शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पराल बोकेका गाडी ट्राफिकको निसानामा, चालक आन्दोलनमा

बुधबार, १७ मङ्सिर २०८२, १७ : ५१
बुधबार, १७ मङ्सिर २०८२

सारांश

  • बारामा पराल र गहुँको छ्वाली बोकेका गाडीलाई ट्राफिक प्रहरीले रोकेपछि चालकहरूले राजमार्ग बन्द गरी आन्दोलन गरेका छन्।
  • किसानहरूले ओभरलोडको नाममा ट्राफिक प्रहरीले दुःख दिएको गुनासो गरेका छन्, भने प्रहरीले भने नियम उल्लंघन भएको बताएको छ।
  • पराल ओसारपसारमा रोक लगाउँदा दुर्घटनाको जोखिम कम हुने र कानुन कार्यान्वयनमा जोड दिइएको छ।

बारा  । पराल र गहुँको छ्वाली बोकेका गाडीलाई राजमार्गमा ट्राफिक प्रहरीले रोकेपछि चालकहरू आन्दोलित भएका छन् । 

चालकहरूले पूर्व–पश्चिम राजमार्गको पथलैया सडक खण्डमा सवारी साधन रोकेर मधेस प्रदेश ट्राफिक व्यवस्थापन कार्यालयको मूलगेटमा धर्ना दिएका छन् । मकवानपुरका ट्रक चालक गौतम मोक्तानले १० टन क्षमताको गाडीमा ट्राफिक प्रहरीले ४ टनभन्दा बढी पराल बोक्न नदिएको बताएका छन् । उनले राजस्व बुझाए पनि प्रहरीले ठाउँ–ठाउँमा गाडी रोकेर रकम माग्ने गरेको आरोप लगाए ।

मकवानपुर, चितवनका किसानहरूले पशुपालन तथा च्याउ खेतीका लागि मधेस प्रदेशबाट पराल लैजाने गर्दछन् । अन्य ठाउँको तुलनामा मधेसमा पराल बढी उत्पादन हुने र मूल्य पनि सस्तो हुन्छ । च्याउ उत्पादन किसान संघ नेपालका अध्यक्ष सन्तोष कार्कीले ओभरलोडकै बहानामा ट्राफिक प्रहरीले चालकहरूलाई दुःख दिने गरेको बताए । ‘अनेक बहाना बनाएर उहाँहरूले हाम्रो गाडी रोक्नुहुन्छ, किसानले उत्पादन गरेको पराल किसानकै गोठमा जाने हो,’ अध्यक्ष कार्कीले भने, ‘पराल र गहुँको छ्वाली बोकेका गाडी धेरै वर्षदेखि रोक्ने अनि छाड्ने क्रम निरन्तर चलिरहेको छ ।’ 

मधेस प्रदेशमा धेरै किसानहरूले पराललाई खेतमै डढाउने गर्दछन् । अध्यक्ष कार्कीले डाला बराबर पराल बोक्दा परालको मूल्य धेरै पर्ने भएकाले केही माथिसम्म राखेर बोक्नुपर्ने बाध्यता रहेको बताए । ‘हामीले यसको स्थायी समाधान खोजेका छौँ, सम्बन्धित निकायले हाम्रा माग सुनून् भन्ने हो,’ उनले भने ।

truck-driver

धान भित्र्याउने सिजनमा मधेस प्रदेशबाट दैनिक १०० देखि १५० वटा साना–ठुला गाडी पराल बागमती प्रदेशमा जाने गर्छन् । १० चक्के ट्रकको पराल चितवनसम्म पुर्‍याउन प्रतिगाडी १५ देखि १८ हजार रुपैयाँसम्म खर्च लाग्छ ।

के भन्छ प्रहरी ?

मधेस प्रदेश राजमार्ग ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख राजकुमार सिलवालले दुर्घटनाको जोखिम हुनेगरी सवारी चालकहरूले ५ देखि ७ फिट माथिसम्म पराल राखेर ल्याएकाले सवारी साधनलाई रोक्नुपरेको बताए । 

‘पहिले सामान्य रूपमा चलाइरहनुभएको थियो, अहिले ८/१० दिनदेखि बढी माल ल्याउन थाल्नुभयो । हामीले धेरैपटक सचेत पनि गराए पनि अटेर गर्न थालेपछि हामीले बाध्य भएर गाडी रोकेका हौँ,’ प्रहरी उपरीक्षक सिलवालले भने, ‘कानुन कार्यान्वयन गर्ने हाम्रो काम हो ।’ 

पराल बोकेका ट्रक र ट्रयाक्टरहरूले माथिसम्म पराल राखेर बोक्दा दायाँबायाँका सवारी साधन नदेखिने र त्यसले धेरै दुर्घटना निम्त्याउने प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ‘हामीले मधेस प्रदेशका सबै जिल्लाहरूलाई कडाइका साथ हेर्न निर्देशन दिएका छौँ,’ सिलवालले भने, ‘यदि ट्राफिक प्रहरीले कतै बदमासी गरेको भेटिए प्रमाणसहित आउनुस्, हामी कारबाही गर्न तयार छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप