डा. अमर गिरीका दुई कृति एकैसाथ बजारमा
काठमाडौँ । कविता, समालोचना, निबन्ध र राजनीतिक स्तम्भ लेखनमा समानान्तर कलम चलाउने डा. अमर गिरीका दुई साहित्यिक कृति एकैसाथ बजारमा आएका छन् ।
गिरीको छैटौँ कविता सञ्चयनका रूपमा ‘रातमा कलम’ र चिन्तनपरक निबन्धहरूको नयाँ सङ्कलन ‘समय, शब्द र संवाद’ बेला पब्लिकेसन्सले प्रकाशन गरेको हो ।
कवि गिरी २०३० को दशकदेखि नेपाली प्रगतिवादी कविताका क्षेत्रमा सक्रिय स्रष्टा हुन् । उनका यसअघि नै ‘घाम छेक्ने पहाड, तर पनि हामी जीवित छौँ, दुःसाध्य समय, शब्दहरूका बीचमा र समय संवाद जस्ता पाँच कविता कृति प्रकाशित छन् ।
गिरीका मौलिक र सम्पादित गरेर दर्जनौँ समालोचना कृति पनि प्रकाशित छन् । उनका प्रमुख समालोचना कृति हुन्– समय, समाज र संस्कृति, समकालीन नेपाली कविताको वैचारिक परिप्रेक्ष्य, भूमण्डलीकरण र साहित्य, साहित्य विमर्श, कवितामा वर्ग द्वन्द्व । उनको सम्पादन र सहसम्पादनमा थुप्रै समालोचना सँगालो प्रकाशित छन् ।
“एकै भञ्ज्याङ् चढ्दैमा बिसाइ नफेर्ने काव्ययात्री हुन् – अमर गिरी । कविताको उकालोमा पाँच दशकभन्दा बढी समय अथक यात्री हुनु आफैमा असाधारण साक्ष्य हो ।”
प्रकाशक बेला पब्लिकेसन्सले भनेको छ, “कवि गिरी २०३० को दशकदेखि प्रगतिवादी कविता धारामा अनवरत क्रियाशील छन् । समाज, प्रकृति, जीवन, दर्शन, वर्ग सङ्घर्षजस्ता स्थूल विषयदेखि मानवजीवनका सूक्ष्मतम मनोद्वन्द्व, प्रेम, पीडा, आशा, निराशा, चिन्ताजस्ता भावनालाई पनि सुन्दर शैलीमा अभिव्यक्ति दिन्छन् गिरीका कविताले । आम मान्छेका सुख दुःखलाई वाणी दिने, जीवन महत्ताको गाथा गाउने, सङ्घर्षशीलहरूसँग ऐक्यबद्धता जनाउने, विकृत दुनियाँको विरुद्धमा निर्धक्क उभिने – गिरीका यी कविता कोमल लवजका तिक्खर स्वरहरू हुन् ।”
पाँच दशकदेखि नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलन, साहित्य–फाँट र सङ्गठनका क्षेत्रमा पनि क्रियाशील गिरी प्रगतिशील लेखक सङ्घका पूर्वअध्यक्ष समेत हुन् । उनले नेपाली प्रगतिवादी कवितामा विद्यावारिधि अनुसन्धान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण