शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

नैतिक प्रश्न उठेपछि विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट सांसदले दिए राजीनामा

मङ्गलबार, २३ मङ्सिर २०८२, १५ : १४
मङ्गलबार, २३ मङ्सिर २०८२

सुर्खेत । बहालवाला प्रदेश सांसद र पूर्वमन्त्रीजस्तो उच्च ओहोदामा रहेका व्यक्ति आधारभूत तहको विद्यालय व्यवस्थापन समितिमा बसेको भन्दै चौतर्फी आलोचना र नैतिक प्रश्न उठेपछि कर्णाली प्रदेशका सांसद रणसिंह परियारले पदबाट राजीनामा दिएका छन् । 

हुम्लाको अदानचुली गाउँपालिका–१ स्थित जनकल्याण आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा सर्वसम्मत चयन भएको दुई दिन नबित्दै सांसद परियारले उक्त पद छाडेको घोषणा गरेका हुन् । 

नेपाली कम्युनिस्ट पार्टीका सांसद रहेका परियार आइतबार विद्यालयको अभिभावक भेलाबाट सर्वसम्मत अध्यक्षमा चयन भएका थिए । प्रदेश सांसद र पूर्वमन्त्री भइसकेका व्यक्ति कक्षा १–८ सञ्चालित विद्यालयको तल्लो कमिटीमा बस्नु पदको मर्यादाविपरीत भएको भन्दै सार्वजनिक रूपमा आलोचना भएको थियो । 

सुरुमा अध्यक्ष पदका लागि अन्य ६ जना स्थानीय आकांक्षी देखिए पनि सांसद परियारले नै इच्छा व्यक्त गरेपछि अन्यले उम्मेदवारी फिर्ता लिएको चर्चा थियो । तर, पद ओगटेको खबर बाहिरिएसँगै नैतिक प्रश्न उठेपछि उनले मंगलबार विज्ञप्ति जारी गर्दै आफू उक्त पदमा नरहेको जानकारी गराएका छन् । 

सांसद परियारले विज्ञप्तिमा भनेका छन्, ‘मेरो कार्य जिम्मेवारीका कारण विद्यालयको अध्यक्ष रही निरन्तरता दिन नसक्ने भएकोले उक्त जिम्मेवारीमा रहन नसक्ने भनी समितिमा प्रस्ताव पेस गरिसकेको छु ।’ 

उनले आफ्नो विज्ञप्तिमार्फत सरोकारवाला सबैलाई आफू अब उक्त पदमा नरहेको स्पष्ट पारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप