बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

श्रीलङ्कामा चक्रवात : क्षतिग्रस्त घर पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

शनिबार, २० मङ्सिर २०८२, २२ : २२
शनिबार, २० मङ्सिर २०८२

श्रीलङ्का । विपदग्रस्त श्रीलङ्काले घातक चक्रवातबाट क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न एक बृहत् क्षतिपूर्ति प्याकेज सार्वजनिक गरेको छ । चक्रवातपछि श्रीलङ्कामा भइरहेको वर्षाका कारण आइतबार पनि थप बाढी र पहिरो आउनसक्ने भन्दै नागरिकहरूलाई सावधानी अपनाउन लागि आग्रह पनि गरिएको छ।

सरकारले पछिल्लो प्राकृतिक विपत्मा परी कम्तीमा ६११ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने अन्य २१३ जना बेपत्ता रहेको जनाएको छ। उनीहरूलाई जीवित उद्धार गर्न सकिनेमा आशङ्का गरिएको छ । राष्ट्रपति अनुरा कुमारा दिसानायकेले यसलाई देशको सबैभन्दा चुनौतीपूर्ण प्राकृतिक विपत्तिको संज्ञा दिएका छन्।

विपद् व्यवस्थापन केन्द्रले सबैभन्दा बढी प्रभावित मध्य प्रान्तका विभिन्न क्षेत्रहरूमा थप बाढी र पहिरोको चेतावनी जारी गरेको छ । उत्तरपूर्वी मनसुन श्रीलङ्कामा सक्रिय हुँदै थप वर्षा गराइरहेको छ।

यस शताब्दीकै सबैभन्दा खराब भनिएको हिउँदे बर्षाका कारण गत हप्ताको बाढी र पहिरोबाट २० लाखभन्दा बढी मानिसहरू प्रभावित भएका छन् । प्रभावित जनसङ्ख्या यहाँको जनसङ्ख्याको लगभग १० प्रतिशत हो ।

बाढीबाट प्रभावित भई घरबार गुमाएकालाई बाँचेकाहरूलाई सुरक्षित स्थानमा जग्गा किन्न र नयाँ घर बनाउन १० लाख रुपैयाँ (३३ हजार डलरसम्म) आर्थिक सहयोग प्रदान गर्ने घोषणा अर्थ मन्त्रालयले शुक्रबार राति जारी एक विज्ञप्तिमा उल्लेख छ।

विपतमा बढी प्रभावित भएका नागरिकका लागि सरकारले जीविकोपार्जनका लागि सहयोग, बालबालिका लागि विद्यालयको किताब, भान्साका सामान, ओछ्यान र भाडा तिर्नका लागि नगद समेतको सहयोगको घोषणा गरेको छ।

सरकारले यो महत्त्वाकाङ्क्षी प्याकेजमा कति खर्च लाग्नेछ भन्ने तत्काल बताएको छैन । देशको हालैको आर्थिक क्षतिलाई ध्यानमा राख्दा यो एक चिन्ताको विषय हो।

एक जना वरिष्ठ अधिकारीले पहिले पुनःलाभ र पुनर्निर्माणमा सात अर्ब अमेरिकी डलरसम्म खर्च लाग्न सक्ने बताएका थिए । केन्द्रीय बैङ्कले सरकारी तथा निजी दुवै वाणिज्य बैङ्कहरूलाई प्रभावित व्यक्तिहरूको ऋण पुनःतालिकाबद्ध गर्न र ऋण तिर्न नसक्नेहरूमाथि जरिवाना नलगाउन आदेश दिएको छ।

सरकारले मारिएका वा स्थायी रूपमा अपाङ्ग भएका प्रत्येक व्यक्तिको लागि एक लाख रुपैयाँ क्षतिपूर्ति पनि प्रदान गरिरहेको छ। डीएमसीले गत हप्ताको विपद्मा लगभग ७५ हजार घर क्षतिग्रस्त भएको र त्यसमध्ये पाँच हजार घरमा पूर्ण रूपमा क्षति भएको बताएको छ।

विपतका कारण यस पहिले दुई लाख २५ हजार विस्थापितलाई सरकारी आश्रयस्थलमा राखिएकोमा यो सङ्ख्या क्रमशः घट्दै गएको तर अझै करिब एक लाख ५० हजार मानिसहरू सरकारी आश्रयस्थलहरूमा छन् ।

वायु सेनाले शनिबार देशको मध्य भागमा पहिरोले पृथक भएका समुदायहरूमा सामग्री आपूर्ति गर्न हेलिकप्टर र ‘फिक्स्ड–विङ’ विमानहरू प्रयोग गरिरहेको बताएको छ।

आइएमएफ अनुरोध

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले शुक्रबार श्रीलङ्काले यस महिनामा प्राप्त गर्नुपर्ने ३४ करोड ७० लाख अमेरिकी डलरको किस्ता बाहेक थप २० अर्ब अमेरिकी डलरको लागि गरेको अनुरोधमाथि विचार गरिरहेको बताएको छ।

“आइएमएफ श्रीलङ्काली अधिकारीसँग निकटमा रहेर वार्ता गरिरहेको छ र देशलाई सहयोग गर्न प्रतिबद्ध छ,” वाशिङ्टनस्थित आइएमएफका अधिकारीले बताएका छन् ।

सन् २०२३ को सुरुमा आइएमएफसँग सहमति भएको चार वर्षे २.९ अर्ब डलरको उद्धार ऋणपछि श्रीलङ्का आफ्नो गम्भीर २०२२ को आर्थिक सङ्कटबाट बाहिर निस्कँदै गर्दा चक्रवात दितावाले देशको ठूलो क्षेत्रहरूलाई तहसनहस पारेको थियो।

दिसानायकेले शुक्रबार संसदमा भने, “श्रीलङ्काको अर्थतन्त्रले उल्लेखनीय सुधार गरेको छ, तर पछिल्लो झट्कालाई एक्लै सामना गर्न पर्याप्तरूपमा बलियो छैन ।” सैनिक र स्वयंसेवकहरूले बाढीग्रस्त समुदायहरूमा सहयोग गरेपनि नयाँ वर्षाले सरसफाइ कार्यमा बाधा पुर्याएको छ ।

सरकारले पहिरोले घरमा असर नगरेको भएपनि बाढी पहिरोको सम्भावित मध्य पहाडी क्षेत्रबाट हटाइएका बासिन्दाहरूलाई तुरुन्तै नफर्कन अनुरोध गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप