शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
मनोरञ्जन

कम्प्युटर इन्जिनियर रक्षाको ‘ब्युटी क्वीन’ यात्रा

मङ्गलबार, १६ मङ्सिर २०८२, ०८ : ४३
मङ्गलबार, १६ मङ्सिर २०८२

सारांश

  • कम्प्युटर इन्जिनियर रक्षा पन्त 'मिसेस नेपाल वर्ल्ड-२०२५' को ताज जित्न सफल भइन्।
  • विवाहपछि महिलाका सपनामा ब्रेक लाग्छ भन्ने सामाजिक मान्यतालाई उनले गलत साबित गरिन्।
  • उनले मानसिक स्वास्थ्यबारे सचेतना फैलाउने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने योजना बनाएकी छिन्।

काठमाडौँ । सामान्य दैनिकीभित्र असामान्य सपना देख्न नै सकसपूर्ण हुन्छ, त्यो सपनालाई विपनामा परिणत गर्नु कति चुनौतीपूर्ण होला ? कम्युटर इन्जिनियर रक्षा पन्त यसको साक्षी हुन् । 

बिहान उठेर ‘फुडमान्डु’को अफिस जानु, दिनभर आफ्नो जिम्मेवारी सम्हाल्नु र साँझ घर फर्किएर पारिवारिक भूमिका निभाउनु डेढ वर्षयताको उनको दैनिकी । तर यो दैनिकीमा केही बद्लाव ल्याइदिएको छ, त्यही सामान्य दैनिकीभित्रको असामान्य सपनाले । रक्षाले हालै आफ्नो नामको अगाडि आफ्नो सपनाको विशेषण थप्न सफल भएकी छन्- ‘मिसेस नेपाल वर्ल्ड-२०२५’ । 

काठमाडौंको प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा मिसेस नेपालको ताज पहिरिँदै गर्दा उनको मुहारमा देखिएको चमक सौन्दर्यको मात्रै थिएन, दृढ संकल्प र निरन्तर मेहनतको प्रतिफलको थियो । मिसेस नेपाल विवाहित महिलाहरुको प्रतिभा प्रस्फुटन र व्यक्ति विकासका लागि गरिने सौन्दर्य प्रतियोगिता हो । 

पेसाले कम्प्युटर इन्जिनियर, कर्मले कर्पोरेट लिडर र अहिलेको परिचयले ‘ब्युटी क्विन’ रक्षा प्रतियोगितामा विजेताको रूपमा आफ्नो नाम घोषणा हुँदा संसार एकछिन रोकिएजस्तो महसुस भएको सुनाउँछिन् । 

‘सेकेन्ड रनरअप र फस्ट रनरअपको नामपछि विजेताको नाम उद्घोष हुर्दै गर्दा मेरो मुटुको धड्कन तीव्र थियो, म नभर्स जस्तै थिए’, रातोपाटीसँग अन्तर्वार्ताका क्रममा रक्षाले भनिन्, ‘विजेतामा आफ्नो नाम सुन्दा म एकदम इमोसनल भएकी थिएँ । त्यो लामो जर्नी, गरेको मेहनत र सङ्घर्षका दिनहरू सम्झिँदा आँखा भरिएर आए । मञ्चबाट पहिले भगवानलाई धन्यवाद दिएँ ।‘ 

हुन प्रतियोगितामा विजेता बन्नु हरकोहीका लागि आकस्मिक हुने गर्छ । रक्षाका लागि पनि त्यस्तै भयो । ‘एउटा सोचले त आएको नै हो । जित्छु भन्ने मनमा सधैँ थियो । तर त्यो विश्वासलाई यथार्थमा बदल्न मैले हरेक दिन आफूलाई निखार्दै लगेँ,’ उनी भन्छिन्, ‘तर पनि जित त अप्रत्यासित नै हुन्छ नि ।‘

WhatsApp Image 2025-12-01 at 11.31.15 (1)

सन् २०१७ मा कम्प्युटर इन्जिनियरिङ पास गरेकी रक्षाले आफ्नो करिअर कोडिङ र सफ्टवेयरबाट ‘फुडमान्डु’ व्यवस्थापनमा लगाइरहेकी छन् । ‘इन्जिनियरिङ पढ्दै गर्दा मलाई कोडिङमै भविष्य बन्ने हो कि नबन्ने हो हल्का डाउट थियो’, आफ्नो करिअरको टर्निङ पोइन्टबारे उनी भन्छिन्, ‘मलाई बोल्न रमाइलो लाग्ने, लिडरसिप क्वालिटी देखाउन मनपर्ने थियो ।’ फाइनल इयरमा पुग्दै गर्दा ‘कोडिङमा इन्ट्रेस्ट छैन भने जहाँ राम्रो गर्न सक्छु, त्यहीँ किन नजाने’ भन्ने सोच उनलाई पलायो । जसकारण रुक्षाले आफ्नो बाटो मोडिन् र म्यानेजमेन्ट तथा लिडरसिपको दुनियाँमा कदम राखिन् । 

विवाहपछि उडान

भनिन्छ, नेपालजस्तो विकासोन्मुख मुलुकमा विवाहपछि महिलाका सपनाहरूमा ‘ब्रेक’ लाग्छ । यो सामाजिक भाष्यलाई उनको मिसेस नेपाल यात्राले गलत सावित गरिदिएको छ । किनभने विवाहको डेढ वर्षमै उनले ‘मिसेस नेपाल वर्ल्ड’ जस्तो उपलब्धि हासिल गरिन् । 

WhatsApp Image 2025-12-01 at 11.31.15

रक्षाको यो यात्रा सहज पक्कै थिएन । प्रतियोगिताको तयारीका क्रममा उनले साढे दुई महिना निकै दुःख गरिन् । बिहान ७ बजे नै ट्रेनिङका लागि पुग्थिन् । दुई घण्टाको कडा प्रशिक्षणपछि हतार–हतार अफिस (फुडमान्डु) जानु, दिनभरको काम सकेर घर फर्किनु र घरको जिम्मेवारी पूरा गर्नु । यो उनको दैनिक रुटिन थियो । व्यस्तताले अढाई महिना कसरी बित्यो आफूले थाहा नै नपाएको उनी बताउँछिन् । यसको पछाडिको कारण हो- उनको परिवारको साथ, विशेषगरी श्रीमान् र सासू–ससुराको । 

‘मेरो घर र माइती दुवैतिरबाट एकदमै सपोर्ट मिल्यो । परिवार भनेको अन्डरस्ट्यान्डिङ हो । कसैलाई काम पर्दा अर्कोले बुझिदिने वातावरण भयो भने महिलाले जस्तोसुकै शिखर चुम्न सक्छन्,’ उनी भन्छिन् । अफिसले पनि चाहिएको बेलामा बिदा दिएर हौसला प्रदान गरेको रक्षा कहिल्यै बिर्सिन्नन् । 

कुनै पनि पेसामा कसै न कसैको प्रेरणाले नै लागिन्छ । रक्षाका लागि उनका श्रीमान् सुरज पन्थ र दिदी सुरक्षा पन्त आइडल हुन् । सुरक्षा नेपाली फिल्म उद्योगकी लोकप्रिय अभिनेत्री हुन् । अर्को कुरा सुरक्षा पनि इन्जिनियरिङ पृष्ठभूमिकै हुन् । ‘डेटा एनालिस्ट श्रीमान् र अभिनेत्री दिदीको सफलता र सङ्घर्षले मलाई सधैँ अगाडि बढ्न प्रेरित गर्छ,’ रक्षा सुनाउँछिन् । 

त्यसो त ब्युटी पेजेन्टमा भाग लिन उनलाई प्रेरित गर्ने अर्को एउटा घटना छ । उनका श्रीमानका साथीकी श्रीमती, जसका बच्चाबच्ची पनि थिए, उनले पनि यस्तै प्रतियोगितामा भाग लिएर राम्रो गरेकी थिइन् । ‘उहाँको स्टोरी सुन्दा मलाई लाग्यो, उहाँले बच्चाबच्ची र घर सम्हालेर गर्न सक्नुहुन्छ भने म किन सक्दिनँ ?’  रक्षा खुसी हुँदै भन्छिन्, ‘एउटा महिलाले अर्को महिलालाई यसरी नै प्रेरित गर्न सक्छिन् ।’

प्रतियोगितापछि ‘स्ट्रोङ’

कतिपय प्रतियोगी ताज जिते उपलब्धि, नजिते केही भएन भन्छन् । उनले ताज बाहेक प्रतियोगिताबाट धेरै उपलब्धि प्राप्त गरेकी छन् । 

‘मञ्चले केवल सुन्दर देखिन मात्र सिकाएन, समयको महत्व बुझ्न, टाइम म्यानेजमेन्टको ठुलो पाठ पनि सिकायो,’ रक्षा भन्छिन्, ‘प्रतियोगितामा सहभागी अन्य महिलाहरूको सङ्घर्ष र सफलताका कथाहरूले मलाई झन् परिपक्व बनायो । धेरैको स्टोरी सुन्दा अझ इन्स्पायर्ड भएर भित्रैबाट म बलियो भएको महसुस गरें ।‘

WhatsApp Image 2025-12-01 at 11.31.19

हुन त नेपालमा हुने सौन्दर्य प्रतियोगिताहरूमा ‘चलखेल’ हुन्छ भन्ने हल्ला छ । उनी यसलाई अस्वीकार गर्छिन् । आफूले त्यस्तो केही महसुस नगरेको बताउने उनी आफ्नो प्रतिस्पर्धा एकदमै फेयर र प्रतिभाको कदर भएको दाबी गर्छिन् । 

पछिल्लो समय सौन्दर्य प्रतियोगिताहरूमा ‘ब्युटी विथ पर्पस’ क्याटगोरीले पनि महत्त्वपूर्ण स्थान पाउने गरेको छ । रक्षाले यसमा मानसिक स्वास्थ्यको विषय प्रस्तुत गरेकी थिइन् ।  ‘मेरो एउटै सन्देश छ मेन्टल हेल्थलाई फोकस गर्नुस् । हामी शारीरिक स्वास्थ्यको कुरा गर्छौँ, तर मानसिक स्वास्थ्यलाई बेवास्ता गर्छौँ,’ उनी सुझाउँछिन्, ‘यदि तपाईँको मेन्टल हेल्थ राम्रो छ भने तपाईँले संसार जित्न सक्नुहुन्छ ।’ 

विशेषगरी महिलाहरूको मानसिक स्वास्थ्यमा बढी केन्द्रित उनी समाज, परिवार र करिअरको दबाबबिच पिल्सिएका महिलाहरूले आफ्नो मानसिक अवस्थाबारे सोच्ने अवसर नपाउने उनको बुझाइ छ । मिसेस नेपाल वर्ल्डको प्लाटफर्म प्रयोग गरेर समाजमा मानसिक स्वास्थ्यबारे सचेतना फैलाउने रक्षाको योजना छ ।

WhatsApp Image 2025-12-01 at 11.31.16

अबको गन्तव्य के त ? रक्षाको आँखा अब अन्तर्राष्ट्रिय मञ्चमा छ । किनभने उनी छिट्टै मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दैछिन् । अमेरिकामा आयोजना हुने मिसेस वर्ल्डमा सहभागी हुने अवसर उनले मिसेस नेपालबाट प्राप्त गरेकी हुन् । त्यहाँ देशलाई कसरी चिनाउने, कसरी उपाधि हासिल गर्ने भन्नेमा आफ्नो ध्यान केन्द्रित भएको उनी सुनाउँछिन् । 

दिदी सुरक्षा अभिनेत्री भएपनि रक्षालाई भने अभिनयमा रुचि छैन रे । तर नृत्यमा चाहिँ ठुलो लगाव छ । फुर्सदको समयमा इन्स्टाग्राममा डान्स भिडियो हेर्ने र स्टेपहरू सिक्ने गर्छिन् । अफर आएमा म्युजिक भिडियोमा खेल्ने चाहिँ उनको रुचि रहेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप