नेकपाको सन्देशसभा : राजकीय ठाँट, समयको बर्बाद !
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमको धनगढीमा शुक्रबार पहिलो एकता सन्देशसभा गर्यो । जेनजी विद्रोहपछि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहित स–साना १५ वामपन्थी घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको सभामा मानिसको राम्रो उपस्थिति देखिन्थ्यो ।
एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावल सोही प्रदेशका भएकाले उनले राम्रै शक्ति प्रदर्शन गरे । भर्खरै एमाले त्यागेका प्रकाशबहादुर शाह लगायत आजको सभामा एमालेका सयौँ नेता तथा कार्यकर्ता नेकपा प्रवेश गरे । सुदूरपश्चिमका प्रभावशाली नेता रावलको उपस्थितिले आगामी निर्वाचनमा एमालेलाई ठुलो धक्का दिने चर्चा चलेको छ ।
एकता सभामार्फत् विगतमा भएको कमजोरी, पार्टीको आगामी एजेन्डा, राष्ट्रिय राजनीतिमा खेल्नुपर्ने भूमिका लगायत विषय पस्किनुपर्ने थियो । तर सभामा बोल्ने सबै नेताहरू पार्टीको एजेन्डा बिर्सिएर एमाले र त्यसको नेतृत्वप्रति कटाक्ष गर्नमै व्यस्त बने । राष्ट्रिय राजनीतिको सबै समस्या एमालेको थाप्लोमा राखेर आफ्नो पार्टीलाई निर्विकल्पमा उभ्याउने प्रयास गरे ।
कार्यक्रमलाई समापन सम्बोधन गरेका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको तयारीमा जुट्नुपर्ने एमाले संसद् पुनर्स्थापनको मुद्दा लिएर सर्वोच्च अदालतमा गएकोप्रति आक्रोश पोखे । विगतमा संसद् विघटन गरेका केपी ओली अहिले पुनर्स्थापनाको माग गरेर उल्टो बाटो हिँडेको बताए ।
_dsB1b07vhC.jpg)
‘हिजोको विघटन गर्ने कर्ता ठीक भयो चुनावै हो अर्को विकल्प छैन भन्नुपर्थ्यो । तर कस्तो उल्टो बुद्धि ! हिजो विघटन गर्ने, अहिले चुनाव हुने भयो भनेपछि संसद् पुनर्स्थापना भन्ने ! जतिबेला पनि उल्टो बाटो हिँडेर नेपाली जनतालाई दुःख दिने, नेपाल राष्ट्रलाई दुःख दिने अहंकारी, दम्भीलाई राम्रो सबक सिकाउने बेला यही हो’, उनले भने ।
चिसै पानीले नुहाउने गरी दल दर्ता गर्न निर्वाचन आयोगमा पुगेकाले बाहिर धाकधम्की दिनुको कुनै अर्थ नभएको प्रचण्डले टिप्पणी गरे । सुदूरपश्चिममा नेपाली कम्युनिस्ट पार्टीलाई पहिलो नम्बरमा आउन कसैले रोक्न नसक्ने दाबी गरे । जेनजीका असली अभिभावक आफूहरू नै भएकाले पार्टीप्रति युवाहरूको आकर्षण बढ्दै गएको उनले जिकिर गरे ।
सहसंयोजक माधवकुमार नेपालले ओलीप्रति लक्षित गरी रावणसँग तुलना गरे । आफूहरूलाई रामसँग तुलना गर्दै सबै नेता उस्तै-उस्तै हो भन्ने भाष्य गलत भएको नेपालले बताए ।
‘सबै नेता उस्तै उस्तै छैनन् । कोही राम छन्, कोही रावण पनि छन् । कोही बोल्यो कि पोल्यो पनि छन् । आफ्नो प्रशंसा मात्र चाहने पनि छन्,’ नेपालले भने ।
_9avwBzptaO.jpg)
जेनजी विद्रोहको बेला संयोजक प्रचण्ड र आफू राष्ट्रपति निवासमा रातभर बसेर विषम संकटको समाधान गर्न पहल गरेको उनले जिकिर गरे । जेनजीका एजेन्डा र भावनाको कदर नेपाली कम्युनिस्ट पार्टीले मात्र गर्न सक्ने दाबी गर्दै नेपालले आगामी निर्वाचनमा एक नम्बरको पार्टी बनाउन भूमिका खेल्न नेता कार्यकर्तालाई आग्रह गरे ।
नेता भीम रावलले जेनजी आन्दोलनका बेला राष्ट्रिय सुरक्षा परिषद् बैठक समेत बोलाउन नसकेर बालुवाटारबाट भागेका ओलीले गुन्डुबाट हुङ्कार गरेकोप्रति कटाक्ष गरे ।
‘राष्ट्रिय सुरक्षा परिषद् बैठक समेत बोलाउन नसकेर हेलिकप्टर भाग्नेले केपी ओलीले अहिले गुन्डुको एउटा दुलामा बसे हुङ्कार गरिरहेका छन् । अहंकारी दम्भीलाई ठीक ठाउँमा ल्याउने नेपाली कम्युनिस्ट पार्टी हो । अब हाम्रो पार्टीलाई एक नम्बर बन्नबाट रोक्न कसैले सक्दैन’, उनले भने ।
_8L24h1nN4r.jpg)
राष्ट्रिय संकटको एक मात्र निकास निर्वाचन भएकाले चुनावी वातावरण बनाउन रावलले सरकारसँग आग्रह गरे ।
पूर्वमन्त्री तथा नेता गिरिराजमणि पोखरेलले जेनजीले उठाएका मुद्दा जायज भएको बताए । उनले ओलीकै कारण राष्ट्र संकटमा फसेकाले आफ्नो पार्टीले मात्र राष्ट्र संकटको समाधान गर्न सक्ने जिकिर गरे ।
‘नवयुवा जेनजी पुस्ताले गरेको आन्दोलन जायज थियो । उनीहरूले देखेको सपना पूरा गर्नुपर्छ । तपाईंहरूको आन्दोलनलाई सबैभन्दा पहिले समर्थन गर्ने पार्टी नै हामी हौँ । केपी ओलीको अहंकारले गर्दा देशमा संकट आयो । राष्ट्रियताको रक्षा र जेनजीको मुद्दा हाम्रो पार्टीले मात्र गर्छ,’ पोखरेलले भने ।
भर्खर मात्र एमाले परित्याग गरेर नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका पूर्वकेन्द्रीय सदस्य प्रकाशबहादुर शाहले सुदूरपश्चिमेली गीत मार्फत् नै ओलीप्रति कटाक्ष गरे । ओलीको अहंकारले एमालेमा पहिरो गइरहेको उनले जिकिर गरे ।
‘केपी ओलीको अहंकारले एमालेमा पहिरो गइरहेको छ । ओली नेतृत्वमा आएपछि पार्टी विभाजन भएको छ । नेपालीको गुनले नपुगेर जेनजीको खुन चाहियो,’ उनले भने, ‘तानाशाही बिरालोलाई कठालो समाएर नेपालीलाई न्याय दिन सक्ने नेपाली कम्युनिस्ट पार्टी हो ।’
अस्तव्यस्त मञ्च
एकता सभामा नेताहरूले पुरानै टिठलाग्दो भाषणशैली अपनाए । मञ्चमा लावालस्कर नेताहरू राखेर भद्दा प्रदर्शन गरेको देखिन्थ्यो । संयोजक र सहसंयोजक बाहेक अन्य नेताहरूलाई तीन/तीन मिनेटको समय छुट्याएको थियो ।
_iwwd8cktlD.jpg)
मञ्चमा सम्बोधन गर्न पुगेका केही वक्ताहरूले मञ्चमा आसिन नेताहरूलाई सम्बोधन गर्दैमा समय सकिएको थियो । सुदूरपश्चिमा देखिएका समस्या, चुनावमा पार्टीले खोल्नुपर्ने भूमिका लगायत विषयमा नेताहरूलाई सुनाउन पाएनन् ।
राजकीय ठाँट, समयको नोक्सान
खासमा कम्युनिस्ट नेताहरू आचरण र व्यवहारबाट जनताको मन जित्नुपर्नेमा विश्वास गर्छन् । वर्गीय समस्या समाधान, राष्ट्र निर्माण, मजदुर, किसान, श्रमिकको एजेन्डामा सधैं केन्द्रित हुने । जनतासँगै रमाउने, सहकार्य गर्ने, तडकभडक जीवनशैली नअपनाउने कम्युनिस्टको मान्यता रहँदै आएको छ । तर वर्गीय मुक्तिका लागि सशस्त्र विद्रोह गरेका पूर्वमाओवादीका सर्वोच्च कमाण्डर प्रचण्ड, विगतमा कम्युनिस्ट पार्टीलाई स्थापित गर्न ठुलो त्याग गरेका माधव नेपाल पछिल्लो समय मान सम्मान र जयजयकारमा रमाउन थालेको पछिल्लो गतिविधिले देखाउँछ ।
_ar9p7eTwFE.jpg)
सुदूरपश्चिममा भएको सभा एक बजेबाट सुरु हुनुपर्ने थियो । प्रचण्ड र नेपाललाई वाईसीएलको बाक्लो सुरक्षा घेरा, बाजागाजा तथा झाँकी प्रदर्शनसँग राजकीय ठाँटका साथ मञ्चमा प्रवेश गराइयो । मञ्चमा उद्घोषकका जिम्मेवारी पाएका साविक माओवादीका स्थायी समिति सदस्य खगराज भट्टले प्रचण्ड जय, माधव नेपाल जय जस्ता नारा लगाए नेताहरूलाई आसन ग्रहण गराएका थिए । कम्युनिस्ट पार्टीमा नेतृत्वका देवत्वकरण र राक्षसीकरण गर्नु कुनै नयाँ विषय होइन ।
केही समयअघि साविक माओवादीमा फर्किएका गोपाल किरातीले नेताहरूको पुरानै शैली र मञ्च व्यवस्थापनमा अस्तव्यस्त भएकोमा शीर्ष नेताहरूप्रति कटाक्ष गरेका छन् । बिहान सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘नेकपा र जसपा राजेन्द्र श्रेष्ठ समूहसहित पाँच समूहको एकतासभामा मुख्यतः पाँच समूहका प्रमुखहरू मञ्चको अग्ररोहमा बस्नु पर्दथ्यो । त्यसमा जेड पुस्ताकी मुस्कान खातुन पनि अनिवार्य पर्दथिन् । किनभने, त्यस कार्यक्रमका नायकहरू उहाँहरू नै हुनुहुन्थ्यो । परन्तु, मञ्च यति खचाखच भरिएको थियो कि जसपाका राजेन्द्र श्रेष्ठ र अर्को समूहका एक प्रमुख अग्र रोहमा त हुनुहुन्थ्यो, तर दुई जना मात्र बस्न मिल्ने सोफामा तीन–तीन जना खाँदिएर निक्कै अप्ठेरो गरी बसिरहेको देख्नुपर्यो । अरू समूहका प्रमुखहरू तथा मुस्कान खातुनको स्थान लाखापाखा किनारातिर झैँ हुँदा सभागृहको कार्यक्रम पाँच समूहबिच एकतासभा हो कि कुनै पूर्व समूहको प्रहसनसभा हो, क्रान्तिकारी चेतका कार्यकर्ता तथा पत्रकार साथीहरू रणभुल्ल लाग्थे ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण