बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिन्धुली र रामेछाप जोड्ने खैरेनीघाटमा बेलीब्रिज जडान हुँदै

बिहीबार, १८ मङ्सिर २०८२, १४ : ४८
बिहीबार, १८ मङ्सिर २०८२

सारांश

  • सिन्धुली र रामेछापको सीमानामा रहेको सुनकोसी नदीमा बेली ब्रिज जडान सुरु भएको छ।
  • बाढीले क्षति पुर्‍याएको पुलको स्थानमा ७० मिटर लम्बाइ र २० टन भारवहन क्षमताको पुल बन्नेछ।
  • भारत सरकारले अनुदानमा दिएको बेली ब्रिज जडानका लागि प्राविधिक टोली आइसकेको छ।

रामेछाप । सिन्धुली र रामेछापको सीमा रहेको सुनकोसी नदीको खैरेनी घाटमा बेली ब्रिज (फलामे पुल) जडान सुरु भएको छ । गत वर्ष असोजको भारी वर्षाका कारण रोशीखोला र सुनकोसी नदीमा आएको बाढीले नेपाल थोक नजिक खैरेनीघाटको पक्की पुललाई क्षति पुर्‍याएपछि उक्त स्थानमा बेलीब्रिज जडान गर्न लागिएको हो । 

उक्त स्थानमा ७० मिटर लम्बाइ भएको बेली ब्रिज जडान हुनेछ । सिङ्गल लेन पुलको भार वहन क्षमता २० टन रहेको छ । विपदबाट क्षति पुगेका सडक सञ्जाललाई नियमित रूपमा सञ्चालनका लागि नेपाल सरकारको अनुरोधमा भारतले उक्त बेली ब्रिज अनुदानमा उपलब्ध गराएको हो । 

भारतले अनुदानमा उपलब्ध गराएका १० वटा बेली ब्रिजमध्ये एउटा खैरेनी घाटमा जडान गर्न लागिएको हो । बेलिब्रिज खैरेनी घाटसम्म ढुवानी भइसकेको छ । जडानका लागि प्राविधिकहरू भारतबाट निर्माणस्थमा पुगिसकेका छन् । 

बाढीले पुलसम्म पुग्ने सडक क्षति पुर्‍याएको थियो । उक्त स्थलसम्म पुग्ने सडकको ट्र्याक खोलिसकिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले  बिहीवार खैरेनीघाट क्षेत्रको स्थलगत निरीक्षण गरी बेली ब्रिज जडानका बारेमा जानकारी लिएका छन्। 

मन्त्री घिसिङले विपद्का कारण पुलमा क्षति पुग्दा रामेछापका सुनापति, खाँडादेवी, दोरम्बा, काभ्रेपलान्चोकको चौँरी देउरालीलगायतका क्षेत्रको तराई र काठमाडौँसँगको सडक सम्पर्क टुटेको र आवतजावतमा कठिनाइ भएकाले बेली ब्रिज जडान जतिसक्दो छिटो सम्पन्न गर्न निर्देशन दिए । 

उनले गत असोजमा त्यस क्षेत्रको भ्रमण गरी उक्त स्थानमा बेली ब्रिज जडानका लागि सडक विभागका अधिकारीहरूलाई निर्देशन दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप