अमेरिका–युक्रेन वार्ता आज : रुससँगको वार्ताबाट ‘कुनै सम्झौता नभएको’ क्रेमलिनको भनाइ
सारांश
- अमेरिकी विशेष दूत स्टिभ विटकफ र युक्रेनका राष्ट्रिय सुरक्षा परिषद्का प्रमुखबीच मियामीमा भेटवार्ता हुने भएको छ।
- विटकफले रुसी राष्ट्रपति पुटिनसँग गरेको वार्तामा युद्ध अन्त्यबारे कुनै सम्झौता भएन।
- युक्रेनका राष्ट्रपति जेलेन्स्कीले वार्तालाई आगामी दिनमा जारी राख्ने र रुसमाथि दबाब बढाउनुपर्ने बताए।
वासिङ्टन डिसी । अमेरिकी विशेष दूत स्टिभ विटकफले बिहीबार युक्रेनको राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख रुस्टेम उमेरोभसँग मियामीमा भेटवार्ता गर्ने ह्वाइट हाउसले पुष्टि गरेको छ।
यसअघि, विटकफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मंगलबार मस्कोमा झन्डै पाँच घण्टा वार्ता गरेका थिए। युक्रेनमा युद्ध अन्त्य गर्ने विषयमा उक्त वार्तामा ‘कुनै सम्झौता’ नभएको क्रेमलिनले जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफ्ना ज्वाइँ जारेड कुश्नरसमेत सहभागी भएको उक्त वार्ता ‘राम्रो’ भएको बताएका छन् । तर ‘सहमतिका लागि दुई पक्ष चाहिन्छ’ भन्दै तत्काल के हुन्छ भन्न नसकिने उनले उल्लेख गरे।
युक्रेनका विदेशमन्त्री एन्ड्री सिभियाले रुसले ‘रक्तपात अन्त्य गर्नुपर्ने’ बताउँदै पुटिनमाथि ‘विश्वको समय बर्बाद गरेको’ आरोप लगाएका छन्। राष्ट्रपति ट्रम्पले भने पुटिन युद्ध अन्त्य गर्न चाहन्छन् भन्ने छाप विटकफ र कुश्नरलाई परेको बताएका छन्।
युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले वार्ता ‘आगामी दिनमा’ हुने बताएका थिए । उनले ‘युद्ध अन्त्य गर्ने वास्तविक अवसर’ रहेको बताए पनि वार्ताबिच पनि ‘रुसमाथि दबाब’ बढाउनु पर्नेमा जोड दिएका छन्।
वार्तामा युक्रेनको कब्जा गरिएको भूभाग र सुरक्षा ग्यारेन्टीसम्बन्धी कम्तीमा दुई प्रमुख विमति रहेको बताइएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण