औषधी व्यवसायीहरूको चेतावनी : माग पूरा नभए कठोर निर्णय लिन बाध्य हुन्छौँ
सारांश
- औषधी व्यवसायीहरूले औषधी ऐनको दफा ११ को उपदफा ५ खारेज गर्न माग गर्दै धर्ना दिएका छन्।
- व्यवसायीहरूले स्वास्थ्य मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए र सरकारले माग पूरा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।
- औषधि व्यवसायी संघले मङ्सिर १७ गतेसम्म माग पूरा नभए पसल बन्द गर्ने चेतावनी दिएको छ।
काठमाडौँ । औषधी व्यवसायीहरूले औषधी व्यवस्था विभागमा धर्ना दिएका छन् । आइतबार बिहान व्यवसायीहरूले विभागमा धर्ना दिएका हुन् । उनीहरुले औषधि ऐन, २०३५ को दफा ११ को उपदफा ५ खारेज गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा उत्रिएका व्यवसायीहरूले हातमा कालोपट्टि बाँधेर उक्त उपदफाको विरोध गरेका छन् । विरोध कार्यक्रममा बोल्दै नेपाल औषधि सङ्घ, काठमाडौँ जिल्ला शाखाका महासचिव शोभमान श्रेष्ठले औषधी ऐन, दफा ११ लाई संशोधन गर्दा औषधी व्यवसायीहरूलाई पलायन गर्न खोजिएको आरोप लगाए ।
उनले उक्त दफाको उपदफा ५ तत्काल खारेज गर्न माग गरे । सरकारले मङ्सिर १७ गतेसम्म पनि आफूहरूका माग पूरा नगरे कठोर निर्णय लिएर आन्दोलनमा उत्रिने उनले चेतावनी दिए । सेवाग्राहीको स्वास्थ्यलाई ख्याल गरेर अहिलेसम्म औषधी पसलहरू खोलिरहेको बताउँदै श्रेष्ठ आइतबार दिनको १ घण्टा, सोमवार २ घण्टा गर्दै क्रमशः १७ गतेसम्म एक घण्टा बढाएर पसल बन्द गर्ने चेतावनी दिए ।
उनले भने- ‘जुन औषधि ऐन, दफा ११ लाई संशोधन गरेर ल्याइसकेपछि हाम्रो व्यवसायलाई पलायन गर्न ल्याइएको उपदफाको विरुद्ध नेपाल पशुपंक्षी औषधि व्यवसायी सङ्घ, नेपाल आयुर्वेद औषधि व्यवसायी सङ्घ, नेपाल औषधि व्यवसायी सङ्घ, नेपाल औषधि आयातकर्ता सङ्घहरू मिलेर सङ्घर्ष समिति बनाएका छौँ । तत्कालीन अवस्थामा स्वास्थ्य मन्त्री प्रदीप पौडेल रही रहँदा यसबारे प्रोस्टेट गराएका थियौँ । उहाँलाई जानकारी गराएका थियौँ । यो त अति नै क्रूर किसिमको नियम बनाएको रहेछ, एक हप्ताभित्र सम्बोधन गर्छौं भन्नुभएको थियो । मन्त्रीज्यूलाई पनि ध्यानाकर्षण पत्र बुझाएका छौँ । स्वास्थ्यमन्त्रीले २ गते पठाएको ध्यानाकर्षण पत्र ९ गतेसम्म पनि पाउनुभएको रहेनछ । म सम्बोधन गर्छु भन्नुभएको थियो । १० दिनको अल्टिमेटम दिएका थियौँ । ११ गते बाध्य भएर एक घण्टाको मौन धारण गरेका थियौँ । सेवाग्राहीको स्वास्थ्यलाई ख्याल गरेर काम गरिरहेका छौँ ।’
श्रेष्ठले थप भने– ‘आज हाम्रा सम्पूर्ण औषधि पसलहरू ११ देखि १२ बजेसम्म सटर डाउन भएका छन् । आज पनि माग पूरा भएनन् भने भोलि दुई घण्टा, पर्सि तीन घण्टा गरेर क्रमशः १६ गतेसम्म माग सम्बोधन भएनन् भने १७ गतेदेखि यो भन्दा कठोर निर्णय लिएर आन्दोलनमा उत्रिनेछौँ ।’
केही समय यता औषधि व्यवसायीहरूले आफ्नो मागहरु पूरा गर्न माग गर्दै धर्ना दिइरहेका छन् । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण