बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सल्यानको धान्यपूर्णिमा मेलाको महत्त्व

बिहीबार, १८ मङ्सिर २०८२, १२ : २७
बिहीबार, १८ मङ्सिर २०८२

सारांश

  • सल्यानको कालिमाटी भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने गर्छ र विशेष गरी धान्यपूर्णिमाको दिन मेला लाग्ने गर्छ।
  • मन्दिरमा राजी समुदायका गुरुबा पुजारी रहने र यहाँ बोकाको बली दिने चलन छ, तर अहिले यसमा कमी आएको छ।
  • स्थानीयका अनुसार, मन्दिरको वरिपरिको प्राकृतिक सुन्दरता र दहको रङ परिवर्तन हुनु यहाँको विशेषता हो।

नेपालको कर्णाली प्रदेशमा पर्ने सल्यान जिल्लाको सदरमुकाम खलङ्गा बजारदेखि दक्षिण पश्चिममा कालिमाटी गाउँपालिका पर्छ । गाउँपालिकाको ३ नम्बर वडाको राजिगाउँमा कालिमाटी भगवती (गंगामालको) मन्दिर छ । 

पहिलेदेखि नै राजी जातीका मानिसको बसोबास रहेकाले यस ठाउँलाई राजिगाउँ भनिएको हो । मन्दिरका बारेमा ऐतिहासिक प्रमाण तथा तथ्यहरू हालसम्म थाहा नभएता पनि यस मन्दिरमा पूजा–अर्चना गर्ने चलन धेरै वर्ष पहिलेदेखि नै चलिआएको पाइन्छ । शक्तिकी प्रतीक मानिने यो भगवतीको धार्मिक स्थल भएकाले मन्दिरमा पूजा–अर्चनाका लागि मानिसहरूको घुइँचो लाग्ने गरेको छ । 

आफ्ना मनोकाङ्क्षा पूरा होउन् भन्ने उद्देश्यले भगवतीको दर्शन एवं पूजा गरिन्छ । असल काममा भगवतीको साथ पाइने तथा गलत काम गर्नेको नाश हुने जन विश्वासले देवीको मन्दिरलाई यो क्षेत्रमै धेरै प्रसिद्ध बनाई सकेको छ । विशेष गरी श्रद्धालुहरू बोकाको बली दिन यहाँ ल्याउने गर्छन् ।

मन्दिरको पुजारीका रूपमा राजी समुदायकै ‘गुरुबा’ बस्ने गर्छन्, जसलाई सामान्य बोलीचालीको भाषामा ‘गुर्वा’ भनेर सम्बोधन गरिन्छ । वर्षैभरि (श्रावण बाहेक) पाठा बोका काट्ने काम राजी ‘गुर्वा’ ले गर्छन् । राजी गुर्वाहरुलाई मन्दिरमा चढाइएका भेटी, पाठा–बोकाको टाउको बिक्रीबाट आएको रकमबाट धान्ने गरिएको छ ।

पूजाआजाबाट सङ्कलन गरिएको रकमलाई सार्वजनिक काममा लगाउने गरिएको छ । विशेष गरी मङ्सिर महिनामा बढी मात्रामा बली चढ्दछन् र यसै महिनाको मङ्सिर शुक्ल पूर्णिमा ‘धान्यपूर्णिमा’ को दिन मन्दिरको छेउ–छाउमा भव्य मेला पनि लाग्ने गर्छ । कालिमाटी मेलाका रूपमा वरपरका जिल्लाहरूमा चर्चित मेलामा बिहानैदेखि विभिन्न गाउँबाट बाजा–गाजासहित झाँकी आउने गर्छ ।

त्यसरी आएको पञ्चबललाई मन्दिरमा ल्याउने र मंगल धुनका साथ ल्याइएका बोका, हाँस कुखुरा, परेवा आदिको बलि दिने गरिन्छ । त्यसरी झाँकीसहित बलि दिन ल्याइने पाँच भोगलाई पञ्चबल भनिएको हो । पञ्चबल दिनेहरूले अघि नै भगवतीलाई पञ्चबलको भोग दिनेछु भनि भाकल वा कबोल गरेर ल्याएका हुन्छन् ।

 सोही अनुसार पञ्चबल ल्याउने व्यक्तिले आफन्तहरूलाई निमन्त्रणा गरी सामेल गराई बाजा–गाजासहित रमाइलो मान्दै मन्दिर परिसरमा ल्याउँछन् र मन्दिर वरपर घुमेर पञ्चबलको बलि दिने गरिन्छ ।

आजका दिन अर्थात् धान्यपूर्णिमाका दिन मेला भर्नका लागि धेरै श्रद्धालु आउने भएकाले मन्दिरमा पूजा अर्चनाका लागि घन्टौँ पालो कुरेर पूजा गर्नुपर्ने हुन्छ । विशेष गरी मेलाका दिन भाकल गरिल्याइने पञ्चबल धेरै हुनाले त्यस दिन मात्रै सबै बलि दिन नसकिने हुँदा त्यसको भोली पनि बली दिने गरिएको छ । 

त्यसो त हाल बिस्तारै बलिदिने परम्परामा ह्रास आउँदै गरेको पनि देखिएको छ । मन्दिरमा ल्याइने बोका–कुखुराको बली दिँदाको परम्परा पनि राजीहरूकै आफ्नै परम्परा अनुसारको छ । उनीहरू बलि दिँदा माथिबाट मार हानेर होइन कि तलबाट घाँटी रेटेर काट्छन् । मन्दिरका पुजारी मध्येका एक राजी गुर्बालाई किन यसरी काट्ने गरिन्छ भन्ने प्रश्नमा उनले भने, ‘यो नै हाम्रो विशेषता हो । हामीहरूका पुर्खाहरूले नै यसरी नै बलि दिने गर्थे, हामीले त्यही परम्परालाई पच्छ्याएको हो ।’

विभिन्न किम्बदन्ती अनुसार पहिले मन्दिरका पुजारीहरू अर्थात् राजीहरू बाघमा चढेर मन्दिर आउने हुनाले बाघले जसरी हमला गर्छ, त्यसरी नै उनीहरूले पनि सिकार गर्ने गर्थे, त्यसैले राजीहरूले बलि दिँदा पनि त्यही परम्परालाई पच्छ्याए भन्ने बुढापाकाहरू बताउँछन् । त्यसैले मन्दिर भित्र पनि बाघका मूर्तिहरू राखिएका छन् । मन्दिर भित्र रहेको एउटा मूर्तिमा बाघमाथि चढेकी देवीलाई देख्न सकिन्छ ।

हालका केही वर्षयता मन्दिरमा बलि दिनेको भन्दा दर्शन गर्न आउनेको घुइँचो बढ्दो छ । क्षेत्रफलका हिसाबले मन्दिर परिसर सानो भए तापनि प्राकृतिक सम्पदा, सुन्दर भू–बनोट, ताल, नदी वनजंगल, र मिलेको फाँटले यसको सौन्दर्यलाई झनै मनमोहक बनाई दिएको छ । यसको नजिकै सुकिदह (हाल अस्तित्वमा नरहेको), र कछुवा (पटिया) दह पनि रहेका छन् । 

अर्को अनौठो कुरा के छ भने पटीया दहमा समय समयमा दहको पानी विभिन्न रङ्गमा बदलिने गर्छ । किम्बदन्ती अनुसार दहमा आई पुग्ने अनेकौँ पात पतिङ्गरलाई टिप्ने विशेष चरा छ भन्ने भनाई रहेको छ । त्यस्तै यो दहलाई र त्यस वरपरको क्षेत्रलाई जहिल्यै सफा राख्ने गरिन्छ । दह फोहोर गरेमा देवता रिसाउँछन् भन्ने मान्यता अनुसार त्यसलाई आफूहरूले सफा राखेको बताउँछन् । 

सल्यानको महत्त्वपूर्ण पर्यटकीय स्थलको सम्भावना बोकेको यो क्षेत्रको विकासमा तीनै तहका सरकारहरूले विशेष ध्यान दिन सकेमा यसले स्थानीय तथा प्रादेशिक स्तरमै आर्थिक चलायमानलाई बढाउन भूमिका खेल्न सक्छ । त्यसैले बेलैमा सम्बन्धित निकायको ध्यान जाओस् ।

(लेखक कालिमाटी गाँउपालिका, सल्यानका स्थानीय बासिन्दा हुन्)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खड्गबहादुर वली
खड्गबहादुर वली
लेखकबाट थप