टेबल चलाउने समूहबाटै लुटियो क्यासिनो प्राइडको १४ करोड
सारांश
- प्रहरी अनुसन्धानबाट हायात रिजेन्सीमा भएको लुटपाटमा क्यासिनोका कर्मचारी नै संलग्न रहेको पुष्टि भएको छ।
- लुटपाटमा संलग्न भएको आरोपमा दावा शेर्पा र रञ्चित खड्गी पक्राउ परेका छन्, जसले लुटको योजना बनाएका थिए।
- लुटपाटमा क्यासिनोमा रहेका संरचनामा तोडफोड र आगजनी समेत भएको थियो, र काभ्रेली समूहको संलग्नता रहेको आशंका छ।
काठमाडौँ। बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सीमा सञ्चालित प्राइड क्यासिनो त्यहाँ टेबल चलाउने समूहबाटै लुटिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
लुटमा संलग्न आरोपमा मंसिर १२ मा सेठ्ठी भनेर चिनिने दावा शेर्पा र रने भनेर चिनिने रञ्चित खड्गी पक्राउ परेका छन् । गुण्डागर्दी पृष्ठभूमिका शेर्पा काठमाडौं–६ बौद्धमा बस्छन् । २९ वर्षीय खड्गी बुढानलिकण्ठ नगरपालिका–१२ का स्थानीय हुन् ।
प्राइड इन्टरटेनमेन्ट प्रालि ‘क्यासिनो प्राइड’ मा सेठ्ठीले टेबल चलाएका छन् । क्यासिनो सञ्चालकसँग टेबल किनेर जुवा खेलाउने गरिन्छ । तिनै टेबल सञ्चालक सेठ्ठीले भदौ २४ मा जेनजी प्रदर्शनको मौकामा लुटको नेतृत्व गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले बताए । उनले भने, ‘सेठ्ठीले नै घरेलु हतियार बोकेर लुट्ने कामको नेतृत्व गरेको देखिन्छ ।’
सेठ्ठी क्यासिनोका स्टाफ पनि हुन् । नेपाली जुवाडेहरूलाई भारतीय नागरिकको परिचयपत्र बनाएर उनले क्यासिनोमा प्रवेश गराउने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । प्रदर्शन हुँदा क्यासिनोबाट नगद १४ करोड लुटपाट भएको क्यासिनो सञ्चालकले दाबी गरेका छन् । अराजक जत्थाले लुटपाटपछि क्यासिनोभित्र रहेका संरचनाहरू तोडफोड र आगजनी गरेर फरार भएका थिए ।
‘रने’ को समूह सुरुमा क्यासिनोमा प्रवेश गरेको थियो । सो समूहले क्यासिनो फुटाएर आगजनी गर्न थालेपछि सेठ्ठीले अर्को समूह लिएर क्यासिनोमा प्रवेश गरेको अनुसन्धानबाट थाहा भएको छ । सेठ्ठी अर्का गुण्डा नाइके दावा लामासँग निकट छन् । २०७५ सालमा प्रहरीले निगरानी बढाएपछि काभ्रे घर भएका दावा सिक्किममा लुकेर बसेका थिए । त्यसबेला सेठ्ठी पनि उनीसँगै सिक्किममा गएर बसेका थिए । सेठ्ठीसँगै ‘काभ्रेली समूह’ क्यासिनोमा प्रवेश गरे । काभ्रे घर भएर काठमाडौँमा गुण्डगर्दी गर्नेहरूलाई प्रहरीले काभ्रेली समूह भन्दै आएको छ ।
काभ्रेली समूहमा आबद्ध कुलध्वज लामा ‘कुले’ र सञ्जय तामाङ सहितका युवाहरू लुटमा संलग्न रहेको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसरका एक जना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्, ‘सीसीटीभी फुटेज र भिडियोका आधारमा काभ्रेली समूहका सदस्यहरूको पहिचान हुँदै छ ।’
सञ्जय तामाङ नमोबुद्ध नगरपालिकाको वडा सदस्य हुन् । दरबारमार्गस्थित लिक्विड लाउन्जमा रमेश भट्टलाई कुटेको आरोपमा २०७९ पुस ७ मा काभ्रेली समूहका कुलध्वजसहित ८ जना पक्राउ परेका थिए । कुलध्वज रोशी गाउँपालिका–४ का स्थानीय हुन् ।
काभ्रेली समूहले २०७९ जेठ २६ मा प्लाटिनम क्लबमा बालुवाटार घर भएका प्रतिस भास्कर सिंहलाई आक्रमण गरेका थिए । सो घटनामा कुलध्वज पाँच लाख धरौटीमा छुटेका थिए ।
लुटेराहरूले खुकुरी बोकेर क्यासिनोमा प्रवेश गरेर लुटपाट गरेर हिँडेको भिडियोमा देखिन्छ । होटल हायात रिजेन्सीले जेनजी प्रदर्शनमा भएको लुटपाट र आगजनीबारे अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
-
चितवनमा कृष्णसार स्थानान्तरण गर्ने तयारी अन्तिम चरणमा
-
चितवन प्रहरीद्वारा सापकोटा सम्मानीत
-
मेचीनगरमा दुई वटा ‘सुरक्षित कक्ष’ स्थापना
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण