नागरिक उड्डयन प्राधिकरणको निमित्त नेतृत्व कनिष्ठलाई दिन चलखेल, चर्चामा तीन जना
सारांश
- नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशक कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको छ।
- वरिष्ठ कर्मचारीलाई छाडेर कनिष्ठलाई जिम्मेवारी दिने चलखेल सुरु भएको छ, जसमा विभिन्न व्यक्तिको नाम चर्चामा छ।
- प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा विभिन्न व्यक्तिहरूको पृष्ठभूमि र कार्यक्षमताको बारेमा बहस भएको छ।
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशक को बन्छ भन्ने चर्चाबिच कनिष्ठलाई जिम्मेवारी दिने चलखेल सुरु भएको छ । प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा वरिष्ठतम् कर्मचारीलाई छाडेर वैकल्पिक नामबारे छलफल भएको हो ।
बुधबार प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बित भएका छन् । योसँगै तत्कालका लागि काम गर्नेगरी निमित्त महानिर्देशक तोक्नेबारे छलफल भएको हो ।
प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा तीनजनाको नामबारे छलफल भएको बताइएको छ । अहिले उपमहानिर्देशक तहका व्यक्तिमध्ये वरियताक्रममा सबैभन्दा पहिलो नम्बरमा प्रतापबाबु तिवारी छन् । महानिर्देशकको रिक्तताबिच वरियताक्रम अनुसार उनले नै निमित्त पाउनुपर्ने हो । तर उनको स्वभाव तथा अख्तियारमा अनुसन्धान भएको विषय उठाउँदै उनको विकल्पमा समेत छलफल भएको छ । पोखरा विमानस्थल सम्बन्धी भ्रष्टाचारको विषयमा एउटा बैठकमा उनी सहभागी भएको आधारमा उनीमाथि अनुसन्धान भइरहेको भन्दै निमित्त दिन नहुने कुरा पनि उठिरहेको छ ।
तर त्यसबाहेक पनि दुई नामबारे छलफल भएको स्रोतले जनाएको छ । प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले जगन्नाथ निरौलालाई निमित्तको जिम्मेवारी दिनुपर्ने बताएकी थिइन् ।
उनी पाँचौं नम्बरको वरियताका कर्मचारी हुन् । अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्वमा रहेका उनी यसअघि त्रिभुवन विमानस्थलको नेतृत्व समेत सम्हालेका थिए । समन्वय क्षमता राम्रो भएको भन्दै कार्कीले उनको नाम लिएको स्रोतको भनाइ छ ।
उता उद्योग, भूमि तथा कानुनमन्त्री अनिलकुमार सिन्हाले भने देवचन्द्र लाल कर्णलाई निमित्तको जिम्मेवारी दिनुपर्ने तर्क गर्दै आएका छन् । हवाई क्षेत्रको सम्बन्धमा उच्चस्तरीय समितिको नेतृत्व गरेका आधारमा उनले यसमा चासो राखेको बताइन्छ ।
त्यसो त हवाई सुरक्षा निर्देशनालयका प्रमुख कर्ण आफू हवाई सुरक्षाको विज्ञ रहेको दाबी गर्दै आएका छन् । आईकाओमा नेपालको तर्फबाट विज्ञको रुपमा काम गरिसकेको उनले बताउने गरेका छन् । यद्यपि क्यानले छानेर पठाउने व्यक्तिलाई पदेन रुपमा विज्ञको जिम्मेवारी दिइने भएकाले यो ठुलो विषय नभएको अर्को पक्षको तर्क छ ।
कसको ब्याकग्राउन्ड कस्तो ?
अहिले क्यानका सिनियर ६ जना कर्मचारीमध्ये प्रतापबाबु तिवारी, प्रेमनाथ ठाकुर र देवचन्द्र लाल कर्णको पृष्ठभूमि एयर ट्राफिक कन्ट्रोलसँग सम्बन्धित छ । बाँकीमध्ये हंसराज पाण्डे र बाबुराम पौडेल सिभिल इञ्जिनियर पृष्ठभूमिका हुन् भने निरौला लेखा समूहका व्यक्ति हुन् ।
अहिलेको अवस्थामा हवाई उड्डयन सुरक्षा प्रमुख विषय भएकाले अबको क्यानको नेतृत्व हवाई सुरक्षासम्बन्धी विज्ञलाई दिनुपर्ने मत पनि छ । यसअघि सिभिल इञ्जिनियरिङ पृष्ठभूमिको व्यक्ति प्रमुख हुँदा हवाई सुरक्षामा पर्याप्त ध्यान नसकेको उनीहरुको भनाइ छ । यिनै माथापच्चीबिच आजभोलिमै सरकारले क्यानको निमित्त महानिर्देशकको जिम्मेवारी तोक्न लागेको हो ।
प्राधिकरणका कर्मचारीहरु भने निमित्तमा विवाद गर्नुको सट्टा सिनियर कर्मचारीलाई नै नेतृत्व दिन उपयुक्त हुने बताउँछन् । यसअघि राजकुमार क्षेत्रीको पालामा केन्द्रीय कार्यालयमा उपलब्ध भएका पहिलो वरियताका व्यक्तिले निमित्तको जिम्मेवारी पाएको भन्दै अहिले पनि त्यही अभ्यासलाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण