गाउँगाउँमा चन्दा उठाएर अलपत्र कमला पुल बनाउने अभियानमा रामरिझन
काठमाडौँ । यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो देखिन्छ । साइकलमा माइक राखेर गाउँगाउँ डुल्दै कमला पुल निर्माणका लागि आह्वान गरिरहेका छन् एक व्यक्ति । ‘१४ वर्षदेखि निर्माण हुन नसकेको धनुषा-सिरहा जोड्ने हुलाकी राजमार्गअन्तर्गतको कमला नदीको पुल अब जनस्तरबाट नै निर्माण गर्नुपर्छ’ भन्दैछन् । भोलि (शनिबार) कमला नदीमा आउन आह्वान गरिरहेका छन् ।
यी व्यक्ति हुन् सामाजिक अभियन्ता तथा पत्रकार रामरिझन यादव । ’१४ वर्षदेखि अलपत्र पुल सरकारले बनाउँदैन, अब जनता आफैंले बनाउनुपर्छ’ भनेर अभियान चलाउन थालेका हुन् रामरिझनले ।
रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘यो सरकारले कमल पुल निर्माण गर्दैन भन्ने कुरामा ढुक्क छु, पुल नहुँदा दु:ख पाउने सिरहा र धनुषाका जनताले नै अब निर्माण गर्नुपर्छ भनेर अभियान सुरु गरेका हौं ।’ अभियन्ता रामरिझन कमला पुल निर्माणका लागि सरकारमाथि पहिलेदेखि नै दबाब दिन अभियान चलाउँदै आएका थिए ।
केन्द्रदेखि जिल्लासम्म उक्त पुल निर्माणका लागि थुप्रै संघर्षका कार्यक्रम गरेका उनले सरकारको ढोका ढक्ढकाउँदा थाकिसकेको र अब जनताको ढोका ढक्ढकाउने बताए । अब जनताले आफ्नो पुल आफ्नै निर्माण गर्ने विश्वास आफूलाई लागेको उनले मंसिर पहिलो हप्ता कमला पुल निरीक्षण गर्न आएको बेला मन्त्री कुलमान घिसिङसँग आफूले जनस्तरबाट पुल निर्माणका लागि अनुमति मागेको बताए ।

मन्त्री घिसिङले सरकारले नै यो पुल चाँडै बनाउने प्रतिवद्धता जनाए, तर अभियन्ता रामरिझनले सरकारले यो पुल बनाउनेमा विश्वास नरहेको बताए ।
यस्तो छ हिसाबकिताब
कमला पुल निर्माण गर्न दुई अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । त्यो रकम धनुषा, सिरहा र सप्तरीका नागरिकको सहयोगबाट उठाउने उनको योजना छ । त्यसका लागि रामरिझनले एकपटक जनकपुरमा बैठक पनि गरिसकेका छन् । त्यहाँ तीनवटा विकल्पमा छलफल भएको उनले बताए । एउटा विकल्प भनेको जनस्तरबाट चन्दा उठाएर पुल निर्माण गर्ने, त्यसका लागि सिरहाबाट एक अर्ब चन्दा संकलन गर्ने, धनुषा र सप्तरीबाट ५०–५० करोड रकम संकलन गर्ने अभियन्ता रामरिझनले सुनाए । एउटा परिवारबाट १० हजार रुपैयाँ लिन उनको योजना छ ।

रामरिझनले अर्को विकल्प पनि देखेका छन्, विष्णु महायज्ञ गरी त्यसबाठ उठ्ने रकमले पुल बनाउने । महायज्ञ भएपछि सरकारलाई पनि त्यसमा सहयोग गर्न आह्वान गर्ने उनको योजना छ ।
तेस्रो विकल्प भनेको नयाँ कमला पुल निर्माण अभियान जिल्ला प्रशासन कार्यालयमा दर्ता गराउने र त्यसबाट सरकारको कोषमा जनस्तरबाट रकम जम्मा गर्न लगाउने । यसरी जनस्तरबाट सरकारको कोषमा कमला पुलको नामबाट रकम जम्मा हुन थालेपछि सरकारले नै पुल बनाइदिन्छ कि भन्ने आश पनि रामरिझनले पालेका छन् ।
यी तीनै विकल्पमा शनिबार धनुषा–सिरहाका स्थानीयसँग छलफलमा प्रस्तुत गर्ने उनले बताए ।
किन बनेन पुल ?
२०६८ सालमा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो । तर पटक–पटक म्याद थप भएको पुल १० वर्षपछि निर्माण भएको थियो । तर निर्माण भएर त्यसको उद्घाटन नहुँदै २०७८ असार १७ को आएको बाढीले पुलका दुई जग भासिए ।
तयसपछि भासिएको पुल बनाउन धेरै पटक पहल भएपनि निर्माण भएन । त्यसका लागि आन्दोलन पनि भयो । सरकारका सबैजसो भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले त्यसको स्थलगत अवलोकन पनि गरे । तर चाँडै बनाउने आश्वासन बाहेक केही पनि भएन ।
मंसिर ५ गते मन्त्री कुलमान घिसिङ अनुगमनमा गएको बेला यसलाई जसरी पनि निर्माण गर्ने वाचा गरेर फर्केपछि पनि विश्वास नलागेकाले जनस्तरबाट निर्माण गर्ने अभियान चलाएको रामरिझन बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण