बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
एमाले महाधिवेशन

एमालेका युवा प्रतिनिधि भन्छन्– २५ प्रतिशत युवा केन्द्रीय सदस्य बनाऔँ

बुधबार, १७ मङ्सिर २०८२, १३ : ४५
बुधबार, १७ मङ्सिर २०८२

सारांश

  • नेकपा एमालेको महाधिवेशनमा युवा प्रतिनिधिहरूले केन्द्रीय कमिटीमा युवा सहभागिता बढाउन माग गरेका छन्।
  • एमालेले युवाहरूका लागि विशेष व्यवस्था गरेको र युवाहरू नेतृत्वमा आउन इच्छुक रहेको कुरा बताइएको छ।
  • युवा प्रतिनिधिहरूले पार्टीमा पुरानो र नयाँ पुस्ताको मिश्रण हुनुपर्ने र केपी शर्मा ओलीको नेतृत्व आवश्यक रहेको बताए।

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा निर्वाचित युवा प्रतिनिधिहरूले युवाहरूलाई केन्द्रीय कमिटीमा बढीभन्दा बढी समेट्नुपर्ने बताएका छन् । भावी नेतृत्व विकास गर्न ‘एमालेको अनुुहार’को रूपमा केन्द्रीय कमिटीमा कम्तीमा २५ प्रतिशत युवा हुनुपर्ने उनीहरूको माग छ ।

जेनजी आन्दोलनपछि राजनीतिमा युवाहरूको भूमिकाको चर्चा चुलिएका बेला एमालेको महाधिवेशन हलमा प्रवेश गर्ने युवाहरूको सहभागिता अर्थपूर्ण मानिएको छ ।

एमालेले प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट चुनिएर आउने प्रतिनिधि मध्ये चालीस वर्षभन्दा मुनी (अन्डर फोर्टी)को  अलग्गै क्षेत्र बनाएर त्यहाँ युवाहरू बिच मात्र प्रतिस्पर्धा गर्नुपर्ने विधि तय गरेको थियो ।

पार्टीको यो विधिले कम्तीमा १६५ जना युवा महाधिवेशन प्रतिनिधि बन्दै नेतृत्व छानिने र छान्ने प्रक्रियामा सामेल हुँदैछन् । एमालेका अनुसार चौथो महाधिवेशन पछाडी सबैभन्दा ठुलो सङ्ख्यामा युवा प्रतिनिधि ११ औँ महाधिवेशनमा सहभागी हुँदैछन् ।

युवा प्रतिनिधिहरूले अनुभव र आकाङ्क्षालाई समेटेर पार्टीले नेतृत्व छनौट गर्नुपर्ने बताएका छन् ।

युवालाई नेतृत्वमा पुर्‍याउने अभ्यास एमालेले विभिन्न फोरमहरूमा विगत देखि नै गरिरहेकोले अहिले पार्टीको मूल प्रवाह अर्थात् महाधिवेशन हलमा नै युवालाई आरक्षण गरेर एमाले युवा मैत्री पार्टी भएको नयाँ सन्देश भएको उनीहरूको धारणा छ ।

बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित युवा प्रतिनिधि लक्ष्मी यादव एकैचोटी एमालेले ठुलो सङ्ख्याका युवाहरूलाई महाधिवेशन प्रतिनिधि बनाएर राजनीतिमा युवाको ठाउँ छ भन्ने सन्देश दिएको बताउँछन् ।

‘एमालेले युवालाई यस अघि पनि ठाउँहरू दिएको हो तर त्यो कुरा चर्चामा थिएन । म दुई वर्ष देखि बारामा पार्टीको उपसचिव थिएँ’ ३८ वर्षीय यादव भन्छन्, ‘अहिले महाधिवेशन प्रतिनिधिमा चुनाव जितेँ । पहिला पनि युवालाई मौका दिइएको थियो । तर अहिले देशले नै देख्नेगरी एक्स्पोज भएको हो ।’

युवालाई नेतृत्वमा स्थापित गर्ने नाममा अनुभवी नेतृत्वलाई विस्थापन गर्ने सोच ल्याउनु नहुने यादवको भनाइ छ ।

‘देश र पार्टीको लागि अध्यक्ष केपी शर्मा ओली अहिलेको आवश्यकता हो । उहाँलाई मूल नेतृत्व मानेर भावी नेतृत्व विकास गर्नका लागि केन्द्रीय कमिटीमा युवाहरूको ठुलो सङ्ख्या प्रवेश गराउनु पर्दछ’ यादवको भनाइ छ ।

रुपन्देही २ बाट निर्वाचित युवा प्रतिनिधि बालकृष्ण पाण्डे एमालेले पार्टी केन्द्रमा ठुलो सङ्ख्यामा युवा प्रवेश गराउनका लागि नै आफ्नो उमेर समूहको प्रतिनिधित्व गराएको बताउँछन् ।

‘एमालेले जेनजी आन्दोलनपछि  युवाका लागि स्थान दिएको भन्ने कुरा गलत हो । एमालेले अनेरास्ववियुमा,युवा संघमा युवालाई मात्र नेतृत्व दिँदै आएको हो’ पाण्डे भन्छन्, ‘स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा २८ वर्ष भन्दा कम उमेरका विद्यार्थी मात्र प्रतिस्पर्धा गर्न पाउँछन् । त्यसमा हाम्रो सङ्गठनबाट सबैभन्दा धेरै युवाहरू नेतृत्वमा हुनुहुन्छ ।’

पार्टी र राजनीतिक मोर्चामा युवालाई स्थान दिनुपर्दछ भन्ने कुरा एमालेबाटै अरू पार्टी र समूहले पनि सिकेको दाबी पाण्डेको छ ।

कास्कीका नवराज ओझा यस पटक युवा क्षेत्रबाट पार्टीको महाधिवेशन प्रतिनिधि छानिएका छन् । ओझाको बुझाइमा नीति र नेतृत्व चयनमा पुरानो र युवा पुस्ताको मिश्रण हुनु जरुरी छ । ‘वर्तमान नेतृत्वको अनुभव र कार्य योजनालाई  युवाहरूले कार्यान्वयन गर्ने हो’३८ वर्षीय ओझा भन्छन्, ‘राजनीतिबाट टाढा रहेका युवालाई हामी जस्ता युवा नेताबाट राजनीतिको नजिक ल्याउने हो । हाम्रो जोड त्यस्ता युवालाई एमालेमा समाहित गर्नेमा केन्द्रित हुन्छ ।’

अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ बाट निर्वाचित ३० वर्षीय युवराज पौडेल पार्टीले दिएको यो अवसरलाई पार्टी हितकै लागि प्रयोग गर्ने बताउँछन् ।

‘११ औँ महाधिवेशनका युवा प्रतिनिधि पार्टीको परीक्षणकालमा छौं । महाधिवेशनमा हाम्रो भूमिका विवेकपूर्ण र नेतृत्वदायी भएमा आगामी महाधिवेशनमा युवाको संस्था थपिन सक्छ’ पौडेलले भने, ‘युवा जोसको नाममा बहकिने,पार्टीको मूल स्पिरिट भुल्ने र अरू कसैका एजेण्डा बोकेर हिँड्ने गल्ती भयो भने हामीलाई भर्खरै निर्वाचित गरेका कार्यकर्ताको समेत विश्वास गुमाउँछौँ ।’

केपी ओलीको आवश्यकता एमालेमा भएकै कारण विधान महाधिवेशनले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाएकोले सोही निष्कर्षलाई बोक्नुको विकल्प नभएको पौडेलको भनाइ छ ।

चितवनबाट निर्वाचित युवा प्रतिनिधि निशा अधिकारी महाधिवेशन प्रतिनिधिको रूपमा छनौट भएका युवा एमालेका पुँजी भएको बताउँछिन् ।

महाधिवेशनमा युवाहरूको उल्लेख्य सहभागिताले पार्टीमा युवा छैनन् भन्ने आरोपको खण्डन गर्ने उनको भनाइ छ ।

‘४० वर्ष मुनीका युवाहरू यस पटक अप्रत्याशित रूपमा एमालेको महाधिवेशनको हलमा प्रवेश गर्दैछन्’, ३६ वर्षीय अधिकारी भन्छिन् ‘यिनै प्रतिनिधिबाट धेरै जना युवाहरू नेतृत्वमा पुग्छौँ । जसले गर्दा एमालेमा अरू युवाको पनि आकर्षण बढ्छ ।’

एमालेले गत वर्ष देखि नै पार्टीका कमिटीहरूमा युवाको प्रतिनिधित्व सुनिश्चित गर्दै आएको छ । जस अनुसार वडा कमिटीमा ३३, पालिका कमिटीमा २०, जिल्ला र प्रदेशमा १५ प्रतिशत ४० वर्ष भन्दा कम उमेरका युवाका लागि आरक्षण कार्यान्वयन गरिसकेको छ । केन्द्रीय कमिटीमा १० प्रतिशत युवालाई आरक्षण गर्ने भनिए पनि युवाहरूले कम्तीमा २५ प्रतिशत केन्द्रीय सदस्य युवा हुनुपर्ने माग गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप