अमेरिकाले भारतलाई किनारामा पार्नुको मूल्य चुकाउनेछ
सारांश
- भारतीय प्रधानमन्त्री मोदीले रुसका राष्ट्रपति पुटिनलाई स्वागत गरे, जसले भारतको सार्वभौमिकताको सन्देश दिए।
- अमेरिकाले भारतलाई रणनीतिक साझेदार मान्दै आएको छ, तर व्यवहारमा भारतीय हितलाई बेवास्ता गरेको देखिन्छ।
- भारतले रुससँगको सम्बन्धलाई निरन्तरता दिँदै अमेरिकाको दबाबलाई बेवास्ता गरेको छ, जसले दुई देशबीचको सम्बन्धमा तिक्तता बढाएको छ।
भारतलाई सजाय हुने खालका अमेरिकी नीतिहरू सार्वजनिक हुँदै गर्दा गत हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नयाँ दिल्लीमा न्यानो स्वागत गरेका छन् । मोदीको सन्देश प्रस्ट थियो– भारत सार्वभौम शक्ति हो, उसलाई बलपूर्वक विश्वमा विद्यमान ‘पश्चिमा र बाँकी विश्वको’ बढ्दो ध्रुवीकरणमा कुनै एउटा पक्ष रोज्न लगाउन सम्भव छैन । भारत अन्तर्राष्ट्रिय मामलामा आफ्नै बाटो लिँदै अघि बढ्ने छ ।
अमेरिकाका लागि भारतको ज्यादै ठुलो महत्त्व छ । उसको दीर्घकालीन रणनीतिक स्वार्थका लागि भारत जत्तिको महत्त्वपूर्ण अर्को प्रमुख शक्ति नै छैन भन्दा अत्युक्ति हुँदैन । जनसङ्ख्याको आकार, भौगोलिक अवस्थिति तथा सैन्य क्षमताका कारण भारत नै त्यस्तो एक मात्र मुलुक हो, जसले एसियामा प्रभुत्व कायम गर्ने चीनको प्रयासलाई चुनौती दिन सक्छ । साथै प्रकारान्तरले अमेरिकालाई वैश्विक वर्चस्वशाली शक्तिको रूपमा टिकाउन सक्छ ।

जर्ज डब्ल्यु. बुसको कार्यकालदेखि नै अमेरिकी वरिष्ठ अधिकारीहरू हिन्द–प्रशान्त क्षेत्रमा स्थिर शक्ति सन्तुलन कायम राखिराख्नका लागि भारतसँगको साझेदारी महत्त्वपूर्ण हुने मान्यता राख्दै आएका थिए । पछिल्लो दशकसम्म आइपुग्दा अमेरिका–भारत सुरक्षा सम्बन्ध पनि तीव्र गतिमा गहिरिँदै गएको छ । खासगरी सैन्य–अन्तर्संचालन, खुफिया सहकार्य तथा प्रविधि आदान–प्रदानको क्षेत्रमा सहकार्य गहन बन्दै गएको थियो । तर यसबारे ठुलो हल्लाखल्ला वा बयानबाजी भने गरिएको थिएन ।
यस्तो प्रगतिको केही हिस्सा डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा पनि हासिल भएको थियो । त्यसबेला उनले चीनमाथिको दबाब बढाउने, पाकिस्तानको सहयोग कटौती गर्ने तथा भारतसँगको सहकार्य विस्तार गर्ने बाटो लिएका थिए । यी सबै कदम उनको हिन्द–प्रशान्त रणनीतिको केन्द्रमा थिए । त्यसको नतिजा अहिले हामी सबैका सामु छर्लङ्ग छ । भारतले अहिले अरू सबै मुलुक भन्दा धेरै सैन्य अभ्यास अमेरिकी सेनासँग गर्छ । साथै भारतको सबैभन्दा ठुलो व्यापारिक साझेदारका रूपमा अमेरिका नै अगाडी आएको छ ।
यस्तो प्रगति हुँदै गर्दा पनि अमेरिकाले भारतलाई चिन्तित हुनुपर्ने अवस्था सिर्जना गरेको छ । अमेरिका अफगानिस्तानबाट भद्रगोल शैलीमा बाहिरियो । राष्ट्रपति जो बाइडेनको कार्यकालमा फिर्ता भएको भएता पनि यसको महत्त्वपूर्ण निर्णय भने ट्रम्पकै पालामा भएको थियो । जसका कारण अफगानिस्तान तालिबान आतङ्ककारीको कब्जामा पुग्यो । यस्तो कदमले अमेरिकी नेताहरूको निर्णय क्षमता तथा विश्वसनीयतामा गम्भीर प्रश्न उठ्ने आधार तयार गर्यो ।

सन् २०२२मा बाइडेन प्रशासनले पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोषबाट राहत दिलाउन सहयोग गरे । लगत्तै ४५ करोड अमेरिकी डलर बराबरको सम्झौता गरे । सम्झौतामा पाकिस्तानको सैन्य आधुनिकीकरण गर्न अमेरिकाले उपलब्ध गराएको ‘एफ–१६ फ्लीट’ को सुधारको विषय थियो । यसले भारतलाई शीतयुद्धको नमिठो सम्झना गरायो । जुनबेला अमेरिकाले पाकिस्तानलाई हतियार उपलब्ध गराउने गर्थ्यो । ट्रम्पले त्यही कदमलाई थप सघन बनाए । जसमा उनले आफ्नो व्यक्तिगत लाभ सम्बन्धी सम्झौता पनि गरे । अप्रिलमा ‘क्रिप्टोकरेन्सी’ सम्बन्धी सम्झौता त्यसको एउटा उदाहरण हो ।
अमेरिकाले भारतका चासोहरूमा धेरै पटक खेलबाड गर्दागर्दै पनि आफूप्रति लचक होस भन्ने चाहना राख्न भने छोडेको छैन । रुसले युक्रेनमा आक्रमण गर्दा अमेरिकाले आर्थिक प्रतिबन्धहरू लगायो । जसमा अमेरिकाले भारतको साथ खोज्यो । तर इजरायल र टर्की जस्ता अन्य अमेरिकी साझेदारको जस्तो भारत त्यस्तो प्रतिबन्धमा सघाउन तयार भएन । उल्टै रुसबाट छुट मूल्यमा तेल खरिद बढायो । त्यति टाढा चलेको द्वन्द्वमा आफ्ना राष्ट्रिय स्वार्थको तिलाञ्जली दिन भारतले उचित ठानेन ।
अझ उक्त अवस्थामा त रुसमाथिको पश्चिमा दबाबको फाइदा चीन एक्लैले लिने अवस्था थियो । भारतले यस्तो परिस्थिति पहिले पनि भोगेको थियो । सन् २०१९ मा ट्रम्पले इरान विरुद्ध कठोर प्रतिबन्ध लगाए । त्यसलाई समर्थन गर्ने नाममा भारतले आफ्नो लागि भरपर्दो तथा सबैभन्दा सुपथ मूल्यको इन्धन स्रोत गुमायो । उता चीनले भने त्यसलाई अवसरका रूपमा लिँदै सस्तो मूल्यमा इरानी कच्चा तेलको आयात बढायो । यसबाट चीनलाई व्यापक छुटमा इन्धन मात्रै प्राप्त भएन, उसले त्यहाँ आफ्नो सुरक्षा कदम राख्ने अवसर पनि पायो ।

युक्रेनमा रुसको आक्रमणको समयमा पनि समान अवस्था देखियो । रुसलाई पश्चिमा बजारमा प्रतिबन्ध लगाइदिँदा चीनले रुसको आर्थिक जीवनको प्रमुख सहयोगीको भूमिकामा आफूलाई उभ्यायो । यसले गर्दा चीनको इन्धन आपूर्ति प्रणाली सशक्त भयो । जमिनबाट हुने आपूर्तिको मार्ग मजबुत बनायो । कुनै दिन ताइवानमा आक्रमण गर्नुपर्दा चीनले रुसको इन्धन गुमाउने छैन भन्ने चीनलाई थाहा छ । यसले चीनलाई रणनीतिक लाभ दियो । उता भारतको भने रणनीतिक स्वार्थमा धक्का लाग्ने अवस्था आयो । तर भारतले कम्तीमा रुसबाट सस्तो तेल किन्न भने रोकेन ।
ट्रम्प प्रशासनले यसलाई स्विकार्न सकेन । भारतबाट अमेरिकामा हुने आयातमा थप २५ प्रतिशत भन्सार महसुल लगाइदियो । जुन बढ्दै ५० प्रतिशतसम्म पुग्यो । भारतले ‘रुसका घातक गतिविधिहरू’ रोक्ने अमेरिकी प्रयास कमजोर बनाइरहेको दाबी गर्दै थप प्रतिबन्धको धम्की पनि दियो । तर ट्रम्पले रुसी ऊर्जाका अन्य प्रमुख आयातकर्तालाई भने केही गरेनन् । हंगेरीलाई प्रतिबन्धमा छुट भयो । जहाँ निरङ्कुश प्रधानमन्त्री भिक्टर ओर्बानको शासन छ ।
ट्रम्पको निकट सहयोगी भएकै कारण उनलाई छुट दिइएको छ । यता भारतीय सामानहरूमा लगाइएका अमेरिकी भन्सार महसुलहरू अहिले त चिनियाँ निर्यातमा लागू गरिएको भन्दा बढी भइसकेका छन् । यो भारतमाथिको अमेरिकी आर्थिक युद्ध बन्न पुगेको छ । कुनै अर्थमा पनि आर्थिक युद्ध भन्दा कम छैन यो ।

अमेरिकाले भारतलाई अपरिहार्य साझेदार भन्ने गरेको छ । तर व्यवहारमा भने भारतीय हितलाई किनारा लगाउने काम गरिरहेको छ । भारतले हिन्द–प्रशान्त रणनीतिको स्तम्भका रूपमा सेवा गरोस् भन्ने चाहन्छ । तर भारतको आर्थिक शक्ति, क्षेत्रीय सुरक्षा र रणनीतिक स्वायत्तता जस्ता संवेदनशील विषयलाई सोझै कमजोर पार्ने नीतिहरू अवलम्बन गर्छ । ट्रम्पको विदेश नीति यस्तै भद्रगोल छ भन्न सकिन्छ । तर अवस्था त्यति मात्रै जटिल छैन ।
हालको अमेरिकी रवैयामा अन्तर्निहित ढाँचा अन्य राष्ट्रपतिको कार्यकालमा पनि उही ढङ्गको भेटिन्छ । त्यसको परिणाम स्वरूप बढ्दो रूपमा भारतले तिक्तता तथा अविश्वासको सामना गरिरहेको छ । भारतले सधैँ अमेरिकाको मुख ताकेर बस्नु जोखिमपूर्ण हुनसक्छ भन्ने ठान्दै छ । आफ्नो आत्मनिर्भरता सशक्त बनाउनका लागि उसले अन्य विकल्प हेर्नुपर्ने ठान्दै छ । रुसबाट सुरु गरेर अन्य वैकल्पिक साझेदारहरूसँगको सम्बन्ध बलियो बनाउँदै आफ्नो स्वार्थको रक्षा गर्नु बाहेक भारतले अब अरू कुनै विकल्प देख्दैन ।
पुटिनको नयाँ दिल्ली भ्रमणलाई अमेरिकाले ‘वेक अप कल’ का रूपमा लिनुपर्छ । अब जबरजस्ती र मनोमानीका आधारमा सम्बन्ध चल्दैन । त्यसले मित्रतामा विचलन ल्याउने निश्चित छ । चीनको आक्रामक उदयलाई सन्तुलनमा राख्नका लागि अमेरिकाले भारतसँग लचिलो, दुवैको स्वार्थमा आधारित ‘नरम गठबन्धन’ गरेर अघि बढ्न सक्छ ।
यसरी हेर्दा भारतलाई अमेरिका जति आवश्यक छ त्यो भन्दा बढी अमेरिकालाई भारतको आवश्यकता रहेको छ । भारतलाई आफ्नो आदेश मुताबिक हिँड्न बाध्य पार्नुको सट्टा अमेरिकाले समान साझेदारका रूपमा व्यवहार गरेर सम्बन्धको पुनर्निर्माण गर्नुपर्छ । भारतसँगको सम्बन्ध सुदृढ बनाउन अमेरिकी नीति निर्माताले चाहे जस्तो भारत तयार गरेर सम्भव छैन । उसले भारत अहिले जस्तो छ, त्यसैसँग सम्बन्ध राम्रो बनाउनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण