आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
किताबका कुरा

प्रिय बन्ने भ्रममा कतिपय लेखक खुलेर लेख्न डराउँछन्: भूपिन

शनिबार, १३ मङ्सिर २०८२, १८ : ००
शनिबार, १३ मङ्सिर २०८२

सारांश

  • भूपिन, शिक्षक र लेखक, कविता, निबन्ध र उपन्यास विधामा सक्रिय छन्।
  • उनको लेखनमा राज्यको क्रूरता, प्रकृति र मानवीय संवेदना पाइन्छ।
  • लेखनको प्रेरणाबारे कुरा गर्दै उनले बाल कार्यक्रम र रेडियोको भूमिकालाई सम्झिए।

कविता, निबन्ध र आख्यानमा सशक्त रूपमा कलम चलाउने भूपिन पेसाले शिक्षक हुन् । समकालीन नेपाली कवितामा आफ्‌नो बेग्लै छाप छाड्न सफल उनका कवितामा राज्यको क्रूरता, प्रकृतिसँगको सान्निध्य र मानवीय संवेदना प्रशस्त मात्रामा पाइन्छ । भूपिनका ‘क्षतिग्रस्त पृथ्वी र मूल सडक’ (२०५३), ‘हजार वर्षको निद्रा’ (२०६६), ‘सुप्लाको हवाइजहाज’ (२०७२), ‘भूपिनका कविता’, (२०८०) कवितासंग्रह प्रकाशित छन् । ‘चौबिस रील’ (२०६९) र ‘मध्यको उज्यालो’ (२०८२) गरी दुई निबन्ध संग्रह प्रकाशित गरेका उनको ‘मैदारो’ (२०७५) उपन्यास पनि पाठकमाझ आएको छ । उनै भूपिनसँग रातोपाटीको ‘किताबका कुरा’ शृङ्खलाका लागि गरिएको कुराकानी ।

  • हुन त पेसाले शिक्षक हुनुहुन्छ, किताबसँग दिनहुँ जम्काभेट गर्नै पर्‍यो । किताबको संसारमा कसरी आकर्षित हुनु भयो ? 

जीवनमा ज्ञान र कलाको असीमित तृष्णा मेटाउने मूलको पानीजस्तै हुन्छ किताब, जसले जीवनयात्रीहरूको ज्ञानको प्यास मात्र मेट्दैन, मस्तिष्कमा ताकत भरिदिएर जीवनको अक्करे बाटो हिँड्ने प्रेरणा दिन्छ । अनेकौँ रहस्यहरूको पर्दा उघारिदिएर जीवनका यावत क्षितिजहरू हेर्ने सम्भावनाका झ्यालहरू खोलिदिन्छ, दृष्टिकोण दिन्छ । आफ्नै पूर्व धारणामाथि हस्तक्षेप गरिदिएर सत्यको बाटो पक्रिन सहयोग गर्छ । प्रकृति, मानिस, समाज र समाजमा चलिरहने कथा रचनाको होडबाजी अनि मिथकहरूको प्रभावको आधार सम्झाइदिन्छ । आफ्नै खोजीमा निस्कनेका लागि प्रकृतिको विराटताबिच आफ्नो अस्तित्वको एक थोप्ले प्रतीक्षा देखाइदिन्छ । आत्मा यथार्थीकरणको कठिन तहमा उक्लिन मानिसलाई सहारा दिन्छ । 

स्कुलकालदेखि नै पाठ्यक्रम बाहिरका किताबसँग प्रेम बस्यो । युधिर थापा, सुवास लगायतका यौन हर्माेन भड्काउने उपन्यास हुँदै रुसी र चिनियाँ साहित्यसम्म पहुँच बिस्तार भयो । ती किताब पढ्दा कसैसँग प्रेम बसिनसकेको मनमा कतिपय पात्रसँग नै प्रेम बस्यो । याङ मोको उपन्यास युवाहरूको गीतकी नायिका ताओ चिङ मेरी कल्पनाकी प्रेमिका बनिन् । प्रेम नहुँदै किताबकी नायिकासँग मेरो प्रेम बस्यो । किताबसँगको साइनो सम्बन्धको कुरा गर्दा मैले ताओ चिङलाई सम्झिहाल्छु । 

  • तपाईं लेखनको संसारमा कसरी आइपुग्नु भयो  ?

वर्तमानमा सामान्यजस्तो लाग्ने कतिपय घटनाको जीवनमा असामान्य अर्थ लाग्दो रहेछ । लेखन दुनियाँमा मेरो प्रवेशबारे सोच्दा झट्ट स्मरणमा आउने रेडियो नेपालको बाल कार्यक्रम नै हो । बिजुली नपुगेको गाउँमा हुर्किएको म, रेडियो नै विश्व सूचनाको सबैभन्दा महत्त्वपूर्ण माध्यम थियो । अहिले सोच्दा लाग्छ, रेडियो नेपालको बाल कार्यक्रमले नै हो मलाई लेखनको दुनियाँमा प्रवेश गराउन ठुलो भूमिका खेलेको । बाल कार्यक्रमका लागि गाउँको हुलाकबाट कविता पठाउँथेँ । मेरा दुई चार कविता वाचन गरिदिएका थिए कार्यक्रम सञ्चालक बासुदेव मुनाल र नुपुर भट्टाचार्यले । गाउँमा घरको पिँढीमा बसेर म वाचित कविता सुन्दै मक्ख पर्थेँ । थप कविता लेख्ने प्रेरणा मिल्यो ।

रेडियोमा प्रसारित नाटकहरू सुनेर नाटक लेख्थेँ । लाहुरे दाइहरूका लागि सकेसम्म लेखनकलाको प्रयोग गरेर चिठ्ठी लेखिदिनु मेरो नियमित दायित्वजस्तै थियो । स्कुलमा बिरलै हुने कविता प्रतियोगितामा कविता सुनाएर पुरस्कृत हुँदा मेरो प्रेरणा दोब्बर हुन्थ्यो । दश कक्षासम्म आइपुग्दा त्यो बेला बाह्र रुपैयाँमा किनेको हार्ड कभरवाला मोटो पूजा कपीमा दुई उपन्यास लेखिसकेको सम्झना छ । ती उपन्यासले पूर्णता भने पाएका थिएनन् र तिनमा प्रेम, रोमान्स र काँचो भावुकता थियो । उमेर पनि त्यस्तै । एउटा पाण्डुलिपी घरको पुरानो बाकसमा अझै सुरक्षित भएजस्तो लाग्छ । 

एसएलसी सकेर पृथ्वीनारायण बहुमुखी क्याम्पसमा आइएससी भर्ना भएपछि अध्ययनको दबाबका कारण मेरो लेखन केही समयका लागि छुट्यो । तर यसैबीच म टाइफाइडले थलिएँ । करिब चार पाँच महिना नै बाआमाले गाउँबाट मलाई पोखरा फर्किन दिनु भएन । यो समयावधिमा विज्ञानका जटिल समस्याबाट मुक्त भएर म लेखनको स्वतन्त्र संसारमा हराउन थालेँ । गीत, गजल र कविताहरू लेखेँ । पछि सोही क्याम्पसमा स्नातक पढ्दा पोखराका अग्रज कवि लेखकहरू र समकालमा लेखिरहेको धेरै साथीहरूसँग उठबस र सत्सङ गर्ने अवसर मिल्यो । 

bhupeen

पोखरेली युवा सांस्कृतिक परिवारले आयोजना गर्ने समता काव्य सन्ध्यामा नियमित कविता सुनाउन थालेँ । त्यही समयमा आयोजित केही राष्ट्रिय कविता प्रतियोगितामा सर्वोत्कृष्ट पुरस्कार पाएँ । त्यही समय अग्रज सरुभक्त दाइले संयोजन गर्नु भएको संरक्षण कविता यात्रामा स्नेहपूर्वक आमन्त्रित भएर अन्नपूर्ण वेसक्याम्पदेखि धेरै गाउँहरूमा पुगेर प्रकृति, संस्कृति र जागृतिका कविता सुनाउँदै हिँड्ने अवसर प्राप्त भयो । ०५५ सालदेखि संरक्षण कविता आन्दोलनको संस्थापक भएर मानवकेन्द्रित दुनियाँबाट प्रकृतिकेन्द्रित दुनियाँको यात्री बनेँ । यही बेला मलाई लाग्यो, अझसम्म म लेखनको अव्यवस्थित यात्रामा थिएँ । अब लेखनको व्यवस्थित यात्रामा निस्कनु पर्छ । 

  • तपाईंलाई कलम समाउन प्रेरित गर्ने कुराहरू के–के होलान् ? लेख्दै गर्दा लेखनको मूल भागमा तपाईं आफ्ना पाठकलाई राख्नु हुन्छ वा स्वयंलाई ? 

प्रकृति, मानिस, मनोविज्ञान, समाज, विसङ्गति र जीवनको अर्थको खोजको यात्रा नै मेरो लेखनको प्रेरणा स्रोत हो । यसभन्दा पर गएर केही लेखेँ जस्तो लाग्दैन । सामाजिक विसङ्गति र यसले पक्रिएको विभेदको मूलजराले मलाई सधैँ सोचमग्न गराउँछ । सज्ञानको यत्रो क्रान्ति हुँदै यहाँसम्म आइपुगेको मानिसले नै आफ्नो धर्म, राजनीति, वर्ग, जात, लिङ्ग, क्षेत्र, राष्ट्र, भाषा आदिको अहङ्कारले रचेका महाआख्यानहरू र त्यसले मानव चेतनामा पारिरहेको दूषित प्रभावले मलाई चिन्तनशील बनाउँछ । 

लेखन पाठकमैत्री भए राम्रो, तर पाठक पनि समान रुचिका हुन्नन् । त्यसैले पाठक भनेको लेखकका लागि सायद कुनै निर्दिष्ट गन्तव्य होइन । एक लेखकले पाठकको हरेक केन्द्रलाई उत्तिकै सन्तुष्ट पार्ने सक्दैन । यस्तो भ्रमबाट म मुक्त छु । पाठकमैत्री हुनु भनेको प्रकारान्तरले पाठकको माग अनुसार लेख्नु पनि होला । पाठकको माग अनुसारमात्र लेख्दा लेखकको स्वतन्त्रता धरापमा पर्छ । म सोच्छु, कहिलेकाहीँ लेखकले मागलाई मात्र होइन आपूर्तिलाई पनि ध्यान दिएर लेख्ने हिम्मत गर्नु पर्छ । 

मागलाई मात्र ध्यान दिँदा प्रयोगको खेलभूमि मानिने कला खतरामा पर्न सक्छ । एकै प्रकारको साहित्य रचनाको बाढी आउन सक्छ । उता आपूर्तिलाई मात्र ध्यान दिँदा कला अत्यन्त भारी, बोझिलो, अमूर्त र उपदेशमुखी मात्र बन्न सक्छ । यस्तो सिर्जनामा लेखक अनावश्यक हाबी हुने खतरा भएकाले प्रयोगको दुरुपयोग हुनसक्छ । म पाठकमैत्री र लेखकमैत्री दुवै अतिको मध्यमा कतै छु । म मेरो स्वभाव अनुरूपको प्रतिबिम्ब चाहन्छु मेरो लेखनमा । 

  • साहित्यलाई हल्‌का वा गह्रुँगो भनेर छ्टयाउन मिल्छ कि मिल्दैन ? 

पाठकको दृष्टिकोणसँग गएर प्रत्यक्ष ठोक्किने कुरा हो हलुका वा गह्रुँगो साहित्यको विषय । दृष्टिकोण अत्यन्त निजात्मक वा व्यक्तिगत हुन्छ । कसैलाई हलुका लागेको रचना अर्कोलाई गह्रुँगो लाग्न सक्छ । मलाई लाग्छ, साहित्य कलात्मक मूल्य र वैचारिक घनत्वको सन्तुलित लेपनले गह्रुँगो हुने हो । पर्सेप्सनबाट माथि उठेर सिकाई, संज्ञान र अन्तरदृष्टिको खुलेको पाठकले मात्र रचनाको वास्तविक मूल्य निरूपण गर्न सक्छ । म यस्तो यात्राको एक बटुवा बन्न चाहन्छु । मलाई गम्भीर वा हलुका लेखक मानिदिने सर्वाधिकार मैले समय र पाठकको विवेकमा छोडिदिएको छु । 

  • अध्ययनमा तपाईंको रुचि केमा बढी छ ? आख्यान वा गैरआख्यान ?

पहिला आख्यान धेरै पढ्थेँ । अहिले सन्तुलन मिलाउन थालेको छु । लेखनलाई अतिसय भावुकता, अन्तिम सत्य मैले बुझेको हो भन्ने अतिवादी विश्वास प्रणाली र समालिन नसक्नुको चर्को चिन्तनबाट बचाउन गैरआख्यान पढ्नु अत्यन्त जरुरी छ । कतिपय अवस्थामा गैरआख्यानले लेखकको ज्ञानको अहङ्कार ध्वस्त पारिदिने ताकत राख्छ र लेखकलाई उसको वास्तविक धरातल बताइदिन्छ । सार्थक लेखकले गैर आख्यानको अध्ययनबाट आफ्नो मेटामर्फोसिस गर्छ । ऊ झुसिलकिराबाट पुतली बन्छ । 

  • पछिल्लो समय तपाईंले पढेको पुस्तक कुन थियो ?

पछिल्लो पटक पढेको पुस्तक युगदेखि युगसम्म हो । मित्र यज्ञश जीले नायक राजेश हमालसँग लिएको अन्तरवार्ताहरूको सँगालो । राजेश हमालसँगै नेपाली सिनेमा, उनका पारिवारिक र प्रेम सम्बन्धहरू, उनको दृढलब्धी अनि सफलता, साहित्य र सिनेमाको अन्तरसम्बन्ध बारे उनको बुझाई आदि पढ्दा उपलब्धीमूलक नै लाग्यो । सर्वाेत्तम श्रेष्ठले नेपालीमा अनुवाद गर्नु भएको चिनियाँ लेखक मो यानका कथा र उपन्यास पढ्दै छु ।

  • तपाईंलाई असाध्यै प्रभाव पारेका पाँच/पाँच वटा नेपाली र विदेशी पुस्तकका नाम लिनु पर्दा क–कसको नाम लिनु हुन्छ ?

मन परेका पाँच किताब रोज्न निकै जटिल छ । नेपालीमा भूपी शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’, शंकर लामिछानेको ‘एब्स्टाक्ट चिन्तन प्याज’, लक्ष्मीप्रसाद देवकोटाको ‘लक्ष्मी निबन्ध संग्रह’, डोरबहादुर विष्टको ‘विकाश र भाग्यवाद’, जनकलाल शर्माको ‘हाम्रो समाज’, उमाकान्त पौडेलको ‘बुद्धकालीन समाज’, पारिजातको ‘एक चित्रमय सुरुवात’, नारायण ढकालको ‘शोकमग्न यात्री’, नयनराज पाण्डेको ‘लु’, गोविन्द वर्तमानको ‘सोह्र साँझहरू’, रोशन शेरचनको ‘गल्ली संसार’, तीर्थ गुरुङको ‘हिउँको गीत’ आदि ।

त्यस्तै विदेशी पुस्तकमा हर्मन हेस्सेको ‘सिद्धार्थ’, पाव्लो नेरुदाको ‘ट्वान्टि लव पोयम्स एण्ड अ सङ् अफ डिस्पेयर’, मार्खेजको ‘वन हन्ड्रेड इयर्स अफ सोलिच्युट’, दोस्तोभस्कीको ‘क्राइम एण्ड पनिस्मेन्ट’, पर्ल एस बकको ‘द गुड अर्थ’, हर्नेस्ट हेमिङ्वेको ‘द ओल्ड म्यान एण्ड द सी’, युवल नोहा हरारीको ‘स्यापियन्स’ आदि । 

  • भर्खरै मात्र तपाईंको नयाँ निबन्ध संग्रह ‘मध्यको उज्यालो’ प्रकाशित भएको छ । पाठक र समीक्षकबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

लोकार्पण कार्यक्रममा बोल्ने बक्ताहरूको समीक्षाले सन्तुष्टि दिएको छ । सामाजिक सञ्जाल, भेटघाट वा अन्य माध्यममार्फत पाएका टिप्पणीहरूले उत्साहित बनाएका छन् । वैचारिक निबन्धमा लेखकले आत्मप्रकाशन र वैचारिक प्रस्ताव नै राख्ने हो । चिन्तनपरक निबन्धहरू पनि भएकाले गम्भीर समीक्षाको पर्खाइमा छु । 

  • नेपाली साहित्यको पछिल्लो क्राफ्टिङ र लेखनबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ? साहित्य कतै अल्मिलिएझै लाग्दैन ? 

यो बहुत जटिल प्रश्न हो । यसका कम्पोनेन्टबारे मिहिन ढंगले नबुझी सन्तुष्टि/असन्तुष्टि भन्नै गाह्रो छ । सन्तुष्टि/असन्तुष्टि सापेक्षित विषय भए । सायद यस विषयमा केही भन्ने ल्याकत छैन मसँग । किनभने मैले पढ्ने विदेशी साहित्य भनेको हिन्दी वा अङ्ग्रेजी मात्र हो । अरू भाषाको पढे पनि अङ्ग्रेजी वा हिन्दीमै त हो । 

नेपाली साहित्यको पछिल्लो अवस्थाबारे बोल्ने आधारभूत प्रश्नहरू के–के हुन् ? नेपाली साहित्यको विगतको विरासतसँग तुलना गरेर हेर्ने कि विश्वका अन्य भाषामा लेखिएको पछिल्लो साहित्यसँग ? विदेशी भाषामा पनि हिन्दी र अङ्ग्रेजी साहित्यसम्म मात्रै छ हाम्रो पहुँच । त्यसैले मलाई अचेल आफ्नै सिर्जना कर्ममा सकेसम्म प्रतिबद्ध भएर गम्भीरता पूर्वक निरन्तर लागिरहनु पर्छ भन्ने मात्र लागिरहन्छ । अरू तपसिलका विषय हुन मेरा लागि । 

  • नेपालमा हरेक १०–१५ वर्षमा ठुला राजनीतिक वा सामाजिक उथल–पुथल भइरहेका हुन्छन् । तर नेपाली साहित्यमा त्यसको प्रतिबिम्ब खासै देख्न पाइएको छैन किन ? 

आन्दोलन र परिवर्तनपछि त्यस विषयमा साहित्य कम लेखिएको जस्तो त लाग्दैन । गहिरिएर पढ्दा नेपाली साहित्य कुनै न कुनै रूपमा राजनीतिक आन्दोलनहरू र तिनीहरूका प्रभावहरूले भरिएको नै देखिन्छ । यथार्थ कस्तो छ भने आन्दोलन यति छिटोछिटो भइरहेछन् कि लेखकलाई पक्रिन गाह्रो भइरहेछ । कुन आन्दोलन लेख्ने ? कुन नलेख्ने ? लेखकहरूले तैयारी गर्दागर्दै अर्को आन्दोलनको सुरु भइसकेको हुन्छ । 

अर्को कुरा, आन्दोलनबारे लेखकका आफ्ना दृष्टिकोणहरू हुन्छन् । सहमति वा असहमति हुन्छन् । केही लेखकहरूलाई त्यस्ता राजनीतिक मुद्दाहरूमा लेख्नु इतर विचार बोक्नेहरूको बहिष्करणमा परिने वा अनर्थमा पाठक घटाउनु जस्तो पनि लाग्न सक्छ । विशेष गरेर सबैको प्रिय लेखक बन्ने भ्रममा कतिपय लेखक खुलेर लेख्न डराउँछन् । उनीहरूलाई थाहा हुन्न कि सबैको लागि प्रिय लेखक बन्नु असम्भव प्रायः हो । तथापि उनीहरूलाई लागि रहन्छ ।

  • हाम्रै जस्तै सामाजिक, आर्थिक अवस्थितिका मुलुकहरू साहित्यको विश्व बजारमा पहुँच राख्छन् तर हाम्रो साहित्यको त्यहाँ कुनै चर्चा समेत हुँदैन, यस्तो किन ?

विश्व बजारमा खासै भिजिवल भएको जस्तो लाग्दैन हाम्रो साहित्य । यस विषयमा मेरो कुनै गम्भीर अध्ययन छैन । त्यसैले यसबारे धेरै बोल्नु पनि त्यति राम्रो होइन । तर, सरसर्ती बुझ्दा मलाई लाग्ने कुरा के हो भने विभिन्न कारण नेपाली गुणस्तरीय साहित्यको अनुवादमा चासो र गुणस्तरीय अनुवादमा ध्यान पुगेको छैन । ट्रान्सक्रियसनको तहमा होइन, हाम्रो साहित्य सामान्य ट्रान्सलेशनमा नै आनन्द मानिरहेछ । कमजोर अनुवादले लेखनको शक्ति ध्वस्त पारिदिन्छ । 

कुनै पनि देशको साहित्यको जति धेरै भाषामा अनुवाद हुन्छ, त्यो भाषाको त्यति नै धेरै महिमा र गरिमा बढ्ने हो । अङ्ग्रेजी भाषामै नगन्य रूपमा अनुवाद भएको हाम्रो साहित्य अरू भाषामा त झन बिरलै पुगेको हुनुपर्छ । हामी त्यसमा निकै पछाडी छौँ । यसको कारण स्पष्ट छ, हाम्रो राष्ट्रिय नीति सफ्ट पावरको विकाशमा केन्द्रित छैन । कुनै पनि देशको साहित्य कला त्यो देशको समृद्धिको सबैभन्दा मूल्यवान सफ्ट पावर हो भन्ने कुनै बेला हामीले बुझौँला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप