एमालेको पदाधिकारीमा मधेसबाट को–को छन् आकांक्षी ?
सारांश
- नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र आन्तरिक राजनीति तातेको छ, जसमा नेतृत्व चयनको विषय प्रमुख छ।
- केपी शर्मा ओली तेस्रो कार्यकालका लागि तयारीमा छन्, तर ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्, जसले प्रतिस्पर्धा बढाएको छ।
- मधेसमा ओली पक्ष बलियो देखिए पनि पोखरेल पक्षले पनि नेतृत्व परिवर्तनको आवश्यकता औंल्याइरहेका छन्, र विभिन्न नेताहरू पदाधिकारीका लागि आकांक्षी देखिएका छन्।
जनकपुरधाम । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि ३ दिन बाँकी छ । नयाँ नेतृत्व चयन गर्ने भएकाले पनि महाधिवेशन सम्मुख एमालेको आन्तरिक राजनीति तातेको छ ।
१०औँ महाधिवेशनबाट अध्यक्षमा दोस्रो कार्यकाल सम्हालेका केपी शर्मा ओली तेस्रो कार्यकाल सम्हाल्ने योजनामा छन् । सोही अनुसार उनले विधान संशोधन गराएर दुई कार्यकालको व्यवस्था र उमेरहद सम्बन्धी प्रावधान खारेज गराइसकेका छन् ।
ओलीलाई तेस्रो कार्यकालको जिम्मेवारी पाउन भने सहज देखिएको छैन । कुनै समय उनकै विश्वासपात्र मानिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
पदाधिकारीमा लामो समय बिताएका पोखरेलको पार्टी संगठनमा राम्रै पकड देखिन्छ । मधेसमा पनि एमाले कार्यकर्ता दुई खेमामा विभाजित देखिएका छन् ।
एमालेको ११औँ महाधिवेशनलाई लिएर मधेसमा भित्रभित्रै एमाले नेता–कार्यकर्ता आ–आफ्नो खेमाको पक्षमा माहोल बनाउन सक्रिय हुँदै गएका छन् । तुलनात्मक रूपमा मधेसमा ओली पक्ष नै बलियो देखिए पनि पोखरेल पक्षले पनि नेतृत्व परिवर्तनको आवश्यकता र औचित्यलाई प्रस्ट्याउन भित्रभित्रै गतिविधि गरिरहेको बताइन्छ ।
नेतृत्वमा ओलीलाई नै ल्याउन चाहनेहरूले अनुभव, निरन्तरता र स्थिरताको चर्चा गरिरहेका छन् । पोखरेल पक्षले अनुशासन, संरचनात्मक सुधार र एमालेभित्र रुपान्तरणको सूत्रपात मधेसबाटै हुने दाबी गरिरहेका छन् ।
यसैबिच मधेसबाट पदाधिकारीमा दाबी गर्ने आकांक्षी पनि सलबलाउन थालेका छन् । अन्य प्रदेशको तुलनामा मधेसबाट पदाधिकारीमा दाबी गर्नेको संख्या कम भए पनि १०औँ महाधिवेशनको तुलनामा भने बढी नै आकांक्षी देखिएका छन् ।
मधेसबाट एमाले केन्द्रीय पदाधिकारीमा हाल रघुवीर महासेठमात्रै छन् । उनी १०औँ महाधिवेशनमा सचिव पदमा निर्वाचित भएका थिए ।
११औँ महाधिवेशनमा महासेठ माथिल्लो पदमा जाने दाउमा छन् । उनी उपाध्यक्ष पदका आकांक्षी रहेको उनी निकट स्रोत बताउँछ । महासेठ अहिलेसम्म कुनै खेमामा खुलेका छैनन् ।
त्यस्तै एमालेको मधेस इन्चार्ज लीलानाथ श्रेष्ठ पदाधिकारीमा उक्लिने प्रयासमा छन् । श्रेष्ठ ओली खेमाका हुन् । उनी सचिवका आकांक्षी हुन् । त्यस्तै सप्तरीका सुमन प्याकुरेलसमेत सचिवकै आकांक्षी हुन् । ईश्वर पोखरेल समूहबाट खुलेका पुरुषोत्तम पौडेलले समेत सचिवमा दाबी गर्ने तयारी गरिरहेका छन् ।
पूर्वमन्त्री जुलीकुमारी महतोसमेत पदाधिकारीको आकांक्षी रहेको बताइएको छ । यद्यपि उनले त्यसबारे केही खुलाएकी छैनन् ।
१०औँ महाधिवेशनपछि मधेशबाट एमाले केन्द्रीय समितिमा ४१ जनाले प्रतिनिधित्व गर्दै आएका छन् । हालै भएको विधान संशोधनपछि ११औँ महाधिवेशनबाट केन्द्रीय समितिको आकार घट्ने भएकाले मधेसको प्रतिनिधित्व पनि स्वतः घट्ने एमालेका स्थानीय नेता–कार्यकर्ता बताउँछन् ।
‘साइलेन्ट’ कार्यकर्ता ओलीका लागि चिन्ताको विषय
ओलीलाई मधेसका ‘साइलेन्ट’ (कतै नखुलेका) कार्यकर्ता चिन्ताको विषय बन्ने देखिएको छ । पार्टी श्रोतका अनुसार मधेसमा ३५–४० प्रतिशत नेता–कार्यकर्ता ओली पक्षमा खुलेका छन् । ३०–३५ प्रतिशत नेता कार्यकर्ता पोखरेलको समर्थनमा रहेको दाबी गरिएको छ । बाँकी २०–२५ प्रतिशत कार्यकर्ता कुनै पनि पक्षमा खुलिसकेका छैनन् । दुवै खेमाका लागि यिनै ‘साइलेन्ट’ कार्यकर्ता निर्णायक साबित हुने देखिन्छ । यो समूहले ओली र पोखरेलमध्ये जुन पक्षलाई साथ दिन्छ, मधेसबाट उसकै पक्ष बलियो हुने र प्रदेशमा मजबुत हुने निश्चित छ । मौन बसेका प्रमुख नेतामा केन्द्रीय सचिव रघुवीर महासेठ छन् ।
मधेस सरकारको पछिल्लो विषयमा एमालेको भूमिकालाई लिएर आलोचना भइरहेको छ । पछिल्लो राजनीतिक घटनाक्रमकै कारण मधेसमा ओलीको आलोचना आमजनले गरिरहेका छन् । फागुन २१ गते निर्वाचन हुने भएकाले पनि यी नेता कार्यकर्ता मौन भएर बसेका छन् ।
मधेसबाट अत्यधिक प्रतिनिधित्व होस् भन्ने चाहना छ : पौडेल
मधेसबाट पदाधिकारीको आकांक्षी बढ्नु सुखद् संकेत रहेको एमाले मधेसका सचिव मनोज पौडेलले बताए । उनले यसअघि मधेसबाट केन्द्रीय पदाधिकारीमा एक जनामात्रै अटेकोमा यस पटक पदाधिकारीमा सशक्त रूपमा तीन–चार जनाले दाबी गर्ने देखिएको प्रस्ट पारे ।
यद्यपि मधेसबाट पदाधिकारीमा दाबी गर्नेहरू अधिकांशले सचिव पदमै आकांक्षा राखेकाले त्यसलाई मिलाएर अघि बढ्न जरुरी रहेको पौडेलको भनाइ छ । नेताहरूले आफैँ फलानो पदको आकांक्षी रहेको भन्दै चर्चा चलाए पनि यस विषयमा पार्टीभित्र कुनै छलफल नभएको उनले प्रस्ट पारे ।
प्रदेश सचिव पौडेलले २०७९ मा भएको निर्वाचनमा मधेस प्रदेश सभातर्फ एमाले ठुलो दल बनेको चर्चा गर्दै ११औँ महाधिवेशनलाई मधेसमा अझ पकड बनाउने अवसरको रूपमा पार्टी पंक्तिले लिनुपर्ने बताए । पछिल्लो समय एमालेलाई लिएर भइरहेको टिप्पणीलाई चिर्नका लागि भए पनि मधेसले अत्यधिक संख्यामा पदाधिकारीमा अवसर पाउनुपर्ने उनको तर्क छ ।
पौडेलले कुनै गुटभन्दा पनि सिङ्गो पार्टीको हितलाई ध्यानमा राखेर नेता–कार्यकर्ता अघि बढ्ने विश्वास व्यक्त गरे । उनले महाधिवेशनको निर्वाचन प्रक्रियासम्म पुग्दा आकांक्षीहरू अझ प्रस्ट हुने र समीकरणले एउटा आकार लिइसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण