बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

बर्दघाट नगरपालिका र चीनको सुचाउ महानगरबिच भगिनी सम्बन्धको तयारी

बिहीबार, ११ मङ्सिर २०८२, १५ : १७
बिहीबार, ११ मङ्सिर २०८२

सारांश

  • बर्दघाट नगरपालिका र चीनको सुचाउ महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाको तयारी भइरहेको छ।
  • शिक्षा र स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने गरी भगिनी सम्बन्ध स्थापना गर्न लागिएको हो।
  • चिनियाँ टोलीले बर्दघाट नगरपालिकाका स्वास्थ्य संस्था र सामुदायिक विद्यालयको अवलोकन गरेको छ।

बुटवल । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका र चीनको सुचाउ महानगरपालिकाबिच भगिनी सम्बन्ध स्थापनाका लागि तयारी गरिएको छ ।

सुचाउ नगर र बर्दघाट नगरपालिकाबिच खासगरी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने गरी भगिनी सम्बन्ध स्थापना गर्न लागिएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिएका छन् । उनले उक्त सम्बन्धले बर्दघाट नगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र अन्तर्राष्ट्रिय बजारसम्म बर्दघाट नगरपालिकाको प्रचार प्रसारमा समेत टेवा पुग्ने विश्वास लिएको बताए । 

सुचाउ सहरमा रहेको प्रतिष्ठित कलेज सुचाउ युनिभर्सिटी अफ टेक्नोलोजीका प्रोफेसर चाङ वाई र सोही अस्पतालमा बाल रोग विशेषज्ञको रूपमा काम गरिरहेका नेपाली चिकित्सक डा. केशव कुँवर लगायतको टोलीले भगिनी सम्बन्ध स्थापनाका लागि सहजीकरण गरिरहेको बताए । 

प्रोफेसर चाङ वाई सहितको टोलीले आज बर्दघाट नगरपालिकाका स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरूको स्थलगत अवलोकन गरी यहाँको वस्तुस्थिति र सम्भाव्यताबारे जानकारी लिएको छ । 

टोलीले बर्दघाटको दिव्यज्योति बहुमुखी क्याम्पस, दाउन्ने क्याम्पस, चिसापानी अस्पताल र सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ताको अवलोकन गरेको हो ।

प्रोफेसर वाईले चीनका कलेजहरूमा हुने अध्ययन र अध्यापन विधि अवलोकनका लागि यहाँका शिक्षक र व्यवस्थापन समितिलाई चीन आउनसमेत आग्रह गरेका थिए । यसअघि प्रोफेसर चाङ वाईको सक्रियतामा पोखरा महानगर र चीनको सुचाउ महानगरबिच भगिनी सम्बन्ध स्थापना भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप