बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

हेटौँडा सडक विस्तार शीघ्र अघि बढाउन ट्रक व्यवसायी महासङ्घको आग्रह

कानुनअनुसार मुआब्जा उपलब्ध गराउन माग
सोमबार, १५ मङ्सिर २०८२, १४ : ४१
सोमबार, १५ मङ्सिर २०८२

सारांश

  • नेपाल ट्रक यातायात व्यवसायी महासंघले नारायणगढ-हेटौँडा र पथलैया-हेटौँडा सडक विस्तारको लागि सरकारलाई आग्रह गरेको छ।
  • हेटौँडामा सडक विस्तार आवश्यक रहेको र यसले नागरिक र व्यवसायीलाई सुविधा पुर्‍याउने महासंघको भनाइ छ।
  • सडक विस्तार गर्दा प्रभावित हुनेहरूको उचित मुआब्जा र पुनर्स्थापनाको व्यवस्था गर्न महासंघले सरकारलाई आग्रह गरेको छ।

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले नारायणगढ–हेटौँडा र पथलैया–हेटौँडा सडक विस्तार कार्यलाई यथाशीघ्र अघि बढाउन सरकारलाई आग्रह गरेको छ।

हेटौँडा क्षेत्र वर्षौँदेखि अत्यधिक ट्राफिक चाप, अव्यवस्थित पार्किङ र साँघुरो सडकका कारण जटिल बन्दै गएकाले विस्तार अब अपरिहार्य बनेको महासङ्घले बताएको छ।

हेटौँडा बागमती प्रदेशको राजधानी भएर पनि लामो समयदेखि सडक सुविधाको अभावमा नागरिक र व्यवसायी दिनहुँ समस्यामा परेको महासङ्घका महासचिव राजेन्द्र विक्रम बानियाँले बताए । 

विसं २०१२–१३ सालमा निर्माण भएको हालको सडक वर्तमान आवश्यकता पूरा गर्न नसकेकाले विस्तारलाई ढिलाइ गर्न नहुनेमा महासङ्घले विशेष जोड दिएको छ।

यातायात चाप बढ्दै जाँदा दुर्घटना जोखिम समेत बढेको परिस्थितिमा विस्तार कार्यलाई छिटो, प्रभावकारी र योजनाबद्ध रूपमा अघि बढाउनु आजको आवश्यकता भएको जारी विज्ञप्तिमा भनिएको छ । 

यसैबिच मंसिर ५ गते गोरखापत्रमा प्रकाशित सडक डिभिजन कार्यालयको सूचनामा हेटौँडा–१५ रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको दायाँ–बायाँ २५–२५ गजभित्रका संरचना हटाइने जानकारी दिइएको थियो । 

स्थानीयवासी र व्यवसायीमा चासो उत्पन्न भएको छ।विस्तार छिटो गर्नुपर्ने धारणा राख्दै आएको महासङ्घले प्रभावित सम्पत्तिधनीको अधिकार संरक्षण पनि राज्यले गर्नैपर्ने भन्दै कानुनअनुसार उचित मुआब्जा, क्षतिपूर्ति र पुनर्स्थापनाको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ।

महासङ्घले सडक विस्तार अब ढिलो नगरोस्, तर प्रभावितको हकहितलाई सम्मान गर्दै अघि बढोस् भन्ने सन्देशसहित दुवै पक्षको हित सुनिश्चित गर्ने संयमित प्रक्रिया अपनाउन सरकारलाई सुझाव समेत दिएको छ।

WhatsApp Image 2025-12-01 at 12.40.11 PM

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप