बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘जेनजी’ आन्दोलन र बाढीपहिरोबाट अर्बौंको क्षति: बीमा कम्पनीमा २७ अर्ब बढीको दाबी, कति भयो भुक्तानी ?

मङ्गलबार, २३ मङ्सिर २०८२, १६ : ०९
मङ्गलबार, २३ मङ्सिर २०८२

सारांश

  • नेपाल बीमा प्राधिकरणले जेन-जी आन्दोलन र बाढीपहिरोबाट भएको क्षतिको बीमा दाबी विवरण सार्वजनिक गरेको छ।
  • यी दुई घटनाबाट निर्जीवन बीमा कम्पनीहरूमा २७ अर्ब रुपैयाँभन्दा बढीको दाबी परेको छ, जसमा जेन-जी आन्दोलनको दाबी २३ अर्ब ४४ करोड रुपैयाँ रहेको छ।
  • बाढीपहिरोका कारण ४ अर्ब रुपैयाँ बराबरको दाबी परेकोमा हालसम्म १ करोड ८८ लाख रुपैयाँ भुक्तानी भएको छ।

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले ‘जेन–जी’ आन्दोलन र गत असोजमा आएको बाढीपहिरोबाट भएको क्षतिको बीमा दाबी विवरण सार्वजनिक गरेको छ। प्राधिकरणले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार यी दुई घटनाबाट निर्जीवन बीमा कम्पनीहरूमा कुल २७ अर्ब रुपैयाँभन्दा बढीको दाबी परेको छ।

प्राधिकरणका अनुसार हालैको ‘जेन–जी’ आन्दोलनका क्रममा भएको भौतिक तथा अन्य क्षतिका कारण बीमा कम्पनीहरूमा ठूलो रकम दाबी परेको छ। आन्दोलनका क्रममा क्षति भएका संरचना र सवारी साधनहरूबपत कुल ३ हजार ३ सय वटा दाबी परेका छन्।
यी दाबीहरूको कुल रकम २३ अर्ब ४४ करोड रुपैयाँ रहेको छ। जसमध्ये हालसम्म बीमा कम्पनीहरूले अग्रिम भुक्तानीसहित ४ अर्ब ३८ करोड ४८ लाख रुपैयाँ बीमितहरूलाई भुक्तानी गरिसकेको प्राधिकरणले जनाएको छ।
आन्दोलनको क्षतितर्फ सबैभन्दा बढी 'सम्पत्ति बीमा' तर्फ ७१० वटा दाबी (१९ अर्ब १ करोड रुपैयाँ) परेको छ भने 'मोटर बीमा' तर्फ २,३०८ वटा दाबी (३ अर्ब ४८ करोड रुपैयाँ) परेको छ।

त्यस्तै, असोज १८ गतेको अविरल वर्षा र बाढीपहिरोका कारण भएको क्षतिबापत पनि दाबी परेको छ। बाढीपहिरो पीडितबाट हालसम्म ७८१ वटा प्रारम्भिक दाबी परेको छ, जसको कुल रकम करिब ४ अर्ब ४ करोड रुपैयाँ रहेको छ।
बाढीपहिरोको दाबी भुक्तानी भने सुस्त देखिएको छ। ४ अर्बभन्दा बढीको दाबी परेकोमा हालसम्म ६७ वटा दाबीको मात्रै फर्छ्यौट भई १ करोड ८८ लाख रुपैयाँ भुक्तानी भएको प्राधिकरणका कार्यकारी निर्देशक एवं प्रवक्ता सुशील देव सुवेदीले जानकारी दिए। बाढीपहिरोमा सबैभन्दा बढी सम्पत्ति बीमातर्फ ३ अर्ब ४५ करोड ३५ लाख बराबरको ४१० वटा दाबी परेको छ।

‘जेनजी’ आन्दोलनको क्षतिको दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले पनि तदारुकता देखाएको छ। कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिब २ अर्ब ५६ करोड रुपैयाँ अग्रिम भुक्तानीसहित दाबी भुक्तानी गरेको विज्ञप्तिमा उल्लेख छ। नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट १५ अर्ब ८१ करोड रुपैयाँ बराबरको २ हजार ८६१ वटा दाबी परेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप