बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
वित्तीय साक्षरता

मुद्दती खाताभन्दा दोब्बर प्रतिफल दिने के हो ‘एसआईपी’ ?

पुँजी बजारमा यसरी बढ्दैछ ट्रेन्ड
आइतबार, २१ मङ्सिर २०८२, १३ : ००
आइतबार, २१ मङ्सिर २०८२

सारांश

  • माछापुच्छ्रे क्यापिटलले खुलामुखी म्युचुअल फण्ड जारी गर्यो, जसको २० लाख इकाई बिक्री भयो।
  • एसआईपी योजनाले नियमित बचत र लगानीको अवसर प्रदान गर्छ, जसले बजार उतारचढावको जोखिम कम गर्छ।
  • म्युचुअल फण्डले मुद्दती निक्षेपको ब्याजभन्दा धेरै प्रतिफल दिन्छ र यसको नेपालमा विकासको सम्भावना छ।

काठमाडौँ । केही दिनअघि माछापुच्छ्रे क्यापिटलले खुलामुखी म्युचुअल फण्ड जारी गर्‍यो । ‘माछापुच्छ्रे एसआईपी योजना’ नाम दिइएको उक्त म्युचुअल फण्डको २ करोड रुपैयाँ बराबरका २० लाख इकाई बिक्री भइसकेको छ ।

कुल आकार भने ५ करोड रुपैयाँ रहेको योजनाले सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) सञ्चालन म्युचुअल फण्डको व्यवस्थापक माछापुच्छ्रे क्यापिटलका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार बताउँछन् । उनका अनुसार अहिले म्युचुअल फण्डको रूपमा इकाई जारी भएकोमा चैतदेखि एसआईपीको रूपमा समेत काम सुरु हुनेछ । यही योजनामार्फत् थप फण्ड सङ्कलन समेत हुनेछ ।

नेपालमा म्युचुअल फण्डको सुरुवात भएको तीन दशकभन्दा बढी समय भइसकेको छ । सबैभन्दा पहिले २०५० सालमा एनआईडीसी क्यापिटल मार्केटले एनसीएम म्युचुअल फण्ड नामक खुलामुखी (ओपन इन्डेड) म्युचुअल फण्ड ल्याएको थियो । पछि उक्त फण्डलाई बन्दमुखी (क्लोज इन्डेड) मा रूपान्तरण गरिएको थियो ।

त्यसपछि विभिन्न मर्चेन्ट बैंकर्समार्फत् म्युचुअल फण्डहरू सञ्चालनमा रहँदै आएका छन् । अहिले करिब ४० वटा बन्दमुखी र करिब एक दर्जन खुलामुखी म्युचुअल फण्ड सञ्चालनमा छन् । एक दर्जन भन्दा धेरै म्युचुअल फण्ड परिपक्व भएर बन्द समेत भइसकेका छन् ।

म्युचुअल फण्डको यो इतिहासबिच सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) को सुविधा सुरु भएको भने धेरै समय भएको छैन । करिब ७ वर्ष अघिदेखि मात्रै यस्तो योजना कार्यान्वयनमा रहेको देखिन्छ । हालसम्म एनआईबीएल सहभागिता फण्ड, सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीम, एनएमबी सरल बचत फण्ड–ई, एनआईसी एशिया डाइनामिक डेब्ट फण्ड, नबिल फ्लेक्सी क्याप फण्ड र कुमारी सुनौलो लगानी योजना र शुभलक्ष्मी कोष गरी ७ वटा म्युचुअल फण्डले एसआईपी सुविधा दिँदै आएका छन् ।

तर, यहाँनिर सिस्टमेटिक इन्भेष्टमेन्ट के हो ? यसले कसरी काम गर्छ ? यसबाट बचतकर्ता र लगानीकर्ताले कसरी फाइदा लिन सक्छन् ? र म्युचुअल फण्ड र यस्ता योजनाबिचको सम्बन्ध र फरक के हो भन्नेबारे अन्योल रहेको पाइन्छ । त्यसैले धेरैजसो उपभोक्ताले आफ्नो बचतको उचित परिचालन गर्न सकिरहेको अवस्था देखिँदैन । यहाँ हामी पुँजी परिचालनको नयाँ औजारको रूपमा उदाएको एसआईपी, म्युचुअल फण्ड र समग्र मर्चेन्ट बैंकिङ क्षेत्रको बारेमा चर्चा गर्नेछौँ ।

  • के हो सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान ?

सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) लाई बुझ्न एउटा व्यक्तिको बचतसम्बन्धी व्यवहारलाई बुझौँ ।

कुनै व्यक्तिले जागिर वा व्यापार गर्छ भने उसको नियमित आम्दानी हुन सक्छ । यसमध्ये धेरै हिस्सा खर्च हुन्छ, केही बचत हुन्छ । कहिलेकाहीँ खर्च धेरै हुँदा बचत कम हुन सक्छ । कहिलेकाहीँ खर्च कम हुँदा बचत बढ्न सक्छ । कहिले कतैबाट नसोचेको पैसा आउन सक्छ । कहिले खर्चको यति आवश्यकता हुन्छ कि भएको बचत नै खर्च गर्नुपर्ने अवस्था हुन्छ, कहिले त ऋण नै लिनुपर्ने अवस्था पनि आउन सक्छ । तर, सामान्य अवस्थामा भने व्यक्तिले बचत नै गरेको हुन्छ ।

यसरी गरिएको बचत व्यक्तिले अक्सर बैंकको बचत खातामा राख्ने गर्छन् ताकि जुनसुकै बेला पनि निकाल्न पाइयोस् । तर यस्तो खातामा न्यूनतम ब्याजमात्रै पाइन्छ । अलि धेरै भयो भने मुद्दती खातामा राखिन्छ, यसमा अलि धेरै ब्याज पाइन्छ तर तोकिएको अवधिसम्म निकाल्न पाइँदैन । त्यसैले अपर्झट आएको गर्जो टार्न यसबाट सम्भव हुँदैन ।

अर्को विकल्प पुँजी बजारमा लगानी गर्ने हुन सक्छ । तर, ज्ञान र समयको अभावका कारण यो पनि सधैँ प्रतिफलयुक्त नहुन सक्छ । सिस्टमेटिक इन्भेष्टमेन्ट प्लानले यी सबै व्यावहारिक समस्या समाधान गर्ने माछापुच्छ्रे क्यापिटलका सीईओ मालाकार बताउँछन् ।

‘एसआईपीले नियमित समयमा निश्चित रकम जम्मा गर्दै जाने भनेको हुन्छ, तर यसमा बचतकर्ताहरू पूर्ण रूपमा स्वतन्त्र हुनुहुन्छ । आफ्नो लगानीको निर्णय आफैँ गर्न सक्नुहुन्छ,’ मालाकारले भने, ‘कुनै महिना बचत धेरै हुन्छ भने धेरै जम्मा गर्न सक्नुहुन्छ, बचत नभए नगर्न सक्नुहुन्छ । कतैबाट एकैपटक धेरै पैसा आयो भने सबै पैसा एकैपटक राख्न पनि सक्नुहुन्छ, कहिले पैसा चाहियो भने तत्कालै झिकेर लैजान पनि सक्नुहन्छ । सामान्यतया ग्राहकले नियमित रूपमा बचत गर्दै जाने भन्ने हुन्छ ।’

म्युचुअल फण्डका मूलतः दुई प्रकारका योजना हुन्छन् । पहिलो, लम्पसम प्लान र दोस्रो, सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान । त्यसबाहेक डिभिडेन्ड रिइन्भेष्टमेन्ट प्लान (डीआरआईपी) तथा डिभिडेन्ड विथड्र प्लान (डीडब्ल्युपी) जस्ता हाइब्रिड प्लानसमेत पछिल्लो समय प्रचलनमा रहेको पाइन्छ । 

पहिलो योजना अन्तर्गत तोकिएको फण्ड एकैपटक उठाइन्छ । म्युचुअल फण्डले यस्तो रकम पुँजीको रूपमा, ऋणको रूपमा वा मिश्रित रूपमा लिन सक्छन् । पुँजीको रूपमा मात्रै फण्ड सङ्कलन गरिन्छ भने यसलाई इक्विटी फण्ड भनिन्छ । ऋणको रूपमा उठाइन्छ भने डेब्ट फण्ड भनिन्छ भने दुवैको मिश्रित फण्डलाई ब्यालेन्स्ड फण्ड भनिन्छ ।

तर, यसरी एकैपटक रकम सङ्कलन गर्दा पुँजी बजारमा जोखिम बढी हुन्छ । छिटो र धेरै प्रतिफल दिनुपर्ने दबाबका कारण एकैपटक ठुलो लगानी हुने भएकाले पुँजी बजारको उतारचढावको प्रभाव यसमा पर्ने देखिन्छ ।

दोस्रो अर्थात् एसआईपीमा भने सुरुमा निश्चित रकम सङ्कलन गरेपछि रकम थप हुँदै जान्छ । त्यही अनुसार लगानी हुने भएकाले यसमा बजार उतारचढावको प्रभाव कम हुने फण्ड सञ्चालकहरूको अनुभव छ । माछापुच्छ्रे क्यापिटलको म्युचुअल फण्डलाई हेर्ने हो भने अहिले स्वीकृत फण्डको ४० प्रतिशतमात्रै आईपीओबाट उठाएको देखिन्छ । बाँकी रकम एसआईपी मार्फत् बिस्तारै सङ्कलन गर्ने लक्ष्य लिइएको छ ।

  • मुद्दतीको ब्याजभन्दा झन्डै दोब्बर प्रतिफल

म्युचुअल फण्डमा गरिएको लगानीको प्रतिफल अवस्था हेर्ने हो भने अन्य वित्तीय औजारको भन्दा धेरै प्रतिफल रहेको देखिन्छ । सीईओ मालाकार हालसम्मको इतिहास हेर्दा म्युचुअल फण्डले १५.५ प्रतिशतको प्रतिफल दिएको बताउँछन् ।

जबकि यही अवधिमा राखिएको मुद्दती निक्षेपको प्रतिफल ८.२५ प्रतिशतमात्रै छ । बीमा कम्पनीका बीमालेखमा गरिएको लगानीको प्रतिफल ६.५ प्रतिशत हाराहारीमा मात्रै छ । यो हिसाबले हेर्दा म्युचुअल फण्डको लगानी बढी प्रतिफलमुखी देखिन्छ । एसआईपी व्यक्तिको दैनिक व्यवहार र आवश्यकतालाई समेत ध्यान दिएर डिजाइन गरिने भएकाले यो अझै उपयुक्त हुने मर्चेन्ट बैंकरहरू बताउँछन् ।

अहिले नेपालको पुँजी बजारमा म्युचुअल फण्डको हिस्सा १.३ प्रतिशत छ । भारतमा यही हिस्सा १७ प्रतिशत छ । त्यसैले यसको विकासको सम्भावना छ । म्युचुअल फण्डमा कर नलाग्ने र लगानी समेत कम्पाउन्डिङ हुँदै जाने भएकाले यसको निकै राम्रो सम्भावना देखिन्छ ।

सीईओ मालाकार व्यक्तिको रिटायरमेन्ट प्लान (अवकाश योजना) का लागि एसआईपी अझै उपयुक्त भएको बताउँछन् । भारतको फ्य्राक्लिन इण्डिया प्राइम फण्डमा मासिक १ हजारको दरले बचत गर्नेले ३० वर्षपछि २ करोड १० लाख रुपैयाँ प्राप्त गरेको उदाहरण दिँदै उनले भने, ‘कम्पाउन्डिङको सुन्दर पक्षका कारण यो सम्भव भएको हो । अहिलेको सानो र नियमित बचतले भविष्यका लागि ठुलो पुँजी यसबाट निर्माण गर्न सकिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप