वास्तविक लोकतन्त्र स्थापनाको लागि अभियान चलाउनुपर्ने कुरा बताइएको छ।
राजतन्त्रकालमा २५ वर्षअघि अर्थात आजकै दिन हामी (ओम शर्मा, गोविन्द आचार्य, खिलबहादुर भण्डारी, मनऋषि धिताललगायतका पत्रकार) सामूहिक रूपमा बन्दी भएको दिन। देशमा संकटकाल लगाइएको सोही दिन हामीजस्तै हजारौँ क्रान्तिकारीलाई तत्कालीन राजा ज्ञानेन्द्र शाह र प्रधानमन्त्री शेरबहादुर देउवाले जेल हालेका थिए।
हामी बन्दी भएको २५ वर्षयता देशमा जनताले राजतन्त्रको अन्त्य गरिसके। राजतन्त्रको अन्त्य र लोकतन्त्र स्थापना गर्न हामी हजारौँ क्रान्तिकारी वर्षौं जेल बस्नुपर्यो, हाम्रा हजारौँ साथी तत्कालीन राजा–नेताको शासनमा मारिए, हजारौँ घाइते भए।
तत्कालीन राजतान्त्रिक व्यवस्थाले करिब २ लाख घरपरिवारको उठिबास लगायो र अहिले राजतन्त्रले गरेको दमन र दिएको कहरबाट ती परिवार सम्हालिन अझै सकेका छैनन्।
राजतन्त्रको अन्त्य, पूर्ण लोकतन्त्र/गणतन्त्रको स्थापना भएको दश वर्षभित्रै फेरि देश नेतातन्त्रको चंगुलमा फस्यो। जनताको मतको दुरुपयोग गर्दै केही थान नेताले जहानियाँ शासन गर्न थाले। यस्तो नेतातन्त्रका सकारात्मक कुरा छैनन्—खराब विशेषता मात्रै छन्। ती खराब विशेषतामा एक–नेताको देवत्वकरण, दुई–संस्थागत भ्रष्टाचार र तीन–संस्थागत पक्षपात हुन्।
यी तीन दार्शनिक सिद्धान्तमा अडेको नेतातन्त्रको बाहिरी खोल भने कम्युनिस्ट, कांग्रेस, राजाबादी, माओवादी आदि–आदि देखिन्छ। पछिल्ला दश वर्षयता यी विभिन्न खोल ओढेका सैतानहरूको शासनले देशलाई निकै कमजोर बनायो। त्यो सैतानी आत्माले देशभर जरा गाड्यो। नेता महान् हुन्, नेताले गरेको सबै सही हुन्छ र नेतासँग नाता जोड्नुपर्छ भन्ने जस्तो सैद्धान्तिक मान्यता समाजका जरा–जरासम्म पुग्यो।
पुराना पौराणिक अन्धविश्वास जबर्जस्ती जीवित रहेकाले मानव समाज अझै आधुनिकता र विकासमा फड्को हान्न सकेको छैन। विभिन्न पुराण बोकेर नेपाली समाजको जात–व्यवस्था बचाउन हिँडेका पण्डित जस्तै मार्क्स, लेनिन, माओ वा बीपीका पुराण बोकेर नेतातन्त्र जोगाउन केही थान मानिस दौडेकै छन्।
नेपाली समाजमा रूढीवादी परम्परासँगै पछिल्ला दुई दशक नेतातन्त्रको अर्को राजनीतिक रूढीवादको जञ्जालमा फस्यो। उनीहरूले धरतीलाई दुई भागमा बाँडे—नेताको धरती र नेतालाई छुन नसक्नेहरूको धरती। अर्थात् नेताको स्वर्ग र अभागी जनता बाँच्न बाध्य हुनुपर्ने नर्क। यो स्वर्ग र नर्क फेरि उल्टाउनु परेको छ, त्यसैले सबैतिर विद्रोह आवश्यक छ।
खासमा नेतातन्त्रले यो सुन्दर धरतीलाई सबैका लागि नर्क बनाउँदै थियो। यो कुराको दशकअघि नै संकेत पाएर लोकतन्त्र/गणतन्त्रका पक्षमा सिङ्गो जीवन दिएका नेपाली समाजका एक दार्शनिक बाबुराम भट्टराईले नयाँ वैकल्पिक बाटोतर्फको यात्रा मोडेका थिए।
उनको त्यो सत्य–खोज–विनको मार्गतर्फको यात्रा बहुमत हामीलाई चित्त बुझेन र उनको आलोचनामा हामीले एक दशक खर्च गर्यौँ—अर्थात् हाम्रै एक दशक नोक्सान गर्यौँ। नेतातन्त्रले देश खोक्रो, समाज भ्रष्ट र पार्टीहरू नातातन्त्रको काँडेतारभित्र कैद भएपछि बाबुराम भट्टराईको जागरणको दियो बल्ल विद्रोहको मुस्लो जस्तो देखिन थाल्यो।
हाम्रो पुस्ताले आत्मालोचना गर्ने फुर्सद नपाउँदै हामी पछिको नवीन पुस्ताले ठुलो आट गर्यो र यो देशमा नेतातन्त्रलाई केही घण्टाका लागि सक्रिय निलम्बनमा रहन बाध्य पार्यो। जनताबाट भागेर सेनाको शरणमा सुरक्षित रहेको नेतातन्त्र फेरि बौरिँदै उठेको छ। त्यसको टाउको सधैँलाई झुकाउन नवयुवा पुस्ताले पहल–कदमी लिनुपर्ने छ।
नवयुवाको आटमा जनार्दन शर्माले एउटा कित्ताबाट र गगन थापाले अर्को कित्ताबाट अहिले पुराना पार्टीभित्रका नेतातन्त्र र नातातन्त्र विरुद्ध सैद्धान्तिक र व्यवहारिक अभियान सुरु गरेका छन्। उनीहरू एक्लै सफल होलान् वा नहोलान्, अगुल्टो लिएर निस्किसकेका छन्।
यो ब्रह्माण्डका तेजिला तारा–सूर्यजम्मै आफू नै हौँ भन्ने प्रचण्ड–केपीहरू नेतातन्त्रका हल्लिएका जरालाई बलियो बनाउने अभियानमा छन्। धरतीको दुःख फुमन्तर गरेर हटाउने क्षमताका भगवान् भनिएका रवि आफैँ दुःखमा छन्। र, उनको पार्टी र सत्ता–सञ्चालनको सानो समयको विश्लेषण गर्दा उनी पनि नेतातन्त्रकै बलियो अभ्यासमा छन्।
नेतालाई भगवान् बनाउने, संस्थागत भ्रष्टाचारलाई राजनीतिक धर्म मान्ने र पक्षपातलाई दैनिक प्रशासन मान्ने नेतातन्त्रलाई सदाका लागि नेपाली समाजबाट बिदा गरेर वास्तविक र कल्याणकारी लोकतन्त्र स्थापनाको कठिन तर अनिवार्य यात्रामा हिँड्नु नै छ। अब यो सम्भव छ किनकि नवीन पुस्ताले नेतातन्त्रको जरो नराम्ररी हल्लाइसकेको छ।
सामूहिक र समावेशी नेतृत्व–प्रणाली, पारदर्शी र जनसेवी राजनीतिक कार्यक्रमको विकल्पसहित नेतातन्त्रको अन्त्यको अभियान सुरु गर्नु अहिलेको मुख्य कार्यभार हो। यो अभियानमा नक्कली मार्क्सवादी वा नक्कली बीपीवादी लाम लाग्नु सम्भव छैन। मार्क्सवादलाई गतिशील जीवनदर्शन मान्न सक्ने सक्कली मार्क्सवादी र बीपीको समाजवादलाई गरिब किसानको एक हल गोरु, दुहुनु गाई र एक झुपडी बासको व्यवस्था गर्ने लोकतन्त्रसँग जोड्न चाहने सक्कली बीपीवादी यो यात्रामा हुनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण